site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा वायु प्रदूषण किन उच्च भइरहेको छ ? 
फाइल तस्बिर ।

काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत केही सातायता वायु प्रदूषण उच्च छ । पोखरा हाल देशकै सर्वाधिक प्रदूषित सहर बनेको वातावरण विभागले जनाएको छ ।

गएको आइतबारयता त्यहाँको वायुको गुणस्तर खतराको तहमा छ । बिहीबार (फागुन १५) मध्याह्न १२ बजेको तथ्यांकानुसार पोखरामा पछिल्लो २४ घण्टाको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४७८ पुगेको थियो ।

त्यस अवधिमा त्यहाँ पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा ४४६.३ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको तथ्यांक छ  । उक्त अवधिमा पोखराको वायुमा टोटल सस्पेन्डेड पर्टिकुलेट (टीएसपी)को मात्रा १०९०.३३ माइक्रोग्राम प्रतिघनमिटर थियो ।

विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार, टीएसपी उच्च हुनु भनेको वायुमा स्थानीय प्रदूषणका कणको मात्रा बढ्नु हो । “तुलनात्मक रूपमा पोखरा अहिले देशभरमै उच्च प्रदूषित भएको छ, टीएसपी हाई भएको छ,” उनले बाह्रखरीसित भने, “त्यो भनेको स्थानीय स्रोतहरूकै कारण वायु खराब भएको देखिन्छ ।”

विभागको स्टेसन रहेको लामाचौर आसपास क्षेत्रमा उद्योगजन्य प्रदूषण छैन । तर, पृथ्वी राजमार्ग स्तरोन्नतिको काम जारी छ । सोही कारण पोखरा क्षेत्रमा पछिल्ला दिनमा वायु प्रदूषण बढेको र भिजिबिलिटी समेत न्यून छ ।

बिहीबार काठमाडौंको शंखपार्कसहित धनगढी र धुलिखेल सहर ‘अस्वस्थकर’ छन् । ती स्थानको एक्यूआई १५१ देखि १६८ सम्म रहेको विभागको तथ्यांक  छ ।

यीबाहेक अरू सहरको एक्यूआई १५० भन्दा तल छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro