
काठमाडौं । चलचित्र ‘एक्टरः टेक वन’का निर्माताले चलचित्रको प्रदर्शन स्थगित गरेका छन् । प्रदर्शनमा रहेको चलचित्र हलबाट उतारेका हुन् ।
निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’ का निर्माता सम्राट थापा र उनकी कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा दर्ता गराएका छन् ।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा, मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ । चलचित्र रिलिजको एक दिनअघि माघ १५ गते अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्माताहरूले यो अप्रत्याशित आदेशले दर्शकलाई असुविधा पुर्याएको र ‘एक्टर’का निर्माताबाट आर्थिक ‘ब्ल्याकमेलिङ’को प्रयास भएको दाबी गरेका छन् ।
निर्माताहरूका अनुसार, बाध्यतावश सहमति गरे पनि अहिले उक्त घटनालाई गलत ठहर गर्दै डायस्पोरा इन्टरटेन्मेन्ट प्रा.लि. र सञ्चालक सम्राट थापाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो ।
निर्माताहरूले विवाद समाधान नभएसम्म नेपालभित्र आइतबारदेखि ‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्ने निर्णय लिएको जनाएका छन् ।