site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिष्ट’मा नेपाल, कस्तो असर पर्ला ?

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिष्ट’ मा परेको छ । फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को बैठकले नेपाललाई लगानी जोखिम अर्थात् ग्रेष्टमा राख्ने निर्णय गरेको हो । नेपालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुन कार्यान्वयन नगरेपछि ‘ग्रे लिष्ट’मा परेको हो ।

यसअघि लगातार सन् २००८ को जनवरीदेखि २०१४ को जनवरीसम्म नेपाल ग्रे लिष्टमा परेको थियो । नेपालले कानुनी र संस्थागत संरचना बनाएपछि उक्त सूचीबाट हटेको थियो । तर, २०२४ मा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुनी सुधार गर्न नसकेपछि पुनः ग्रे लिष्टमा परेको हो ।

बैठकमा नेपालबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक हरि नेपाल सहभागी छन् ।

सम्पत्ति शुद्धीकरण तथा आपराधिक गतिविधिको निगरानी राख्ने अन्तर्राष्ट्रिय संगठन फाइनान्सियल एक्सन फोर्स (एफएटीएफ) र सोको एसिया प्यासिफिक ग्रुप (एपीजी)ले गत वर्ष नेपाल सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको औंल्याएको थियो । एपीजीले एक वर्षभित्र यसको निराकरण गरिसक्न पनि चेतावनी दिएको थियो । तर, ४० वटा सूचकमध्ये १५ वटा सूचकमा मात्र नेपालले सुधार गरेको थियो ।

नेपाल ग्रे लिष्टमा पर्दा बेफाइदा हुन्छ ?
नेपाल अहिले पनि ग्रे लिष्टमा परे जस्तै नै छ । किनभने बाह्य लगानी भित्रिएको छैन, व्यावसायिक वातावरण छैन । नेपाल ग्रे लिष्टमा परेमा अन्तर्राष्ट्रिय लगानीकर्ताले विश्वास नगर्ने अर्थशास्त्री तथा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की बताउँछन् ।

उनका अनुसार लागत पनि बढ्छ । “ग्रे लिष्टमा पर्दा अन्तर्राष्ट्रिय लगानीकर्ताले कम विश्वास गर्छन् । कष्ट बढ्न सक्छ । विदेश जाने भिसामा कडाइ हुन्छ, आयात–निर्यातमा अन्य मुलुकले कन्डिसन राख्छन्,” कार्कीले भने, “कानुनी कार्यान्वयनमा जोड दिनुपर्छ । घरजग्गा, सहकारी, क्यासिनो र सेयर बजार क्षेत्रमा एफएटीएफले खतरा देखेको छ ।”

एउटा घरजग्गा–मूल्यांकन एउटा र कारोबार फरक रहेको यो क्षेत्रलाई खतराको सूचीमा राखिएको कार्की बताउँछन् ।

त्यस्तै, बैंकले कडाइ गरेपछि सहकारीमा गैरकानुनी रूपमा पैसा गएको हुनसक्ने भन्दै यसलाई पनि खतराको सूचीमा राखिएको छ ।  एक वर्षमा सुधार गरेर कार्यान्वयन गर्‍यो भने नेपाललाई मौका छ । तर, सुधार गरेन भने ब्लाकलिष्टमा पर्छ ।

“अहिले पनि विदेशी लगानी आकर्षित भएको छैन । किनभने नेपालमा लगानीको वातावरण छैन । निजी क्षेत्रलाई पुँजी विस्तार दिइएको छैन,” उनले भने, “निजी क्षेत्रले गरेको जुनसुकै व्यवसाय सरकारले प्रतिबन्ध गर्न सक्नेछ भनेर संविधानको धारा १७ (२) मा लेखिएको छ । अहिले पनि नेपालमा राम्रो देश लगानीका लागि आएको छैन ।”

ट्रान्सपरेन्सी इन्टरनेसनलमा ५० भन्दा तलको लिष्टमा परे त्यो भ्रष्ट मुलुकमा मान्छ । हाम्रो ३४ नम्बरका साथ १०७औं स्थानमा छ ।
नेपालमा ‘रुल अफ ल’ कमजोर भइरहेको कार्की बताउँछन् । रेटिङमा नेपालको बी डबल माइनस ग्रेड प्राप्त गरेको छ । यो भनेको ‘नन् इन्भेष्टमेन्ट ग्रेड’ हो । नन् इन्भेष्टमेन्ट ग्रेडमा पनि लगानी गरेर फाइदा लिने ग्रुप छ । ट्याक्स हेबन मुलुकले नेपालमा लगानी गरेर फाइदा लिन चाहाने गरेको कार्की बताउँछन् । यस्ता लगानीकर्ताले सुशासितभन्दा कम सुशासित देशमा लगानी गर्न खोज्ने उनी बताउँछन् ।  

“ग्रे लिष्टमा परे लगानीलाई असर गर्छ । यो अलर्ट गरेको हो । मेक्सिमम सुधार गर्‍यो भने यो लिष्टबाट निस्किन समय लाग्दैन । तर, राजनीतिज्ञहरू सचिनुपर्छ र सुधारमा लाग्नुपर्छ,” कार्कीले भने, “हाम्रोमा इन्फर्मल इकोनोमी बढी छ । जहाँ इनफर्मल इकोनोमी बढी हुन्छ, त्यहाँ मनिलण्डिङ बढी हुने गर्छ । हाम्रो इनफर्मल इकोनोमी ५० प्रतिशतभन्दा बढी छ । यसले गर्दा ग्रे लिष्ट सुधार गर्न गाह्रो हुन्छ ।”

बैठकमा अन्तर्राष्ट्रिय मुद्राकोष, संयुक्त राष्ट्रसंघ, विश्व बैंक, इन्टरपोल र एम्मोन्ट ग्रुप अफ फाइनान्सियल इन्टेलिजेन्स युनिट्सलगायत ग्लोबल नेटवर्क र पर्यवक्षक संस्थाका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro