site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उडिसाका मुख्यमन्त्रीले भने– सुरक्षित पठनपाठनका निम्ति सबै सहयोग गर्छौं

काठमाडौं । भारतको उडिसा राज्यका मुख्यमन्त्री मोहन चरण माझीले भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई आफूहरूले गम्भीर रूपमा लिएको बताएका छन् । प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका निम्ति उच्चस्तरीय छानबिन समिति गठन गरेर काम थालिएको उनले जानकारी गराएका छन् ।

“साथै, उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा (उडिसा) सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो,” परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो फेसबुक पोस्टमा भनेकी छन् ।

Argakhachi Cement Island Ad

शनिबार आफूले उडिसाका मुख्यमन्त्री माझीसित फोनमा कुराकानी गरेको उनले जानकारी गराएकी छन् । “उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु,” उनको पोस्टमा उल्लेख छ ।

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजबाट स्थायी रूपमै हटाउन उडिसा सरकारले पहल गरिदिनका निम्ति आफूले माझीलाई आग्रह गरेको उनले जानकारी गराइन् ।

“यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा (उडिसा) सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्,” उनले भनेकी छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्