site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूमि अध्यादेशका कारण सकसमा सरकार !  फिर्ता सुरक्षित विकल्प

काठमाडौं । भूमिसम्बन्धी अध्यादेशका कारण सरकार सकसमा परेको छ । संसदका दुवै सदनमा एकसाथ स्वीकृतिका लागि सम्भावित कार्यसूचीमा परेको थियो ।  तर, राष्ट्रियसभाबाट अनुमोदित हुने सम्भावना कम भएपछि कार्यसूचीमा पर्न सकेको छैन । 

सत्तारुढ दलसँग राष्ट्रियसभामा बहुमत छैन । जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशविरुद्ध उभिने औपचारिक निर्णयसँगै सरकार संकटमा परेको हो । सरकारमै सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि भूमि अध्यादेशविरुद्ध विज्ञप्ति जारी गरिसकेको छ । 

त्यसबाहेक जनमत पार्टी र नागरिक उन्मुक्तिले पनि अध्यादेशविरुद्ध उभिने तयारी गरेपछि अध्यादेश फेल वा फिर्ताको मात्र विकल्प बचेको छ ।  यदि सरकारले सदनमा निर्णयार्थ प्रस्तुत गरेमा राष्ट्रियसभामा असफल हुने निश्चित छ । ५९ सदस्यीय राष्ट्रियसभामा बहुमत निम्ति ३० सांसदको समर्थन चाहिन्छ ।

अध्यादेशको पक्षमा नेपाली कांग्रेसका १६, नेकपा (एमाले)का १०, मनोनीत गरी २७ सांसद छन् । त्यस्तै, मनोनीत सांसद वामदेव गौतमले सत्तालाई सघाउने सम्भावना भए पनि उनले सदनमा नै आफ्नो मत प्रस्तुत भनेर सरकारलाई दवावमा राख्ने प्रयास गरेका छन् । यसले सरकारसँग अध्यादेश फिर्तामात्रै विकल्प देखिँदैछ ।

कहिले कांग्रेस त कहिले एमालेसँगको सहकार्यमा प्रतिनिधिसभाको तेस्रो दल माओवादी राष्ट्रियसभामा पहिलो दल बन्न पुगेको छ ।  नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभामा १७ सांसद छन् । प्रतिपक्षमै रहेको नेकपा (एकीकृत समाजवादी)का आठ र राष्ट्रिय जनमोर्चाका एकगरी २६ सांसद छन् । 

सरकारलाई समर्थन दिएको तीन सांसद रहेको जसपा निर्णायक छ । उसले ५ वटा अध्यादेशको पक्षमा निर्णय गर्ने भने पनि भूमिसम्बन्धी अध्यादेशको विरोधमा उभिने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ ।
जसपाले त भूमिसम्बन्धी अध्यादेशले मुलुकलाई छिन्नभिन्न पार्न सक्ने भनेर त्यसमा समर्थन गर्न नसकिने जनाएको छ ।

चुरे क्षेत्र विनास भएर मधेस मरुभूमिमा परिणत हुने, पर्यावरणीय विनासले जैविक विविधता नष्ट पार्ने र आन्तरिक बसाइँ–सराई बढ्दा द्वन्द्व सृजना हुने उल्लेख गरेको छ । उनले अध्यादेशले केही भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया, दलाल, सरकार नजिकका व्यक्तिहरू, भू–माफिया र ठूला रियल स्टेट व्यापारीका साथै आवास कम्पनीहरूलाई लाभ हुने जनाएको छ । 

राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारी जसपा नेपालले भूमि अध्यादेशको विपक्षमा उभिने निर्णय गरेकाले फिर्ता लिन उपयुक्त हुने बताउँछन् । उनले प्रश्न उठेका प्रावधान सच्याउँदै नयाँ विधेयक ल्याउनु उपयुक्त हुने सुझाव दिएका छन् । 

“जसपा नेपालले विपक्षमा जाने निर्णय गरेको हो भने सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिँदा उपयुक्त हुन्छ,” अधिकारीले बाह्रखरीसँग भने, “यो अध्यादेश त ६० दिनभित्र प्रतिस्थापन विधेयकसहित पास नभए शुन्यमा जाने भयो । त्यसैले उठेका प्रश्नहरू नरहने गरी नयाँ विधेयक ल्याउँदा उपयुक्त हुने देखिन्छ ।”

सरकारले माघ १८ गते संसद्मा ६ वटा अध्यादेश पेस गरिसकेको छ । जसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश छन् ।

यस्तै ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश छन् ।

गिरीबन्धु टि–इस्टेटविरुद्ध सर्वाेच्च अदालतले दिएको फैसलाविपरीत अध्यादेश भएको जिकिरसहित रिट परेको छ । 

अधिवक्ता ओमप्रकाश अर्यालले गत माघ २८ गते दायर गरेको अदालतको अवहेलनामा मुद्दामा सर्वोच्चले फागुन ४ को पेसी तोकेको छ ।  अदालतको अवहेलनाको सम्भावित जोखिमबाट बच्न पनि सरकारले अध्यादेश त्यसअघि नै लिन सक्ने सम्भावना पनि छ । 

झापास्थित गिरिबन्धु टि–इस्टेटको जग्गा सट्टापट्टाका नाममा भू–माफियालाई लाभ पुग्नेगरी ‘प्लटिङ’ गरी बिक्रीकै लागि ऐन संशोधन गरिएको आरोपमा परेको रिटमा सर्वोच्चले नियतमै प्रश्न उठाउँदै फैसला गरेको थियो । 

उसले उद्योग, फर्म वा कम्पनीका लागि हदबन्दी छुट दिएको जग्गा सट्टापट्टा गर्ने हुँदा समान मूल्य, समानस्तरको भूगोलसहितका मापदण्ड र अन्य कुरा पनि पूर्वनिर्धारित हुनुपर्नेसहितको परमादेश जारी गरेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र सुस्मलता माथेमा सम्मिलित संवैधानिक इजलासले ०८० माघ २४मा गरेको फैसलाले गिरीबन्धु टिइस्टेटको महँगो जग्गा दिएर सस्तो मूल्यको जग्गा साट्न मिल्ने गरी गरेको निर्णयलाई ‘अपरिपक्व’ भन्दै बदर गरिदिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro