
कफिनमा विदेशबाट आउने सुन लुकाउन पात्रले गर्ने संघर्ष नै चलचित्र ‘लाज शरणम्’को मुख्य कथा हो । सुन तस्करीमा संलग्न मुख्य पात्र र उसका सहयोगीको उतारचढाव र संघर्षको कथालाई ‘लाज शरणम्’ले देखाउँछ ।
सुन आउनुपर्ने कफिनमा कसरी शव आइपुग्यो र सुन रहेको कफिन कहाँ पुग्यो ? यसकै वरिपरि यो सिनेमाको कथा घुम्छ ।
१४४ मिनेट लामो चलचित्रको यो कथा नयाँ होइन । पुरानै कथा हो । सुन तस्करी र त्यसलाई लुकाउन गरिएको संघर्षमा नेपालमै चलचित्र बनिसकेका छन् ।
पुरानै कथा र पुरानै आइडियामा चलचित्र निर्माण भएको छ । त्यसैले कथा र सिनेमालाई रोमाञ्चक बनाउन आइडिया र सस्पेन्स पनि लोभलाग्दो छैन, जसले दर्शकलाई लोभ्याओस् ।
कर्णालीका जनतालाई विकास र समृद्धिको आश्वासन दिएर पटक–पटक मन्त्री हुने राजनीतिज्ञको कथा नेपाली सिनेमाका लागि नौलो होइन । कर्णालीको गरिबी बेचेर टाठाबाठाले फाइदा लिने कथा पनि नेपाली दर्शकका लागि नौलो होइन । पुरानै हो ।
चलचित्रमा केही कलाकारले गजब मिहिनेत गरेका छन् । चरित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ले (सोनालाल)को भूमिका निर्वाह गरेका छन् । मोटो शरीरमा देखिएका उनले चरित्र निर्माणमा मिहिनेत गरेको देखिन्छ ।
विजय बरालको चरित्र पनि लोभलाग्दो छ । थोरै बोल्ने तर अनुहारबाटै धेरै कुरा भन्ने अर्पण थापा (गज्जु दादा)को अभिनय पनि गजब छ । यो सिनेमाका असली हिरो हुन्, सन्देश (महेश त्रिपाठी) । अभिनयका हिसाबले यो चलचित्रको हिरो महेश हुन् । चलचित्रको दोस्रो हाफ पूरै उनैले बोक्छन् । अभिनयका पारखीका लागि उनको अभिनय मात्रै हेर्न भए पनि ‘लाज शरणम्’ हेर्दा हुने चलचित्र हो ।
चरित्र निर्माण र डाइलगमा सितारामले पनि ठूलो मिहिनेत गरेको पर्दामा देखिन्छ । तर, उनी निकै ‘लाउड’ छन् । उनको ‘ओभर एक्ट’ले निर्देशक नै चलचित्रमा हराउँछन् । निर्देशकले सोनालालाई नरोक्दा उनले आफ्नो क्षमता देखाउन सकेका छैनन् ।
जब दोस्रो हाफमा ‘टाइम एन्ड स्पेस’ सन्देशले लिन्छन्, तब निर्देशक देखिन्छन् । सन्देशले कर्णालीको एक गरिब केटोमा आफूलाई सहजै ढाल्दा उनको तारिफयोग्य अभिनयले मन छुन्छ । आफूलाई ‘ओभर एक्ट’ गर्न सकेको भए अथवा निर्देशकले आफूलाई चाहिएको कति हो भनेर प्रस्ट भनिदिएको भए सोनालालको पात्र पनि लोभलाग्दो हुने निश्चित थियो ।
छोरो गुमाउने पात्रको भतिजको भूमिकामा रहेका विजय बरालको अभिनय राम्रो छ । तर, उनी बेलाबेला क्यारेक्टरमा बस्दैनन् ।
केही समयपछि यसको रहस्य उनी आफैँ खोल्छन्, उनी पूर्वी नेपाल सुनसरीका हुन् । तर, कसरी उनी कर्णालीका व्यक्तिको भतिज भए ? सिनेमा सकिँदा पनि खुल्दैन । सिक्वेल बनाउने भन्दै कथा छोड्दा सिनेमा खल्लो बनेको छ । कतिपय कुरा खुल्दैनन् ।
