
बैतडी । भरुवा बन्दुक र जंगली जनावरको छालासहित बैतडीबाट एकजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–८, चौरथली कालागाउँका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जंगली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, त्यसमा लाग्ने सिसाका सात राउन्ड गोली, दुई/दुईथान घोरल र रतुवाको छालासहित विष्टलाई पक्राउ गरेको उनले जानकारी दिए ।
मंगलबार (फागुन २०) दिउँसो विष्टको घरमा खानतलासी गर्दा भरुवा बन्दुक र जंगली जनावरको छाला फेला परेपछि उनलाई पक्राउ गरिएको बडूले बताए ।
विष्टले इजाजतबिना घरमा बन्दुक राखेको पाइएपछि थप अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय पाटनमा राखिएको उनले जानकारी दिए । रासस