site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अझै १० दिन अध्यादेश अघि नबढाउने तयारी

काठमाडौं । सत्तापक्षीय दलका प्रमुख सचेतकहरूको बैठकले सरकारले ल्याएको ६ वटा अध्यादेश अझै १० दिन अघि नबढाउने विषयमा छलफल गरेका छन् । 

आइतबार सिंहदरबारमा भएको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश संसद्मा निर्णयार्थ पेस गर्न अझै १० दिन लाग्नसक्ने बताए । 

शनिबार बसेको सत्ता गठन्धनको बैठकले फागुन ६ गतेको बैठकमा भूमिबाहेकका पाँच अध्यादेश अघि बढाउने निर्णय गरेको थियो । “अध्यादेश ६ गते पेस गर्ने सरकारको तर्फबाट जानकारी आएको हो । सांसद बाहिर जानुभएको छ । दश दिनको समय चाहिन्छ,” उनले भने, “अहिले कुम्भ मेला चलिरहेको छ । धेरै सांसद जिल्ला जानुभएको छ । उहाँहरूलाई जम्मा गर्न समय चाहिन्छ भनेका छौँ ।” 

नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ६ वटै अध्यादेश एकैपटक अघि बढाउने तयारी भएको बताए । भूमिसम्बन्धी अध्यादेशमा उठेका प्रश्नहरूबारे गृहकार्य गरेपछि एकैपटक अघि बढ्ने उनले संकेत गरे । 

“६ वटै अध्यादेश एकैपटक प्रस्तुत गर्ने पक्षमा छौँ । संसद्मा अध्यादेश निर्णायक ढंगले प्रस्तुत हुँदा पारित हुन्छ । अध्यादेशमा बढी भएका कुरा प्रतिस्थापन विधेयकमा घटाउँछौँ,” बर्तौलाले भने । 

उनले विगतका चारवटा अधिवेशनमा पास भएका भन्दा बढी विधेयक यस अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्नुपर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरूले जोड दिएको बताए । 

“सदनमा कतिपय विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भयो । सदनमा पेस भएका अध्यादेशका सन्दर्भमा पनि केही छलफल भए । आगामी कुन बैठकमा यसलाई कार्यसूचीमा लैजान सकिन्छ ? त्यो विषयमा पनि छलफल गरेका छौँ,” उनले भने, “अधिवेशनबाट हामीले चारवटा विधेयकमा पारित गरेको भन्दा बढी संख्यामा विधेयक पारित गर्नेगरी काम गर्नुपर्छ भन्ने निष्कर्ष छ ।” 

उनले शिक्षा र संघीय निजामति विधेयकलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro