site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओडिसामा प्रकृतिको मृत्युपछिको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युपछि विकसित घटनाक्रमलाई कूटनीतिक माध्यमबाट समाधान गरिएको बताएकी छन् । ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार (फागुन ८) स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले यस्तो बताएकी हुन् ।

उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको विषयमा बुधबार आफूले ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेको उनले जानकारी गराइन् । प्रकृतिको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका निम्ति आग्रह गरेको उनले बताइन् ।

मन्त्री सुरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका निम्ति उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराएको उनले उल्लेख गरिन् ।

“उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्‍यौँ । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदै छ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरूबीच समन्वय गर्‍यौँ,” उनले भनिन्, “त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्व्यवहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।” 

एक प्रश्नको जवाफमा मन्त्री डा. देउवाले नेपाली विद्यार्थी हाल विश्वभर पुगेका तर सबैको तथ्यांक परराष्ट्रसँग नरहेको बताइन् । आउँदा दिनमा यस्तो तथ्यांक परराष्ट्रमा नै रहने व्यवस्था गर्न सकिए उद्धारका निम्ति सजिलो हुने उनले विश्वास व्यक्त गरिन् ।

“नेपालीहरू को कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा परराष्ट्रलाई थाहा छैन, तर समस्यामा परेपछि र उद्धार गर्नुपर्ने भएपछि थाहा हुन्छ,” उनले भनिन्, “त्यसपछि लगत्तै उनीहरूको उद्धार गर्नका लागि परराष्ट्रसँग पर्याप्त जनशक्ति पनि छैन, यसकारण पनि समस्या भइरहेको छ ।”

ओमन भ्रमणबारे उनले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको जानकारी गराइन् ।

सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेशमन्त्रीको सहभागिता थियो । सम्मेलनमा उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रमा सम्बोधन गरेकी थिइन् ।

भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री डा. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उनले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिजमन्त्री, सम्पदा तथा पर्यटनमन्त्रीका साथै इरान, संयुक्त अरब इमिरेट्स (यूएई) र श्रीलंकाका विदेशमन्त्री एवं जापानका विदेश राज्यमन्त्रीसँग ‘साइडलाइन’ भेट गरेकी थिइन् ।

इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री डा. देउवाले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका निम्ति पहल गरिदिन आग्रह गरेकी थिइन् ।

यस्तै, जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा उनले नेपालमा गएको असोजमा आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको पुनर्निर्माणका निम्ति सहयोग गर्न आग्रह गरेकी थिइन् ।

यूएई, श्रीलंका र ओमनका विदेशमन्त्रीसँगको भेटका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सम्बद्ध देशहरूलाई उनले आग्रह गरेकी थिइन् ।

नेपाल र ओमनबीच कूटनीतिक तथा पर्यटन क्षेत्रका दुई छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro