site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनको पत्र सिंहदरबारमा, मन्त्री पोखरामा : प्रमुख प्रशासकीय अधिकृत तत्काल नपठाइने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तत्काल नपठाउने भएको छ । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता व्यक्तिगत कारणले पोखरा गएको हुँदा प्रमुख प्रशासकीय अधिकृत तत्काल नपठाइने र निमित्तलाई आर्थिक अधिकार पनि नदिइने भएको हो ।

बिहीबार (फागुन २२) मन्त्रालयले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नै निरन्तरता दिन पत्र पठाएको थियो । तर, गुरागाईंलाई हाजिर गराउन नसकिने भन्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले मन्त्रालयलाई ‘काउन्टर’ जवाफ फर्काएका थिए ।

महानगरले काठमाडौं टावर १२ तले बनाउन स्वीकृति दिएको थियो । तर, त्यो १९ तलाको बनाउन सम्झौतापत्रमा हस्ताक्षर गरेको आरोपमा गुरागाईंलाई मेयर बालेनले अघोषित निलम्बन गरे ।

गएको पुस ८ देखि १७ गतेसम्म बिदामा रहेका गुरागाईंको कार्यकक्षमा बालेनको सचिवालयले ताला लगाएको थियो । गुरागाईं बिदामा गएका बेला निमित्त कार्यकारीको जिम्मेवारी शिक्षा विभागका प्रमुख गोविन्दप्रसाद शर्मालाई दिइएको थियो । तर, उक्त जिम्मेवारी सम्हाल्नुभन्दा शर्मा राजीनामा दिँदै बाहिरिए ।

महानगर करिब दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले महानगरले पठाएको पत्र आफूहरूसमक्ष आइपुगेको जानकारी दिए । उनले उक्त पत्रमाथि कुनै छलफल नभएको बताए ।

“महानगरको पत्र पायौँ । अब अर्को पठाउने वा आर्थिक अधिकार दिने भन्नेबारे छलफल भएको छैन । मन्त्रीज्यू व्यक्तिगत कारणले पोखरा जानुभएको छ,” पराजुलीले बाह्रखरीसित भने, “मन्त्रीस्तरीय छलफल गरी निर्णय लिनुपर्ने भएकाले तत्काल केही गर्न सकिँदैन । मन्त्रीज्यू फर्किएपछि मात्रै छलफल हुन्छ ।”

गुरागाईंमाथि छानबिन गर्न पुस १६ गते महानगरका कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । १५ दिनभित्र ठोस सुझाव सिफारिस गर्न भनिएको थियो । तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएका थिए ।

त्यसपछि फेरि नेपाल सरकारका पूर्वसचिव एवं मेयर बालेनका सल्लाहकार शंकर पाण्डेको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो । उक्त समितिलाई एक महिनाको समयावधि तोकिएको थियो । एक महिनाको म्याद सकिएपछि पुनः १० दिन थप गरिएको थियो । त्यो समय पनि सकिएपछि मेयर बालेनले फेरि अवधि थपेनन् ।

गुरागाईंमाथिको छानबिन समिति बिनानिष्कर्ष खारेज हुँदा प्रमुख कार्यकारी अधिकृतको मुद्दा गिजोलिएको छ । गुरागाईंलाई मेयर बालेनले स्वीकार नगर्दा महानगर समस्यामा परेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro