काठमाडौं । घरेलु मैदानमा आजदेखि सुरु हुने चारदेशीय महिला च्याम्पियनसिपका निम्ति नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) नेपाल आइपुगेकी छन् ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी सावित्रालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले स्वागत गरे । सावित्रा फ्रान्सको शीर्ष डिभिजनको क्लब एन एभान्ट ग्वानगाम्पमा आवद्ध छिन् ।
आज बिहानमात्रै स्वदेश ओर्लिएकाले सावित्राले प्रतियोगिताको पहिलो खेल गुमाउने सम्भावना उच्च छ । नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सावित्राले पहिलो दिन आराम गर्ने बताएका थिए ।
नेपाली टिमले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानविरुद्ध खेल्ने तालिका छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजेदेखि सुरु हुनेछ ।
यस प्रतियोगितामा नेपाल र कीर्गिस्तानसँगै लेबनान र म्यानमारको सहभागिता छ । आजै हुने प्रतियोगिताको उद्घाटन खेलमा भने दिउँसो २ बजे म्यानमार र लेबनानबीच प्रतिस्पर्धा हुने तालिका छ ।