चलचित्रमा केमियोमा देखिन्छन्, दयाहाङ राई । उनको भूमिका सशक्त छैन । उनी नभएको भए पनि सिनेमालाई केही फरक पर्दैन थियो । न व्यापारिक रूपमा उनलाई राख्दा निर्माणपक्षले फाइदा लिन सक्यो न त उनी नहुँदा चलचित्र फिलतो नै हुन्थ्यो । दयाहाङ आफ्नो सिनेमामा रहेको भनेर पनि निर्माणपक्षले प्रचार गर्न सकेन । निर्माणपक्ष धेरै कुरा लुकाउन नै उद्यत रह्यो । त्यसमध्ये दयाहाङको केमियो पनि एक हो ।
चलचित्रमा ब्याकग्राउन्ड स्कोर अर्को कमजोर पक्ष हो । कथा भन्न ब्याकग्राउन्ड स्कोरले सहयोग गर्दैन । बरु, ठाउँठाउँमा ब्याकग्राउन्ड स्कोर यति कर्कस छ, यसले कथा र अडिटोरियमका दर्शकलाई दिक्दार बनाउँछ ।
यसमा काठमाडौंदेखि कर्णालीसम्मको कथा छ । सिनेमाको कलर टोन के हो ? निर्देशक प्रस्ट छैनन् । निर्देशक नै प्रस्ट नभए पछि पर्दामा देखिने कुरै भएन । कलरटोनमा खेल्ने ठाउँ रहे पनि निर्देशकले यसलाई आवश्यक ठानेको देखिँदैन ।
सिनेमेटोग्राफरले आफ्नो कला प्रस्तुत गर्न सकेका छैनन् । सिनेमेटोग्राफीमा काम गर्ने ठाउँ प्रशस्त हुँदाहुँदै सुदीप बरालले काम देखाउन सकेका छैनन् । कर्णालीका केही सुन्दर दृश्य खिचे पनि उनी कलात्मकता देखाउन चुकेका छन् । विम्बका रूपमा कर्णालीका थुप्रै कुरालाई राख्न सकिन्थ्यो, तर छैन ।
सांगीतिक पक्षमा पनि कर्णालीको आफ्नै पनमा खेल्ने ठाउँ थियो । त्यहाँको पन गीतमा जति छ, त्योभन्दा धेरै प्रयोग गर्न सकिन्थ्यो । तर, लेखक तथा निर्देशक म काठमाडौंको कथा भन्दै छु कि कर्णालीको भन्नेमा दोधारमा छन् । त्यसको प्रभाव संगीत छनोट र प्रयोगमा पनि देखिन्छ ।
यही ‘कन्फ्युजन’ निर्देशक कुमार कट्टेललाई कलाकार छनोट र ‘टाइम एन्ड स्पेस’ खर्चने सन्दर्भमा पनि छ । महेश र सितारामध्ये को ‘लाज शरणम्’का हिरो हुन् भन्ने प्रस्ट छैन ।
चलचित्र निर्देशकीय माध्यम हो । निर्देशक म आफ्नो चलचित्रमा के भन्दै छु र कसरी भन्दै छु भन्नेमा प्रस्ट हुनुपर्छ । प्रत्येक सटमा निर्देशक देखिनुपर्छ । तर, ‘लाज शरणम्’मा निर्देशक कुमार कट्टेल प्रायः हराउँछन् । उनले आफूले चाहेजति काम लिन सकेको महेशबाट मात्र हो । अन्यत्र उनी हराउँछन् ।
‘लाज शरणम्’मा निर्माता नवीन श्रेष्ठले भने छाती फराकिलो पारेर निर्देशकलाई चलचित्र बनाउन बजेट दिएको देखिन्छ । एकाध सिनका लागि मात्रै उनी आफ्नो टिमलाई कर्णाली पुर्याउँछन् । हिमाल र खर्क खिच्न माथिल्लो कर्णाली पुग्छन् । कथालाई विश्वसनीय बनाउन निर्देशक र प्रोडक्सनले मागेको हेलिकोप्टर पटक–पटक उडाउन लोभ गर्दैनन् ।
तर, चलचित्र पैसा खर्च गर्दैमा राम्रो बन्दैन । चलचित्र राम्रो बनाउन कथा र प्रस्तुति अब्बल चाहिन्छ, जसमा ‘लाज शरणम्’ निकै फितलो छ ।
यद्यपि, ‘लाज शरणम्’ महेश त्रिपाठी’को अभिनयका लागि भने हेर्नैपर्ने चलचित्र हो ।
० ० ०
चलचित्र : लाज शरणम्
निर्देशक : कुमार कट्टेल
कलाकार : सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, सागर लम्साल आदि ।
जानरा : सोसल ड्रामा
निर्माता : नवीन श्रेष्ठ
ब्यानर : जेपीटी क्रिएसन
भाषा : नेपाली
रन टाइम : १४४ मिनेट