
काठमाडौ । पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा नयाँपन र सिर्जनाले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा यस क्षेत्रका जानकारहरूले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरेको ‘चेन्जिङ ट्रेन्ड्स : रि–थिंकिङ नेपाल्स टुरिजम’ विषयक कार्यक्रमका वक्ताहरूले पर्यटन क्षेत्रमा सिर्जनात्मकता र नयाँपन जोड्न सके पर्यटन फस्टाउने धारणा राखेका हुन् ।
कार्यक्रममा विश्वप्रसिद्ध हङकङ पोलिटेक्निकल विश्वविद्यालयका प्राध्यापक काये चोन प्रमुख वक्ताका रूपमा थिए । उनले सन् १९५० देखि आगामी सन् २०३० सम्मको अवस्थामा केन्द्रित भएर आफ्नो प्रस्तुतीकरणलाई चित्रण गरे । सन् १९५० देखि विश्वमा पर्यटनको शैली बढ्न थालेको मानिन्छ ।
विश्व पर्यटनको रूपान्तरण केन्द्र युरोपबाट भएको स्मरण गर्दै उनले संसारभर पर्यटनको शैलीको सुरुआत अन्तरदेशीय यात्राबाट हुन थालेको उल्लेख गरे । विश्वमा एसिया प्यासिफिक पर्यटन शैली तीव्र विकास भएको तथ्यांकले देखाएको उनको प्रस्तुतीकरणमा उल्लेख छ ।
होटेल पर्यटनको महत्त्वपूर्ण अंग मानिन्छ । विश्वभरको होटेल निर्माणमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी ४८ प्रतिशत देखिएको छ । पर्यटकीय सेवाका लागि स्थापना भएका यस्ता होटेलको विकासमा अमेरिका एक्लैले विश्वको १६ प्रतिशत हिस्सा ओगटेको तथ्यांकमा उल्लेख छ ।
पर्यटन विकासमा एसिया क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको पनि उनको भनाइ छ । विश्वमा पर्यटन विकासमा होटेलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामै रहेका छन् । उनले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एन्ड युनिक’ भएको तर्क पेस गरे ।
पर्यटन विकासको क्रममा‘एसियननेस’ पर्यटनको विकास विश्वमै फरक देखिएको उल्लेख गर्दै उनले नयाँ सिर्जना गर्न सकिएको अवस्थामा पर्यटन क्षेत्रलाई थप आकर्षक बनाउन सकिने तर्क पेस गरे । उनले पर्यटनमा नयाँपन तथा नयाँ बाटो आवश्यक रहेको भन्दै जहाँ यो अवलम्बन हुन्छ त्यहीँको पर्यटन विकासले गति लिने बताए ।
विश्वमा अहिलेसम्म निलो समुद्र नै धेरै चल्ने पर्यटनको गन्तव्यको रूपमा विश्वभर परिचित भइरहेको छ । यसलाई नयाँपन र सिर्जना दिन सकिएको अवस्थामा मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने पनि चोनले उल्लेख गरे ।
पर्यटनको विकासमा उत्कृष्ट संस्कृतिको विकास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसका लागि पर्यटन व्यापारलाई हाँक्न ग्राहक तथा कर्मचारीको सन्तुष्टि, उत्कृष्ट सेवा र आतिथ्य नै भएको बुझाइ उनको छ ।
आतिथ्य क्षेत्रको पछिल्लो चुनौती मानव संसाधनको अभाव भएको पनि उनले उल्लेख गरे । उनले वर्क लाइफको सन्तुलन मिलाउनु महत्त्वपूर्ण भएको बताए । परिवारले करियर विकासमा महत्त्व दिनु, आत्मचाहना, सामाजिक सञ्जाल र यसको प्रयोग, सक्षम नेतृत्वको निर्देशनसहितले पनि पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
उनले सन् २०२४ को एक सर्वेक्षणले एक सयजनामध्ये ५९ प्रतिशतले काम छोड्ने र ४१ प्रतिशत जनशक्तिले मात्रै होटेल तथा आतिथ्य क्षेत्रमा क्रियाशील भएको तथ्य प्रस्तुत गरेका छन् ।
भोलिको भविष्य आज नै देखिन सकिने भएकोले अबको आवश्यकता डिजिटल ट्रान्स्फरमेसन हो । यसका लागि प्रविधिलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने चुनौती बढेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा चोनको अनुभव उल्लेख्य भएको बताए । कार्यक्रममा सेजनका अध्यक्ष सुजन ओलीले आगन्तुकलाई स्वागत गरेका थिए ।