
विराटनगर । मोरङमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विभाजित भएको छ । नेविसंघमा संस्थापन र शेखर कोइराला पक्षधर औपचारिकरूपमै विभाजित भएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखैमा एकआपसमा कुटपिटमा उत्रिएपछि संस्थापन पक्षले अर्को जिल्ला अध्यक्ष चयन गरेको छ । स्ववियु निर्वाचनअन्तर्गत सोमबार विभिन्न कलेज तथा क्याम्पसहरूमा संगठन दर्ता गराउने कार्यतालिका छ । आंगिक क्याम्पसहरूमा केन्द्रीय तहबाट नै संगठन दर्ता हुन्छ । तर, पब्लिक कलेजहरूमा सम्बन्धित संगठनको इकाइले संगठन दर्ता गर्ने प्रावधान छ ।
कोइराला पक्षबाट यसअघि अध्यक्षको जिम्मेवारीमा रहेका सरोज पोखरेललाई केही दिनअघि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियु सभापति जसवन्त पौडेलसहितले कुटपिट गरेका थिए । कुटपिटका क्रममा 'तरवार' र 'बन्चरो' नै प्रयोग भएको भन्दै कोइराला समूहले घटनामा संलग्न संस्थापन पक्षीय विद्यार्थी नेतालाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिन गएको थियो । तर, प्रहरी कार्यालयमा अवाञ्छित गतिविधि र नाराबाजी गरेको भन्दै कोइराला पक्षका नेविसंघ जिल्ला सचिव गुड्डु साह, विद्यार्थी सञ्जोग गौतम र सविन दाहाललाई पक्राउ गर्यो ।
त्यस घटनाको विरोध गर्दै संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझीले विज्ञप्तिमार्फत माग गरे । उनले महेन्द्र मोरङ क्याम्पसको घटना अवनञ्छित भएको टिप्पणी गर्दै घटनामा संलग्नलाई पक्राउ गर्न चासो नदिइएको बताएका छन् ।
नेविसंघको विवाद उत्कर्षमा पुगेपछि संस्थापन पक्षले ‘काउन्टर’ दिँदै आफ्नै नेतृत्वको जिल्ला सभापति चयन गरेको घोषणा गरेको छ । सभापति शेरबहादुर देउवा पक्षका १२ जना केन्द्रीय सदस्यहरूले संयुक्तरूपमा नेविसंघ मोरङको अध्यक्षमा मोहमद तनवीरलाई चयन गरेको चिठी केन्द्रलाई पठाएका छन् ।
नेपाल विद्यार्थी संघको विधान, २०२७ बमोजिम अध्यक्ष चयन गरेको संस्थापन पक्षको दाबी छ । केन्द्रीय सदस्यहरू अंकित भट्टराई, सुविन पराजुली, विकास भण्डारी, दिपेन रौनियार, अभिषेक भट्टराई, रोशन पराजुली, लक्ष्मीनारायण अधिकारी (सरोज), प्रमिला ढकाल (एरिका), सुमन ढकाल, दिवाकर यादव, विवेक लिम्बू र प्रज्वल पौडेलले तनवीरलाई अध्यक्ष चयन गरेका हुन् ।
केन्द्रीय सदस्य ढकालले अब आफूहरूले घोषणा गरेको नयाँ अध्यक्षले नै निर्वाचनमा खटिएर त्यससम्बन्धी काम अघि बढाउने बताइन् । “महेन्द्र मोरङ क्याम्पसको स्ववियु नेतृत्व र इकाइ हाम्रो भएकाले उहाँहरूले नै सबै प्रक्रिया पूरा गर्नुहुनेछ । हामी निर्वाचनको तयारीमा लागेका छौँ,” उनले भनिन् ।
महेन्द्र मोरङ क्याम्पसको स्ववियु नेतृत्व नेविसंघकै भए पनि कुनै सल्लाह नगरेर ढंगले मोरङ जिल्ला अध्यक्ष पुगेर इकाइ कमिटी गठन गर्ने प्रयास भएपछि कुटपिटको अवस्था सिर्जना भएको स्ववियु सभापति जसवन्त पौडेलले बता । “साढे दुई वर्षदेखि सबै कुरा मिल्छ होला भनेर हामी पर्खिएर बसेका थियौँ । तर भएन,” उनले भने ।
क्याम्पसमा भएको घटनामा कोइराला पक्षका तीनजना घाइते भएका थिए । घाइते पोखरेल नोबेल मेडिकल कलेजमा उपचाररत छन् । व्यक्तिहरूले समूह बनाएर अध्यक्ष घोषणा गरेको विषय आधिकारिक नहुने बताउँदै पोखरेलले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता गराउने विषयमा कुनै छलफल नभएको सुनाए ।
उनले भने, “अन्य संगठनसँग कार्यगत एकता गर्ने वा नेविसंघकै पनि अलग अलग प्यानलको बनाएर मनोनयन दर्ता गराउने भन्ने विषयमा अहिल्यै छलफल भएको छैन । निर्वाचन नहुन पनि सक्छ ।”
आफूमाथि भएको ज्यादती र प्रशासनले न्याय नदिएको विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने पोखरेलले बताए ।
महेन्द्र मोरङ क्याम्पस नेविसंघ इकाई सभापति प्रशान्त यादव हुन् ।
संस्थापन विद्यार्थीलाई कोइराला समूहका नेताको संरक्षण !
महेन्द्र मोरङ क्याम्पसको घटनामा संलग्न भएको भनिएको कांग्रेसको संस्थापन पक्षका विद्यार्थीलाई कोइराला पक्षकै नेताले संरक्षण र उक्साहट गरेको कांग्रेसका एकजना नेताले बताए । मोरङकै एउटा पालिकाको प्रमुखको जिम्मेवारीमा रहेका नेताले आफ्नो समूहविपरीतका विद्यार्थीलाई उक्साउने काम गरेको ती नेताको दाबी छ ।
“उहाँ कोइराला समूहबाटै टिकट पाएर पालिका प्रमुखमा निर्वाचित हुनुभएको हो,” ती नेताले भने, “तर, अहिले भने फरक समूहका विद्यार्थीलाई आफूले संरक्षण गर्ने भन्दै हिँड्नुभएको छ । उहाँ नै कुन समूहको हो भन्ने बुझ्न सकिएको छैन ।”