site stats
बाह्रखरी :: Baahrakhari
देश
विचारहरूको मन्थन गर्न विराटनगरमा कोसी उत्सव

विराटनगर । कोसी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै, कोसी विचार उत्सवको तयारी पूरा भएको छ । 

वीणा फाउन्डेसनको आयोजनामा विराटनगरमा फागुन १५ देखि १७ सम्म उत्सव हुन लागेको हो । आयोजकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा फाउन्डेसनका संस्थापक बरुण झाले क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न उत्सवको आयोजना गरिएको बताए । यसमा केन्द्रीय र प्रदेश स्तरीय राजनीतिक नेतृत्व तथा विज्ञको प्रस्तुति र सहभागिता रहने बताए ।

Argakhachi Cement Island Ad

कांग्रेस नेता डा. शेखर कोइराला, कोसीका मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधिसभाका सांसद प्रदीप ज्ञवाली, योगेश भट्टराई, सांसद मनीष झा, सुनिता बराल, शिशिर खनाल, निशा डांगी, भगवती चौधरी, ज्ञानेन्द्र शाहीलगायत सहभागी हुँदैछन् । 

प्यानल छलफलमा नेपालका चर्चित पत्रकारहरूले सहजीकरण गर्ने बताइएको छ । टीकाराम यात्री, ऋषि धमला, जीवराम भण्डारीलगायत विषयगत विज्ञले छलफललाई सहजीकरण गर्नेछन् ।

झाले भने ,"नीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य, र वातावरणजस्ता विषयमा केन्द्रित मञ्चले विचारहरूको आदान–प्रदान र सामूहिक समाधानलाई प्राथमिकता दिनेछ ।"  कोसी प्रदेशमा आयोजित विचार उत्सवको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विद्वान्, बुद्धिजीवी र कलाकारहरूले सांस्कृतिक र सामाजिक विकासका लागि महत्त्वपूर्ण छलफल हुने उनले सुनाए ।‌ 

विचार उत्सवले क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिइएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले समृद्ध कोसी प्रदेशले उत्सवका लागि विशिष्ट पृष्ठभूमि प्रदान गर्ने संस्थापक झाको भनाइ छ । स्थानीय हिमालय रोडमा खुलासत्रका रूपमा गरिने उत्सवमा नेपालका चर्चित कलाकारको दैनिक सांस्कृतिक तथा सांगीतिक प्रस्तुति समेत रहने छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्