
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफू फेल नभएको जिकिर गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै केही विषयमा आफू हौसिएको सुनाए ।
“म जिम्मेवारीमा आइसकेपछि एउटा दुईटा विषयमा हौसिएछु । म फेल भएको होइन, हौसिएको चाहिँ रहेछु,” उनले भने ।
उनले स्मार्ट लाइसेन्स कार्ड छाप्ने विषयमा विवाद समाधान गर्न समय लागेको बताए । “स्मार्ट लाइसेन्स नौ लाख बाँड्ने भनेको रहेछु । तर, एक लाख ६९ हजार ४३९ मात्रै छापेर वितरण गर्न सकिएछ । त्यसमा अलिकति हौसिएछ,” उनले भने ।
दुई महिनासम्म त मेसिन नै नचलेको उनको भनाइ छ । “मेसिनरी चिज हो, दुई महिनासम्म त चल्दै चलेन । त्यसको अनेक लफडा रहेछन् । ती लफडा सटआउट गर्दागर्दै त्यतिमात्रै छाप्न सकिएछ,” उनी भन्छन् ।
ग्वार्को फ्लाई ओभरमा पनि हौसिएको मन्त्री दाहालको भनाइ छ । “ग्वार्को फ्लाई ओभरमा अलिक हौसिएछ । ईपीसी मोडलमा बनाउन थालेका रहेछौँ । पुसमै सम्पन्न गर्ने भनिएकामा प्राविधिक कुरा आयो,” उनले भने ।
मन्त्री दाहालले राजमार्गहरूमा अपेक्षित सफलता हासिल गरिएको बताए । सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रू गरिएको, माघ १७ सम्ममा ३७ पुल बनाउने भनिएकामा ४१ बनाइएको भन्दै उनले थप प्रगति विवरण पनि सुनाए ।