
क्यानबेरा । पहाड र हरियालीले घेरिएको सुनसान राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठूलै चहलपहल थियो । साँझ पर्नैलाग्दा नेसनल कन्भेन्सन सेन्टरको ‘रोयल थिएटर’ वरपर नेपालीको जमात देखिन सुरु भयो । केही वर्ष अघिसम्म पनि यहाँ नेपालीको बसोबास नगण्य थियो । दुई वर्षअघि यसै सहरस्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीको हलमा पहिलोपटक आफूलाई प्रस्तुत गरेको नेपथ्य ब्यान्डले यसपाला त्योभन्दा ठूलो र व्यवस्थित स्थल रोजेको थियो ।
हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा लामो समयसम्म सेवा गरेकी लिन्डा साठीकै दशकदेखि यस मुलुकमा आयोजना हुने विश्व प्रसिद्ध ब्यान्डहरूको कन्सर्ट हेर्दै हुर्किएकी हुन्।
"१७ वर्षअघि पहिलोपटक सिड्नीमा मैले नेपथ्यको कन्सर्ट हेरेकी थिएँ, त्यसयता अस्ट्रेलियामा आयोजित नेपथ्यका पाँचवटा कन्सर्ट हेरिसकेकी छु र यो छैटौं हो," साथमा अर्की अस्ट्रेलियन साथी लिएर आएकी लिन्डा भनिरहेकी थिइन्, "एक हिसाबले नेपथ्य स्वादको बानी परिसकेको छ ।"
ब्यान्डको भने यो सातौँ अस्ट्रेलिया यात्रा हो ।
निर्धारित समयमै बेलुकीको ठीक ८ बजे कन्सर्ट सुरु भयो । हलभित्र दर्शकको उत्साह र व्यापक हल्ला फैलिएको देखेपछि अर्की अस्ट्रेलियन महिलाले आफूलाई कुर्सीमा थामेर राख्न सकिनन् ।
सरासर उठिन् र नाच्न तम्तयार दर्शकको भिडमै आफूलाई समाहित गरिन्। उनी थिइन् भर्खरै मात्र नेपालस्थित अस्ट्रेलियाली राजदूतको पदावधि सकेर फर्किएकी फेलिसिटी भोल्क ।
"यो मेरो पहिलो नेपथ्य अनुभव हो," फेलिसिटीले भनिन्, "सन् २०२१ को तिहारको कुनै दिन मैले बौद्धमा अर्कैको स्वरबाट रेशम गीत सुनेकी थिएँ । त्यसै बेलादेखि अत्यन्तै मन पराउने गरेको यस ब्यान्डलाई प्रत्यक्ष सुन्ने लामो समयदेखिको इच्छा आज पुरा हुँदै छ ।"
कन्सर्टको सुरुवात ‘कोशीको पानी’ बाट गरिएको थियो । त्यसपछि क्रमशः ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’ प्रस्तुत भए । ‘आँगनैभरि’ गाउने बेला गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेको यो गीत अहिले सुनाउन पाउँदा बेग्लै आनन्द मिल्ने गरेको उल्लेख गरे ।
त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’ ले निरन्तरता पाए ।
गीत गाउने क्रममा अमृतले अस्ट्रेलियामा नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुसी र अर्को मनले दुःखी पनि महसुस भइरहेको उल्लेख गरे ।
"तपाईंहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनु भएको देख्दा असाध्यै खुसी छु," उनी भनिरहेका थिए, "तर यत्तिका ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता(कता नरमाइलो पनि भइरहेको छ ।"
अमृतले सम्पूर्ण नेपालीलाई आफू असल मानिसको देशबाट आएको पहिचान स्थापित गर्न अनुरोध गरे र यहाँ बसुन्जेल अस्ट्रेलियालाई पनि थप समुन्नत बनाउन आह्वान गरे ।
नेपाली भाषालाई भावी पुस्तासम्म विस्तार गर्न र नेपालमा रहेका आफन्तसँग बारम्बार भेट्न गई उताको सम्पर्कलाई पनि जीवित राख्न उनले थप अनुरोध गरे ।
‘तपाईंहरूलाई अब रुकुमतिर लैजान्छु’ भन्दै उनले ‘शिरफूल’ गीत सुनाए । त्यसपछि उनले पुरानो खाताबाट अर्को नेपथ्य गीत निकाले– ‘बिन्ती छ मेरो ए मेरी मायालु, एउटा चिठी कोरी पठाइदेऊ’।
युवक तथा युवतीको असंख्य जोडीले भरिएको हलमा अमृतले त्यस गीतबारे विस्तारमा बोल्न चाहे ।
"गर्लफ्रेन्ड त हाम्रो समयमा पनि हुन्थे तर इमेल थिएन," उनले थपे, "तपाईंहरू नजन्मँदै हामीले भोगेको प्रेमको युगमा यसरी चिठी लेखेर मनको कुरा बताउनुपर्थ्यो ।"
भावनाको शृंखलालाई अझ मजबुत बनाउँदै उनले नेपथ्यको पछिल्लो सिर्जना पनि पस्किए–
‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि।।।’
‘यो जिन्दगानी’ सुनाएपछि ‘गाउँ–गाउँबाट उठ’ सँगै कन्सर्टको माहोल अझ तातियो ।
नेपाली दर्शक भने सदाझैँ हलबाट बाहिरिँदा पनि झन्डा हल्लाउँदै र नेपथ्यका गीत गाउँदै निस्किरहेका देखिन्थे ।
कार्यक्रम सम्पन्न भएपछि क्यानबेराका स्थानीय आयोजक प्रदीप पाठकले सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।