site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सभाको रेकर्डबाट हटाइयो ‘राजा’

विराटनगर । कोसी प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सबिना बजगाईंले बोलेको ‘राजा’ शब्दलाई रेकर्डबाट हटाइएको छ । आइतबार सदनको शून्य समयमा सांसद बजगाईंले पूर्वराजाले प्रजातन्त्र दिवसमा दिएको शुभकामनालाई लिएर केही नेताले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि जनाएकी थिइन् ।

पूर्वराजाले जनतालाई दिएको शुभकामनाको विषयलाई लिएर गणतन्त्रका 'मसिहा' ठान्ने केही नेताले सञ्चारमाध्यममा राजालाई थुन्ने अभिव्यक्ति दिएको उनको भनाइ थियो । “म घोर निन्दा र भर्त्सना गर्दछु । यी अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा भएका हुन् । के  हिम्मत छ ? राजालाई थुनेर देखाउने चुनौती दिन्छु ।”

बजगाईंको अभव्यिक्तिप्रति एमाले कोसी संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले नियमापत्ति जनाए । 'डलर खानेहरू' भनेर अप्रमाणित विषय सम्मानित सदनमा उठाएको भन्दै उनले प्रमाण भए सदनमा पेस गर्न आग्रह गरे ।

प्रमाण नभए सभामुखमार्फत फिर्ता गराउन भनेपछि सभामुख अम्बरबहादुर विष्टले फेरि बजगाईंलाई समय दिँदै प्रमाण पेस गर्न आग्रह गरेका थिए । “थप केही कुरा भए माननीय सबिना बजगाईंलाई पुष्टि गर्ने प्रमाण पेस गर्न समय दिन्छु,” सभामुख विष्टले भने ।

बजगाईंले संघीयता, धर्म निरपेक्षता र गणतन्त्र लाद्न विदेशबाट डलर भित्रिएको कुरा सञ्चारमाध्यमबाट आएको र अमेरिकी राष्ट्रपतिबाट पनि यो कुरा सार्वजनिक भएको दलिल पेस गरिन् । उनले भनिन्, “सत्यतथ्यमा टेकेर भनेको हो । धर्मनिरपेक्षता र गणतन्त्र डलर खानेहरूले ल्याएका हुन् । म गणतन्त्र खारेज गर्न माग गर्दछु ।” 

उनले गणतन्त्र खारेजीको माग गरेपछि फेरि एमाले प्रमुख सचेतक लिङ्थेपले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको आधारमा बनेको सदनमा बसेर यही खारेज गर्नुपर्छ भनिएको विषय आपत्तिजनक भएको बताए ।

“राजाले बोलेको कुरामा केही नेताले आपत्ति गर्नुभयो । आपत्ति गर्ने विषय लोकतन्त्रले दिएकै विषय हो । लडेरै ल्याएको हो । यो रेकर्डबाट हटाउनुपर्छ सभामुखज्यू ।”

त्यसपछि सचिवालयका सभामुख विष्टले कर्मचारीसँग छलफल गरे । उनले प्रदेशसभा नियमावलीको दफा २५ मा नियमापत्तिको प्रावधान रहेकोबारे सभासमक्ष जानकारी गराए । सांसद बजगाईंको भनाइमा माओवादी सांसद गोम्बु शेर्पाले पनि नियमापत्ति जनाए ।

उनले भने, “नेपालको संविधानले राजा नचिन्ने भएकोले यो राजा भन्ने शब्द रेकर्डबाट हटाउनुपर्छ ।”

नियमापत्तिको प्रावधानलाई थप व्याख्या गर्दै एमाले संसदीय दलका प्रमुख सचेतकले नियमापत्तिअनुसार बोलेको भन्दै सभामुखसमक्ष प्रदेशसभा सञ्चालन नियमावलीले व्यवस्था गरेको प्रावधानको व्याख्या गरे । उनले अभिव्यक्ति गर्दा अरूलाई हानि नहुने र नहोच्याउने गरी गर्नुपर्ने प्रावधान संविधानमै व्यवस्था भएको बताए ।

“संविधानान समेत बहसमा गर्न नहुने व्यवस्था छ । नैतिकताको प्रतिकूल नहुने गरी बोल्नुपर्ने व्यवस्था भएकाले नैतिकतासँग बाझिएको कुरा भएकोले रेकर्डबाट हटाउनुपर्छ,” उनले भने ।

संविधानको धारा २० मा नैतिकताको प्रतिकूलबारे व्यवस्था भएको र नेताहरूको व्यहार तथा आचरणको कुरा उठाएकाले नियमापत्ति गरेको बताए ।

त्यसपछि पुष्टि नहुने 'डलर खाएको कुरा' र 'राजा' भन्ने शब्द सभाको रेकर्डबाट हटाउन सभामुख विष्टले निर्देशन दिए ।  

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro