काठमाडौं । भारतको भुवनेश्वर–कटकस्थित प्रहरी आयुक्तको कार्यालयले नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु सम्बन्धमा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरी आयुक्तको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भारतको भुवनेश्वरमा रहेका नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।
“यस आपराधिक घटनाको अनुसन्धान चलिरहेको छ । प्रहरीले वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको सुनिश्चित गरेको छ,” भुवनेश्वर प्रहरी आयुक्तको कार्यालयले भनेको छ, “नेपाली विद्यार्थीसहित सबै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध छ ।”
नेपाली विद्यार्थीलाई कुनै पनि कठनाइ भएमा ८२८०३३८३०१ नम्बरमा भुवनेश्वर–कटक प्रहरीलाई सम्पर्क गर्न आयुक्तको कार्यालयले भनेको छ ।
भुवनेश्वर प्रहरी आयुक्तको कार्यालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्सालले फेब्रुअरी १६ मा आत्महत्या गरेको जनाएको छ ।
सबैभन्दा पहिला केआईआईटी विश्वविद्यालय भुवनेश्वरका बी.टेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले लम्सालको मृत्युबारे प्रहरीलाई जानकारी दिएका थिए । लम्साल नाताले सिग्देलकी बहिनी (कजन) हुन् ।
“उजुरीकर्ता (सिद्धान्त सिग्देल)ले आरोप लगाएका छन् कि केआईआईटी विश्वविद्यालयमा बी.टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तव (२१ वर्ष)ले गरेको उत्पीडनको कारण प्रकृतिले आत्महत्या गरेकी हुन्,” भुवनेश्वर प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा अद्विक श्रीवास्तवविरुद्ध इन्फोसिटी प्रहरी चौकीमा फेब्रुअरी १६ मा उजुरी दर्ता गरिएको थियो । उक्त उजुरीको दर्ता नम्बर ५४ हो । श्रीवास्तवविरुद्ध फौजदारी उजुरी दर्ता गरिएको भुवनेश्वर प्रहरीले जनाएको छ ।
भुवनेश्वर प्रहरी आयुक्तको कार्यालयका अनुसार अभियुक्त विद्यार्थी अद्विक श्रीवास्तवलाई फेब्रुअरी १७ मा पक्राउ गरिएको थियो र सोही दिन न्यायिक हिरासतमा पठाइएको थियो ।
“उजुरीका सम्बन्धमा अनुसन्धान जारी छ, जसमा प्रमाणको रूपमा कागजातहरू र इलेक्ट्रोनिक ग्याजेटहरू जफत गरिएको छ,” भुवनेश्वर प्रहरी आयुक्तको कार्यालयले भनेको छ ।
लम्सालको शव भेटिएलगत्तै नेपाली विद्यार्थीहरू आन्दोलित भएका थिए । त्यसपछि फेब्रुअरी १७ मा केआईआईटी विश्वविद्यालय प्रशासनले विद्यार्थीको आन्दोलनलाई अनुशासनहीन कार्य भन्दै नेपाली विद्यार्थीलाई होस्टेल खाली गर्न निर्देशन दिएको थियो ।
त्यसपछि केआईआईटी प्रशासनले जबर्जस्ती होस्टेलमा रहेका पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई बसमा राखी ४० किलोमिटर परको रेल स्टेसनमा लगेर छाडेको थियो । विश्वविद्यालयले प्रशासनले उनीहरूलाई घर (नेपाल) फर्कन भनेको थियो ।
केआईआईटी होस्टेलबाट नेपाली विद्यार्थीलाई हटाउने कार्यले चिन्ता उत्पन्न गरेको भुवनेश्वर प्रहरी आयुक्तको कार्यालयको भनाइ छ ।
“यद्यपि, फेब्रुअरी १७, २०२५ को साँझ केआईआईटी प्रशासनले अनिश्चितकालीन प्रतिबन्ध फिर्ता लिएको छ र नेपाली विद्यार्थीलाई आ–आफ्नो होस्टेलमा फर्किन अपिल गरेको छ,” भुवनेश्वर प्रहरी आयुक्त कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
केआईआईटी विश्वविद्यालयका सुरक्षाकर्मीले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारबारे पनि फेब्रुअरी १७ मा उजुरी परेको प्रहरीले जनाएको छ । आरोपित विश्वविद्यालयका सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पनि पक्राउ गरिसकिएको भुवनेश्वर प्रहरी आयुक्तको कार्यालयले बताएको छ ।