site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मुठभेडमा ३१ माओवादी र दुई भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली । सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला मध्य भारतको घना जंगलमा आइतबार भएको मुठभेडमा कम्तीमा ३१ जना माओवादी विद्रोही र दुई भारतीय कमान्डो मारिएका छन् ।

सीमान्तकृत आदिवासी जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूद्वारा चलाइएको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिस मारिएका छन् ।

“३१ विद्रोही र दुई सुरक्षाकर्मी मारिएका छन् र अन्य दुई सुरक्षाकर्मी घाइते भएका छन्”, वरिष्ठ प्रहरी अधिकारी सुन्दरराज पीले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीले क्षेत्रमा खोजी अभियान जारी राखेकोले मृत्यु संख्या अझै बढ्न सक्ने अधिकारीले बताए । “घटनास्थलमा अतिरिक्त बल पठाइएको छ,” उनले भने ।

प्रहरीको विज्ञप्तिअनुसार घटनास्थलबाट स्वचालित हतियार र ग्रेनेड लन्चर बरामद गरिएको छ ।

विद्रोहको मुटु मानिने छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जंगली क्षेत्रमा मुठभेड भएको थियो ।

“नक्सलवादी (माओवादी) मुक्त भारत हासिल गर्ने दिशामा यो ठूलो सफलता हो,” भारतका गृहमन्त्री अमित शाहले भने । उनले गत वर्ष सरकारले सन् २०२६ सम्ममा विद्रोह दबाउने अपेक्षा गरिएको बताएका थिए ।

सरकारी तथ्यांकअनुसार सुरक्षा बलको कारबाहीमा गत वर्ष २८७ विद्रोही मारिएका छन् । तीसमध्ये अधिकांश छत्तीसगढमा मारिएका थिए ।

माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।

उनीहरू भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे । सन् २००० दशकको सुरुसम्म आन्दोलनले शक्ति र संख्यामा वृद्धि गर्‍यो ।

त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्‍यो ।

यस द्वन्द्वमा सरकारी बलहरूमाथि धेरै घातक आक्रमणहरू पनि भएका छन् । गत महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ भारतीय सैनिक मारिएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्