site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डलाई विश्वप्रकाशको जवाफ : अरूले ल्याउँदा चोरबाटो आफूले ल्याउँदा मूल बाटो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई अरूले अध्यादेश ल्याउँदा चोरबाटो आफूले ल्याउँदा मूलबाटो हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसले विषय र परिस्थिति अनुसार निर्णय गर्ने गरेको सुनाए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हिजो प्रतिपक्षमा छँदा वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री भएका बेला जुन अध्यादेशका विरूद्ध संवैधानिक परिषद् भत्कने गरी आएको अध्यादेशको कांग्रेसले विरोध गरेको सम्झना छ,” उनले भने, “कुनै अध्यादेशलाई विरोध नगरेको र शान्त ढंगले सघाएको कुरा देशलाई कमै सम्झना छ ।”

उनले गएको वैशाख २८ गते कांग्रेस प्रतिपक्षमा हुँदा पनि प्रचण्ड नेतृत्वको सरकारले ल्याएको लगानी सम्मेलन सम्बन्धी अध्यादेशलाई कांग्रेसले समर्थन गरेको सुनाए ।  शर्माले अहिले आएको भूमिसम्बन्धि अध्यादेशका सम्बन्धमा विवादस्पद विषय भए प्रतिस्थापन विधेयकबाट सच्याउने गरी जानुपर्ने बताए । 

२४ गतेको बैठकमा प्रचण्डले चोर बाटोबाट अध्यादेश ल्याएको टिप्पणी गरेका थिए ।  त्यस्तै प्रचण्डले सरकार अप्राकृतिक भनेकोप्रति पनि शर्माले जवाफ दिए । 

“कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो ? कांग्रेस र एमाले मिलेर बनाउँदा कसरी अप्राकृतिक भयो ? गठबन्धनको सरकार बन्नु भनेको समयको, गणीतिय बाध्यता हो । सबै प्राकृतिक भनेर हामी पनि दाबी गरिरहेका छैनौं,” उनले भने । 

उनले सरकार असंवैधानिक भन्नु आवेगात्मक अभिव्यक्ति भएको टिप्पणी गरे । त्यस्तै सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि प्रश्न उठाउँदै शर्माले अध्यादेश भन्दैमा गलत नहुने र विधेयक भन्दैमा सही नहुने पनि बताए ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्