
काठमाडौंं । अमेरिकी सांसदले नेपालमा नास्तिकता फैलाउन पाँच लाख डलर खर्च गरेको बताएपछि त्यसको तरंग नेपालमा पनि आइपुग्यो ।
अमेरिकी संसद्को फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले नेपालमा ‘नास्तिकता’ फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको केही दिनअगाडि बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का गतिविधि रोक्नुका सम्बन्धमा सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको ‘फेस द नेसन’ कार्यक्रममा मास्टले ‘नास्तिकता’ फैलाउन नेपालसहित कुन देशमा कति खर्च गरिएको थियो भनेर सार्वजनिक गरेका थिए ।
उक्त समाचार आएपछि सामाजिक सञ्जालमा कुन संस्थाले यूएसएआईडीमार्फत कति पैसा लिए भनेर विभिन्न व्यक्तिले सार्वजनिक गरिरहेका छन् । यूएसएआईडीमार्फत पैसा लिने संस्थाहरूको सूचीमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संस्था मह संचार पनि छ ।
मह सञ्चारले टेलिसिरयल बनाउन यूएसएआईडीमार्फत पैसा लिएर हिन्दु धर्मविरोधी गतिविधि गरेको आरोप हरिवंश र मदनकृष्णलाई लागिरहेको छ । विशेषगरी मदिरा सेवन गरेर ब्राह्मणले श्राद्ध गरेको र क्रिश्चियन धर्मको प्रचार गरेको भन्ने मह जोडीमाथि आरोप लागिरहेको छ ।
मह सञ्चारले भने आरोपको खण्डन गरेको छ । आफूहरू कुनै पनि धर्म विरोधी नरहेको कलाकार हरिवंश आचार्य बताउँछन् । नियोजित रूपमा कोही व्यक्ति विशेष र समूह दुष्प्रचारमा लागिरहेको उनको भनाइ छ ।
“नेपालमा गणतन्त्र आयो । गणतन्त्र नै यिनीहरूले ल्याएका हुन् भन्ने केही व्यक्तिलाई लागिरहेको छ । गणतन्त्र ल्याउने हाम्रो हैसियत थिएन । हामीले ल्याएको पनि होइन,” हरिवंश भन्छन्, “पछि कसोकसो गणतन्त्र आयो । हाम्रो काम नै हास्यव्यंग्य हो । हामीले पञ्चायतकालमा पनि तत्कालीन व्यवस्थाविरुद्ध व्यंग्य गरेका हौँ ।”
मह जोडीको व्यंग्यकै कारण गणतन्त्र आयो भन्ने भ्रम रहेकाले केही व्यक्तिले त्यसको रिस अहिले पोखिरहेको हरिवंशको निष्कर्ष छ । आफूहरूलाई मन नपराउने व्यक्तिले नियोजित रूपमा भ्रम फैलाइरहेको उनी बताउँछन् ।
यूएसएआईडीको सहयोग लिनु नै गलत हो भन्नु नै सही तर्क नभएको उनको भनाइ छ । राम्रो कामका लागि पारदर्शी तरिकाले वैधानिक संस्थाबाट सहयोग लिनु गलत नहुने उनी बताउँछन् ।
“यूएसएआईडीको सहयोगमा पोलियो थोपा खुवाउन, खोप दिने कार्यक्रम नेपालमा सरकारले नै सञ्चालन गरेको छ । यसलाई हेर्ने हो भने यूएसएआईडीको पैसा शरीरभित्र नपसेको कोही मान्छे नै छैन होला,” उनी अगाडि थप्छन्, “जसले हामीलाई गलत हो भनेर कमेन्ट गरिरहनु भएको छ, ऊ स्वयं र उसको छोराछोरी, बाआमा, दिदीबहिनीको शरीरभित्र यूएसएआईडीको पैसामा आएको खोप छ । पोलियो थोपा छ ।”
यूएसएआईडीले ‘टेन्डर’ आह्वान गरेको र प्रतिस्पर्धामा आफूहरूले पाएको रकमबाट टेलिचलचित्र बनाएको उनी प्रष्ट पार्छन् । महसञ्चारले टेलिचलचित्र ‘मदनबहादुर हरिबहादुर’ द्वन्द्व समाधानलाई लिएर ५२ भाग निर्माण गरेको थियो । यसका लागि तीन करोडको ‘टेन्डर’ उनीहरूलाई परेको थियो ।
“हामीले पोलियो थोपा, रुवेला र अरू केही पीएसए पनि बनाएका थियौँ । तपाईंहरूले बनाउँदा प्रभावकारी हुन्छ भनेर हामीले बनाएका हौँ,” हरिवंश भन्छन्, “टेन्डरमा परेको पैसाबाट ३७ घण्टाको टेलिसिरयल बनाएका हौँ । यसलाई गलत चित्रण गर्ने काम भइरहेको छ । विस्तारै यो सबै प्रष्ट हुन्छ ।”
धर्मको कुरा किन निस्कियो भन्ने नै आफूले बुझ्न नसकेको उनको भनाइ छ । ‘सराध्य’ भन्ने टेलिसिरयल आफूले २०३४ साल प्रज्ञा भवनमा भएको गाईजात्रा महोत्सवमा पहिलोपटक देखाएको प्रहसन भएको हरिवंश सुनाउँछन् ।
“यो प्रहसन हेर्न राजा वीरेन्द्रलगायत सबै हेर्न आउनु भएको थियो । यो प्रहसनबाट मैले गोल्डमेडल पनि पाएको थिएँ,” उनी स्मरण गर्छन्, “त्यसलाई परिमार्जन गरेर पछि हामीले पञ्चायतका सराध्य भनेर देखाएका थियौँ । यसकै केही क्लिप्स काटेर धर्मसँग जोडेर भ्रम फैलाउने काम अहिले भइरहेको छ । यो एक दिन आफैँ प्रष्ट हुनेछ ।”
उनले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको क्लिप्स ०५४ सालमा बनाइएको बताए ।
उनले उक्त विषयवस्तु पहिलोपल्ट ०३४ सालमा देखाइएको भए पछि पञ्चायत ढलेको सातवर्षपछि पुनः त्यही विषयवस्तुमा आधारित रहेर छायांकन गरिएको बताए । नियत खराब राखेर नगरिएको व्यंग्यलाई गलत तरिकारले प्रचार गर्न नहुनेमा उनको जोड छ ।
तर, त्यसैलाई अहिले गलत तरिकाले व्याख्या गर्न केही व्यक्ति र समूह नै लागिपरेको उनको गुनासो छ । महजोडीलाई नराम्रै बनाउँछु भनेर अभियान चलिरहेको उनको बुझाइ छ ।
तत्कालीन राजालाई पनि गणतन्त्र कसरी आयो भन्ने जानकारी रहेको भन्दै हरिवंश भन्छन्, “सायद उहाँलाई पनि हामीसँग गुनासो छैन होला । हामीले ल्याएर गणतन्त्र आएको भन्दा पनि कसरी नेपालमा गणतन्त्र आयो राजालाई प्रष्ट थाहा छ ।”
तत्कालीन राजाप्रति बढी सेवाभाव देखाउने व्यक्तिहरूले महसञ्चारविरुद्ध अभियान चलाएको हुनसक्ने उनको भनाइ छ । महसञ्चारले गलत काम नगरेकोमा आफू ढुक्क रहेको हरिवंश सुनाउँछन् ।
“यस्तो समयमा हामी यस्तो व्यक्ति अथवा संस्था हो भनेर हरेक नेपाली नागरिकलाई भन्दै हिँड्ने कुरा पनि भएन । यो जनताले आफैँ मूल्यांकन गर्ने कुरा हो,” हरिवंश अगाडि थप्छन्, “यूएसएआईडीको पैसा भनेर हेर्दा पर्वत नै खाएजस्तो गरेर अभियान चल्यो । वास्तविकता एकदिन आफैँ प्रष्ट हुन्छ ।”
यूएसएआईडीको प्रायोजनमा तयार भएका भिडियो सामग्री कस्ता छन्, त्यो आफैँ बोल्ने उनको भनाइ छ । “द्वन्द्व समाधान गरौँ, शान्ति प्रक्रियामा जाऔँ, खोप लगाऔँ, पोलियो थोपा बच्चालाई खुवाऔँ भन्ने सन्देश दिने सामग्री बनाउँदा कसरी धर्मको पक्ष र विपक्षमा भयो ?” उनको प्रश्न छ ।
समयले नै धेरै कुरा प्रष्ट पार्ने र जनता आफैँ मूल्यांकन गर्न सक्षम रहेकाले गलत अभियान चाँडै विफल हुनेमा हरिवंश ढुक्क छन् । नयाँ वर्षको अवसरमा ‘अफर’मा राखिएको क्रिश्चियनको तस्बिर राखेर गलत व्याख्या भइरहेको भन्दै त्यसलाई रोक्न उनको आग्रह छ ।
“नयाँ वर्ष अथवा कुनै चाडपर्वको अवसरमा अहिले पनि सन्दर्भअनुसार सुपरमार्केट, पसलमा राखिन्छ,” उनी अगाडि भन्छन्, “त्यसलाई गलत ब्याख्या गर्ने काम भइरहेको छ जुन, आफैँमा गलत हो ।”