site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
स्टार होइन कन्टेन बिक्छ भने किन ६० लाख पारिश्रमिक ?

काठमाडौं । बलिउड फर्मुलामा चलचित्र बन्दा होस् अथवा चरित्रप्रधान सिनेमा निर्माण हुँदाको समय, नेपाली चलचित्र उद्योगमा एउटा ऐँजेरु पलाउन कहिल्यै छोडेन । त्यो हो, स्टारको धङधङी ।

स्टारबिना सिनेमा चल्दैनन् भन्ने मनोविज्ञानबाट नेपाली निर्देशक र निर्माता ग्रसित थिए र छन् । स्टारलाई पर्दामा उतारेमा चलचित्र चल्छ भन्ने मनोविज्ञान निर्माता तथा निर्देशकमा रहेको पाइन्छ । 

३० देखि ५० लाख रुपैयाँ पारिश्रमिक आफ्नो चलचित्रको नायकका लागि मात्रै तिर्नु नेपाली निर्माताका निम्ति सामान्य भइसक्यो । ६० लाखसम्म पारिश्रमिक चलचित्रको मुख्य कलाकार (नायक)का लागि तिरेको समाचार आइसकेका छन् ।

Dabur Nepal
NIC Asia

बजारमा नाम चलेको कलाकारका निम्ति ६० लाखसम्म पारिश्रमिक तिर्नुको एउटै कारण हो, उसलाई लिएकै भरमा चलचित्र चल्छ भन्ने मनोविज्ञान । बजारमा पपुलर नामलाई चलचित्रमा लिएपछि लगानी उठ्छ, नाफा कमाउँछ भन्ने कतिपयको धारणा छ । 

कमाए त नाफा ? यो प्रश्नको जवाफ कोही निर्माता वा निर्देशकसँग खोजिरहनु पर्दैन, पछिल्लो महिनाका केही चलचित्रको बजार हेरे पुग्छ । बक्सअफिसको आधिकारिक रिपोर्ट त चलचित्र विकास बोर्डले सार्वजनिक गर्दैन, तर हलमा दर्शकको चाप हेर्दा त्यो थाहा हुन्छ । वितरकसँग बुझे पुग्छ ।

प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर : टेक वान’ले व्यापारिक सफलता पाउन सकेन । प्रियंका कार्की स्टारर चलचित्र ‘ममी’ले लगानी उठाउन सकेन ।

दयाहाङ राई स्टारर दुई चलचित्र ‘कार्साङ’ र ‘दुखी आत्मा’ले पनि बक्सअफिसमा अपेक्षित ग्रसकलेक्सन गर्न सकेनन् । ऋचा शर्माको ‘सारङ्ग’ले समेत बक्सअफिसमा आफूलाई अब्बल सावित गर्न सकेन । यीभन्दा अगाडि आएको सौगात मल्लको चलचित्र ‘बम बहादुर’ पनि हलमा राम्रोसँग चलेन ।

यी चलचित्रलाई उदाहरणका रूपमा लिने हो भने स्टारडमले नेपालमा सिनेमा चल्दैनन् भन्ने पुष्टि हुन्छ । सामाजिक सञ्जालमा ठूलो संख्यामा फ्यान फलोइङ हुँदैमा र भीडमा सेल्फी खिच्ने अनुहार पर्दामा देखिँदैमा चलचित्र चल्दैन भन्ने यी सिनेमाको बक्सअफिसले प्रस्ट पारेको छ ।

पहिलो दिनको पहिलो शोमै स्टारका चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिँदैन । स्टारको उल्लेख्य प्रभाव हलमा देखिँदैन, किन ?

अभिनेता प्रदीप खड्का हलमा कलाकार नभएर चलचित्र बेच्नुपर्ने बताउँछन् । “हामीले अहिले बिर्सिएको मुख्य कुरा हलमा कलाकार होइन, चलचित्र बेच्नुपर्छ भन्ने हो,” प्रदीप प्रस्ट पार्छन्, “हलमा कलाकार चल्ने होइन, फिल्म चल्ने हो ।”

चलचित्रलाई कन्सर्टसँग तुलना नगर्न उनी आग्रह गर्छन् । गायकगायिकाको लोकप्रियताका आधारमा कन्सर्टको टिकट बिक्री हुने गर्छ । कलाकारको नामका आधारमा हलको टिकट बिक्री नहुने प्रदीपको भनाइ छ ।

“स्टेडियममा गायकगायिकाले लाइभ गाउँदा दर्शकले टिकट काटेर आएजस्तो फिल्ममा हुँदैन,” प्रदीप भन्छन्, “मिडियामा चलचित्रको विज्ञापन गरिएको थियो, तर किन चलचित्र चलेन भनेजस्तै हो यो ।”

बजारमा चलेको कलाकार अथवा स्टार लिँदा सुरुमा हलले उपलब्ध गराउने शोको संख्या, डिजिटल राइट्सको बिक्री, ओभरसिज मार्केटमा चलचित्रको बिक्रीमा सहज हुने उनको धारणा छ । चलचित्र निर्माणको चरणमै रहेका बेला वितरकले दिने बजेटमा भने स्टार लिँदा सहज हुने प्रदीप तर्क गर्छन् ।

हलमा चलचित्र कति चल्ने अथवा नचल्ने त्यो सिनेमाको गुणस्तरले निर्धारण गर्ने उनको बुझाइ छ । “सुरुमा केही शो र दिनमा स्टारको स्टारडमले केही असर गर्छ होला । तर, कलाकारका कारण मात्रै चलचित्र चल्दैन भन्नेमा निर्माता प्रस्ट हुनुपर्छ,” उनी अगाडि थप्छन्, “स्टारडमले शो, ओभरसिज मार्केट, वितरक र डिजिटल राइट्समा भने सकारात्मक प्रभाव पार्छ ।”

चलचित्रको मार्केटिङमा ‘कन्फिडेन्स’ स्टार लिँदा बढ्ने पक्षलाई भने भुल्न नहुनेमा प्रदीप जोड दिन्छन् ।

चलचित्र टिमवर्क भएको बिर्सन नहुने प्रदीप बताउँछन् । “एकजनाले काम गरेर राम्रो चलचित्र बन्ने होइन, यो ठूलो समूहको टिमवर्क हो,” उनी भन्छन्, “कलाकारले आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । कलाकार त समग्र चलचित्रमा १०/१५ प्रतिशत मात्रै हो । एक्टरले चलचित्र बनाउने होइन, उसले आफ्नो दायित्व निभाउने मात्रै हो ।”

चलचित्रको सबैभन्दा सबल पक्ष विषय नै भएको निर्देशक कृषा चौलागाईं बताउँछिन् । चलचित्रमा स्टारलाई उनी ‘सुगन्ध’ मान्छिन् ।

“स्टार राख्दैमा चलचित्र चल्छ भन्ने पनि हुँदैन । नयाँ कलाकार राख्दैमा नचल्ने भन्ने पनि हुँदैन,” कृषा प्रस्ट पार्छिन्, “स्टार भएका चलचित्र पनि चलिरहेका हुँदैनन् । नयाँ कलाकार भएका चलचित्र पनि चलिरहेका हुन्छन् ।” सबैभन्दा महत्त्वपूर्ण पक्ष सिनेमाको ‘कन्टेन’ नै भएको उनको भनाइ छ ।

कलाकारको पारिश्रमिक ‘डिमान्ड’ र ‘सप्लाई’का आधारमा निर्धारण हुने अभिनेता प्रदीप खड्काको तर्क छ । बजार हेरेर नै निर्माताले कुन कलाकारलाई कति पारिश्रमिक दिने निर्धारण गर्ने उनी बताउँछन् ।

“मलाई भोलि काम आएन, मैले काम नै नपाउने अवस्था आयो भने बजारको सप्लाई र डिमान्ड मिलेन भनेर मैले धेरै पारिश्रमिक घटाउनुपर्छ होला,” उनी भन्छन्, “तर, मैले लिइरहेको पारिश्रमिकमा मलाई काम लगाउन निर्माता तयार हुनुहुन्छ । बजार हेरेरै उहाँहरूले काम गरिरहनुभएको होला ।”

वितरक रोहित कट्टेल भने कलाकारको पारिश्रमिक र चलचित्रको बक्सअफिस कलेक्सन हेर्दा ‘माग र आपूर्ति’बीच तालमेल नमिलिरहेको बताउँछन् ।

केही कलाकारले ४० देखि ६० लाखसम्म पारिश्रमिक लिने गरेको समाचार आइरहेको भन्दै उनी अगाडि थप्छन्, “४० देखि ६० लाख रुपैयाँसम्म पारिश्रमिक लिएका कलाकारका चलचित्रले कति ग्रसकलेक्सन गरिरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।”

राज्यले चलचित्रको संवेदनशीलता नबुझ्दा पनि पछिल्लो केही समययता बजार प्रभावित भइरहेको उनी जिकिर गर्छन् । “न्यायिक निकायले चलचित्रको संवेदनशीलता नबुझ्दा पनि चलचित्र एक्टर : टेक वानदेखि लाज शरणम्सम्मले समस्या झेल्नुपर्‍यो,” उनी भन्छन् ।

औसतमा स्टारडम भनिएका कलाकारका चलचित्रको ग्रसकलेक्सन नै दयनीय रहेको वितरक रोहित बताउँछन् । वर्षमा एक/दुई चलचित्रले राम्रो गर्दैमा त्यसैलाई मानक बनाएर पारिश्रमिक माग्ने काम भइरहेको उनको भनाइ छ ।

“वर्षमा मुस्किलले चार/पाँचवटा चलचित्रले सात/आठ करोड कलेक्सन गरिरहेका हुन्छन् । बाँकी चलचित्र घाटामा गइरहेका छन्,” रोहित अगाडि थप्छन्, “एउटाले २०/२२ करोड कमायो भनेर त्यसैलाई हेरेर पारिश्रमिक डिमान्ड गर्नु हुँदैन । अपवादलाई मानक मानेर हुँदैन ।”

स्टारडम रहेको भनिएका कलाकारका ‘फ्लप’ सिनेमाले पनि कम्तीमा तीन/चार करोड कमाएको खण्डमा ५० लाख पारिश्रमिक माग्न मिल्ने उनको तर्क छ । 

“स्टारडम भएका भनिएका कलाकारका फ्लप सिनेमाको कलेक्सन हेर्ने हो भने धेरै चलचित्रले एक करोड पनि उठाएका हुँदैनन् । अनि कसरी हाम्रो बजार ५०/६० लाख पारिश्रमिक दिने उद्योग भयो ?,” रोहित प्रश्न गर्छन् ।

कलाकार होइन, चलचित्र बेच्ने हो भन्ने प्रदीपको तर्कसँग रोहित सहमत छन् । कलाकार नभएर हलमा चलचित्र चल्ने रोहित बताउँछन् ।

“जतिसुकै धेरै पारिश्रमिक भएको कलाकार लिएर चलचित्र बनाए पनि चलचित्र राम्रो छैन भने त्यो चल्दैन, एक करोडभन्दा तलै ग्रसकलेक्सन हुन्छ,” रोहित भन्छन्, “यस्तो बजारले कसरी एउटा व्यक्तिविशेषलाई ५०/६० लाख पारिश्रमिक दिन सक्छ ?” 

वार्षिक रूपमा पाँच/छ चलचित्रले भन्दा धेरैले लगानी समेत उठाउन नसकेको सत्यलाई भुल्न नहुनेमा उनी जोड दिन्छन् । स्टारकै फ्लप सिनेमाको ग्रसकलेक्सन एक करोडभन्दा माथि नपुग्ने नेपाली चलचित्र उद्योगमा कलाकारलाई २५ देखि ३० लाख बढी पारिश्रमिक दिने बजार नरहेको उनी टिप्पणी गर्छन् ।

कलाकारको टाउको भन्दा पनि ‘कन्टेन’ बिक्ने र बिकाउनुपर्ने विषय सबैले हेक्का राख्नुपर्नेमा रोहितको जोड छ ।

समय, महोल, मुड, भाइब्स, बुझाइ आदि कारणले चलचित्र चल्ने वा नचल्ने निर्धारण हुने निर्माता समेत रहेकी निर्देशक कृषाको बुझाइ छ । “धेरैले चल्दैन भनेर भनिरहेको चलचित्र १२ गाउँ ब्लकबस्टर भयो । पूर्ण बहादुरको सारङ्गीभन्दा कति राम्रा चलचित्र पनि चलेका छैनन्,” कृषा भन्छिन्, “त्यसैले कुन समयमा कस्तो चलचित्र चल्छ भन्ने नै थाहा हुँदैन ।”

कमर्सियल चलचित्र बनाउँदा बजारमा ‘पपुलर’ कलाकारलाई लिँदा केही सहज हुने उनको बुझाइ छ । आमदर्शकले कसलाई खोजिरहेको र कसले मासलाई लिड गरिरहेको छ भन्ने कुराले चलचित्रमा अर्थ राख्ने कृषा बताउँछिन् ।

“त्यसैले स्टारलाई लिएर चलचित्र बनाउँदा चलचित्रमा थप सुगन्ध थपिन्छ,” उनी प्रस्ट पार्छिन्, “तर, चलचित्रमा सबैभन्दा धेरै मिहिनेत कन्टेनमा गर्नुपर्छ । बिक्ने र बेच्ने कन्टेन नै हो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro