site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ए मुक्कुमलुङ, माःङ्घा लाम्नुसाङ सेवारो
Tiktok banner adTiktok banner ad

मेरो घरको पिँढीबाट
हरबिहान आँखा खोल्नेबित्तिकै
देखिन्छ स्निग्ध श्वेत सुवर्णको
रोमाञ्चक कलेवरमा कुम्भकर्ण
र, देखिन्छिन् उसको काखैमा
आस्थाकी थुम्को पाथीभरा
ए पाथीभरा, टाढैबाट नमस्कार !
ए मुक्कुमलुङ, माःङ्घा लाम्नुसाङ सेवारो !

आमाले आँगनमा छरिराखेको चारो टिपेर
युगल परेवाका जोडी, केही भँगेरा र तामे ढुकुरहरू
उतैतिर उडी जान्छन्
सायद मेरानिम्ति आमाले सँगालिराखेका
भाकल, मनोकांक्षा र आस्थाहरू लिएर जान्छन्
र, चढाउँछन् देवीका थानमा ।

रवि किरणको सुनौलो स्पर्शले सुशोभित
कञ्चनजंघाको जलराशिले भरिएर
झर्दछे तमोर सालघारीमा
र, सुसेल्दै सल्लाघारीमा
मलाई उठाउन आइपुग्छे बिछ्यौनामा
उसकै प्रेरणाले उठेर
म कुर्छु पँधेराबाट पानी लिएर फर्केकी मेरी आमाको बाटो
आमासँगै घर आइपुग्छ
धारामा फुलेको धोक्रेफूलको सुगन्ध
हिमाल चुमेर झरेका रवि आभाहरू
उभो कुम्मायक कुस्सायक सिद्धथान देवीथान दर्शन गरी
वरदान लिएर मेरो आँगन पिँढीमा आइपुग्छन्
तब सुरु हुन्छ कोठेबारीमा फुलेका आरुबखडाका फूलहरूमा
माहुरी र भमराहरूको गुञ्जन
त्यही लयमा त्यही तालमा
बज्छन् मझेरी लिप्ता मेरी दिदीका हातमा चुरा
यस्तै अनेकौ मधुर धुन टिपेर
ए पाथीभरा, टाढैबाट नमस्कार !
ए मुक्कुमलुङ, माःङ्घा लाम्नुसाङ सेवारो !

जहाँ गाईतिहारेको पात र धएँराको फूल झरेर
ढुंगामा बन्छ देउराली
त्यहीँको ढुंगा हुँ म
तिम्रै जीवनदायी प्रेरणाले
यहाँसम्म हुत्याई ल्यायो
ए पाथीभरा, टाढैबाट नमस्कार !
ए मुक्कुमलुङ, माःङ्घा लाम्नुसाङ सेवारो !

तिम्रा यादहरू उस्तै छन्
जस्तै लेकबाट झरेको रानीचौताराको चिसो पानी
कर्कलेको उकालो काट्दा व्याकुल यात्रीले
अँजुलीभर पिएर तिर्खा मेट्छ

रातको अन्तिम प्रहर
परेवाको घुरघुरसँगै
जाँतोको घडघड चिर्दै गाउँछिन् सँगिनी स्लोक आमा
र, गर्छन् दाजुभाइ खलबल
बुबाको बुई चढेर घरबाहिर निस्कँदा
हरदिन पाउँछु तिमै दर्शन
ती दिन सम्झँदै
ए पाथीभरा, टाढैबाट नमस्कार !
ए मुक्कुमलुङ, माःङ्घा लाम्नुसाङ सेवारो !

उडी आउँछन् गौँथलीका एक जोडी
गर्छन् परिश्रम
लगाउँछन् दलिनमा गुँड
गाँस्छन् मायाप्रीति
हुर्काई लान्छन् बचेरा दूर देश
र, लान्छन् चुँडेर कलेजीको एक टुक्रा
छोडेर नीरव शून्यता र रित्तो गुँड 
आउँदो नयाँ वसन्तसम्म
उसैगरी छोडेर आएँ
तिम्रो आशीर्वाद/वरदानको छायाक्षेत्र
र, छन् मसँग
निराशमा फोएर रुन मिल्ने अनगिन्ती सम्झनाहरू
ए पाथीभरा, टाढैबाट नमस्कार !
ए मुक्कुमलुङ, माःङ्घा लाम्नुसाङ सेवारो !

(ललितपुर)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro