site stats
बाह्रखरी :: Baahrakhari
खेल
थ्री बाई थ्री बास्केटबलमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका टिम खेल्ने

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल बास्केबल संघले बुधबारसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुने जानकारी गरायो । प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराएका हुन् । दुई टिमको टुंगो लाग्न बाँकी छ । महासचिव थापाका अनुसार नेपाली टिमले दुईजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमध्ये एक खेलाडी मात्रै कोर्टमा उत्रने नियम रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो संस्करण भव्य आयोजना भएपछि दोस्रो संस्करण आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले जानकारी गराए । "पहिलो संस्करण हामीले निकै भव्य आयोजना गरेका थियौँ । पहिलो संस्करण नै राम्रो भएपछि निरन्तरता दियौँ । दोस्रोमा झनै राम्रो खेल हुने विश्वास छ," उनले भने

प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । पत्रकार सम्मेलनमा आइडिया पिक्सेलको तर्फबाट पवनराज जोशीको सहभागिता रहेको थियो । थ्री बाई थ्री का कोर्डिनेटर तथा केन्द्रीय सदस्य शरद बिष्टले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए ।

संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताएका छन् । "हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दैछौँ । राखेपबाट कुनै सहयोग भएको छैन," गुरुङले भने, "राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ । तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधामात्रै खर्च बेहोर्दिनुस् भनेका छौँ । तर, उहाँले दिनुहुन्न ।"

संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ । "हामीले नेपाली भूमि खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्ताबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौँ । यसमा दुबै टोलीको समर्थन रहेको छ," उनले भने ।

 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्