site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अपूर्ण साधना

के लेखूँ, सधैँ बिलखबन्दमा छु 
कलम लेख्दा मसी छुट्छ
मसी लेख्दा रङ 
रङ लेख्दा इन्द्रेणी छुट्छ 
इन्द्रेणी लेख्दा घाम 
घाम लेख्दा पानी छुट्छ 
कम से कम जीवनमा पानी त पूर्ण लेख्छु भन्यो 
अनि हिमनदीको लम्बाइ नाप्यो 
झरनाको वेग, सागरको गहिराइ नाप्यो
फूलको शीतलाई आँसुले टिप्यो 
सबथोक असम्भव 
सबै मेरो वशभन्दा बाहिर 
बगेर जाने धोका

पानी लेख्दालेख्दै प्यास बढ्यो  
अनि प्यास लेख्न बस्यो 
सागरबीच बाफिलो मृगतृष्णा आउँछ 
पानी बाफिँदै बादल बन्यो, सबथोक आँखाकै अगाडि 
बादलभित्र पसेर बादल लेख्यो 
बिजुली छुट्छ 
मेघको गर्जन, अनि प्रकाश छुट्छ 
उज्यालो लेख्दालेख्दै 
घनघोर अँध्यारो हुन्छ, त्रिभुवनभरि

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म सागरमै रहेछु 
सागरभित्रको अँध्यारो गीत लेख्यो 
अँधेरोका यावत् जीवहरू छुट्छन्
अँध्यारोमा बाँच्नेहरूका लागि 
अँध्यारो नै संसार 
उजेलो त महामृत्यु  
सुख लेख्दा दुःख छुट्छ, फूल लेख्दा काँडा छुट्छ 
फर्किएर उज्यालो नै लेख्छु  
झन् पूरा सृष्टि नै छुट्छ
जीवनमा धेरै कुरा छुट्दै गयो
सृष्टिसँगै आकाश 
आकाशसँगै जूनतारा 
अनि आकाशगंगा छुट्यो 
धर्ती छुट्यो, माटो छुट्यो, म छुटेँ

मलाई त छुट्ट्याउँदिनँ भन्यो 
के गर्नु, ‘म’ लेख्दा बा छुट्नुभो 
बाको कथा लेख्दा आमा छुट्नुभो 
आमा छुट्दा पीडा भो अग्नि समाधिमा बसेझैँ 
हत्तपत्त 
आमाको संसार लेखेँ, प्रकृति छुट्यो 
प्रकृतिसँगै सत्त्व, रज, तम सारा छुटे 
युद्धदेखि शान्तिसम्म 
ज्ञानदेखि अज्ञानसम्म 
पूरा जीवन लेख्दा पनि शून्य 
अपुरो, अधुरो अपूर्ण  
आखिरमा प्राण छुट्यो, कलम रोकियो 
आभास भयो 
शब्दमा 
एउटा कृष्ण छुट्दा ब्रह्माण्ड छुट्ने रहेछ 
एउटा कृष्ण लेख्दा ब्रह्माण्ड अट्ने रहेछ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०५:३९
प्रतिक्रिया दिनुहोस्