site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...अनि विस्फोट भयो बेलुन, अर्थमन्त्री र मेयरलाई केही दिन आईसीयूमै राखिने  

काठमाडौं । जन्मदिनमा समेत प्रयोग गरिने स्पाक्र्लसँग सम्पर्कमा आउँदा पोखरामा शनिबार एक विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भए ।

घाइते दुवैको किर्तीपुरस्थित बर्न अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । शनिबार पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रम थियो ।  प्रमुख अतिथि थिए, अर्थमन्त्री पौडेल । कार्यक्रमको अध्यक्षता महानगरका मेयर आचार्यले गरेका थिए ।

औपचारिकताबाट अगाडि बनेको कार्यक्रममा उद्धोषकले अर्थमन्त्री पौडेललाई ‘पोखरा भ्रमण वर्ष, २०२५’ को लोगो अनावरण गर्न आग्रह गरे, मेयर आचार्यलाई चाहिँ सघाउन ।  कार्यतालिका अनुसार नीला र राता बेलुनका दुईवटा झुत्ताहरु अर्थमन्त्री पौडेल र आचार्यलाई दिइयो । बेलुनमा पोखरा भ्रमण वर्ष २०२५ लेखिएको थियो ।

तर, बेलुन उड्न पाएनन्, एक्कासि विस्फोटको ठुलो आवाज आयो । अर्थमन्त्री मञ्चमा उक्लिए, मेयर मञ्चबाट हामफाले । विस्फोट भएको बेलुन त्यही स्पाक्र्लको झिल्काको सम्पर्कमा थियो ।  कार्यक्रम व्यवस्थापनमा ध्यान नदिँदा सानो झिल्कोले ठुलो आवाजसहितको विस्फोट गरायो ।

पौडेलको टाउको, घाँटी, गालामा आगोले भेट्यो ।  विस्फोटभित्र परेका मेयर आचार्यको चाहिँ गालामा आगोको लप्काले भेटेको छ ।  उनको गालामा बेलुन नै टाँसिएका थिए, जसलाई सफा गर्न खोज्दा छाला नै उक्किएको छ ।
तत्कालै उपचारको लागि उनलाई फिस्टेल अस्पताल लगियो । 

निकटस्थहरुका अनुसार मेयरको त्यतिबेला रक्तचाप निकै बढेको थियो । अर्थमन्त्रीलाई चाहिँ गण्डकी मेडिकल कलेज पुर्‍याइयो । पोखरामा सामान्य उपचारपछि शनिबार दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

बेलुन विस्फोटको घटना सामाजिक सञ्जालभरि फैलिरहँदा उक्त बेलुनमा प्रयोग हुने ग्यासबारे धेरैले चासो राखिरहेका छन् । बेलुनमा हाइड्रोजन प्रयोगको बारेमा महानगरले नै पुष्टि गरेको छ । 

“कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरु फायर क्यान्डिलबाट निस्किएका झिल्काहरुसँग ठोक्किन पुगेपछि दुर्घटना हुन पुगेको हो,” महानगरले फेसबुक पेजमा लेखेको छ ।
कीर्तिपुर अस्पतालका अनुसार दुवैजनाको आईसीयूमा उपचार भइरहेको छ । 

अवस्था सामान्य भए पनि फोक्सोसम्मै धुवाँ छिरेकाले विशेष निगरानीमा राख्नुपरेको हो । कम्तिमा पनि ४८ घण्टा आईसीयूमा राखेपछि थप अवस्थाका बारेमा जानकारी गराउन सकिने अस्पतालले आफन्तलाई जानकारी गराएको छ ।

मन्त्री र मेयरको उपचारमा संलग्न चिकिस्सक डा. विशाल कार्कीले दुवै जनाको अवस्था अहिले बिहानसम्म सामान्य रहेको बताए ।

“आज बिहानसम्म दुवैजनाको प्रेसर, पिसाबलगायतका स्वास्थ्य अवस्था नर्मल छ,” उनले बाह्रखरीसँग कुरा गर्दै भने, “दुवैजनाको फोक्सोमा धुवाँ छिरेकाले विशेष निगरानीका लागि आईसीयूमा राख्नु परेको हो । अझै केही दिन राख्नुपर्छ ।”

मेयर आचार्यभन्दा अर्थमन्त्री पौडेलको जलन बढी रहेको अस्पतालले जनाएको छ । अर्थमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार  आईसीयूमा ४८ घण्टासम्म राख्नुपर्ने चिकित्सकको सुझाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro