
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युप्रकरणप्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश सांसदले उनको न्याय र अरु विद्यार्थीको सुरक्षाको माग गरेका छन् ।
आजको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले लम्सालको मृत्युपछि विश्वविद्यालयले अपमान गर्दा सरकारको कुटनीतिक असक्षमता देखिएको बताए ।
“सरकारको कूटनीतिक असक्षमताका कारण अहिले पनि असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामान गर्नुपरिहेको छ,” उनले भने ।
सापकोटाले लम्सालको परिवारलाई न्याय दिन उच्चस्तरीय राजनीतिक संवाद थाल्न आग्रह गरे ।
“घटानाको पार्टीका तर्फबाट घोर भर्त्सना गर्छु । सरकारको तीव्र पहलकदमीको जोडदार माग गर्न चाहन्छु,” उनले भने, “मृत प्रकृति लम्सालको परिवारलाई न्याय दिन सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवादको थालनी गरेर समस्याको समाधानको थालनी गर्न जोडदार माग गर्छु ।”
उनले पटक–पटक किन यस्ता घटना भइरहेका छन् भन्नेमा गम्भीर हनुपर्ने बताए ।
प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले नेपाली छात्रा मृत्यु प्रकरणले सरकारको दुई तिहाइको दम्भ सिंहदरबारभन्दा बाहिर देखाउन चुनौती दिए । उनले डिप्लोम्याटिक रणनीतिमा पुनर्सरचना जरुरी रहेको बताए ।
“डिप्लोमेटिक रणनीति कमजोर भएकै कारण छिमेकमा एउटा चौकीदारले हाम्रो नागरिक सहजै पिट्न सक्यो । तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पायो । दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर नागरिकले अनुभव गर्न पाएको रहेनछन्,” उनले भने, “कता के कन्फिडेन्टस छ ? सार्वजनिक सेवामा सुधार छैन । छिमेकी देशमा नागरिकको आत्मसम्मान र सुरक्षा छैन । हामी जुन डिप्लोम्याटिक रणनीतिमा छौँ, त्यसलाई नै पुनरसंरचना गर्नुपर्छ ।”
नेकपा (एमाले)का सांसद ठाकुर गैरेले मृत्यु प्रकरणपछि विश्वविद्यालयको प्रशासकले बोलेको भाषा नेपाल र नेपालीका लागि सह्य नभएको बताए ।
“त्यो विश्वविद्यालयका प्रशासकबाट नेपाल र नेपालीमाथि नै अपमान गरेर प्रयोग भएको भाषा भिडियोमा सुनेका छौँ, त्यो लज्जात्मक छ,” उनले भने, “नेपालीप्रति न्यूनतम व्यवहार नभएकोमा अचम्म लागेको छ । त्यो नेपाल र नेपालीका लागि सह्य छैन ।”
सांसद छविलाल विश्वकर्माले शंकास्पद मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
सांसदहरूले घटनाको सत्यतत्थ्य छानबिन गर्नका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
केआईआईटीको गल्र्स होस्टलमा आइतबार एकजना बी.टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षिया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रिजस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।
त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।
सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुर्व्यवाहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।
गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुर्व्यवाहार भएको रिपोर्ट गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ ।
उक्त घटनाको भारत र नेपालमा आलोचना भएपछि विश्वविद्यालय प्रशासनले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको थियो । नेपाली विद्यार्थीमाथि दुर्व्यवाहार गर्ने दुईजना सुरक्षा कर्मचारी, दुईजना होस्टल कर्मचारी र एकजना प्रशासन अधिकारीलाई कारबाही गरेको छ ।
केआईआईटीले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । केआईआईटीले आफ्ना दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त, दुई होस्टेल अधिकारी र एकजना प्रशासन अधिकारीलाई निलम्बन गरिएको जनाएको छ ।