site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आफ्नै क्षमताको कैदी बनेका नेइमार

काठमाडौं । फर्केर कहिल्यै नजानू । तर, कहिलेकाँही फर्काइ एकमात्र विकल्प पनि बन्न सक्छ । साउदी क्लबमा अनुबन्ध भएको १८ महिना पुग्दै थियो । नेइमार र अल–हिलालबीच अवधि नपुग्दै आपसी समझदारीमा सम्झौता रद्द गर्ने सहमति बन्यो । यसले नेइमारलाई आफ्नो बाल्यकालको ब्राजिलियन क्लब सान्तोस फर्किने अवसर बन्यो ।

अल हिलालले नेइमारलाई ७७ मिलियन पाउन्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट अनुबन्ध गरेको थियो, दुई वर्षको अवधिसहित । नेइमारको साप्ताहिक पारिश्रमिक थियो, २.५ मिलियन पाउन्ड । सम्झौता अवधि बाँकी नै रहेकाले नेइमारले त्यसमध्येको ८५ प्रतिशत रकम पाउनेछन् ।

अर्थात्, अल–हिलालबाट जम्मा सात खेल खेल्दा नेइमारमाथि साउदी क्लबले ३२२ मिलियन पाउन्ड खर्च गर्‍यो । जुन क्लबका निम्ति डरलाग्दो बर्बादी बन्यो ।

सरसर्ती हेर्दा आधुनिक खेल इतिहासमा खराब चर्चाकै लागि नेइमारको कहानी बनेको देखिन्छ, युवा अवस्थामै असाधारण दबाबदेखि सेलिब्रेटी र चर्को आर्थिक बबार्दीसम्म । अर्जेन्टिनी स्टार लियोनल मेसीसँगको तुलना नेइमारका निम्ति ठूलो दुर्भाग्य बन्यो ।

Neymar-1738667660.jpg
डियागो म्याराडोनापछि अर्जेन्टिनाले दोस्रो म्याराडोना पाएजस्तो देखिँदा ब्राजिललाई पनि अर्को पेलेको आवश्यकता थियो । सन् २०११ मा सान्तोसले कोपा लिबेरटाडोरेसको उपाधि जित्दा १९ वर्षीय नेइमारले पहिलो गोल गरे । यो सान्तोसले सन् १९६३ पछि जितेको पहिलो महादेशीय क्लब उपाधि थियो । जतिबेला नायक बनेका थिए, ब्राजिलियन लेजेन्ड पेले । त्यसबेला ब्राजिलले नयाँ पेले पाएजस्तो देखिन्थ्यो । तर, कुनै पनि फुटबलर पेलेसँगको तुलनामा रहन सक्दैन । अनि, नेइमार आफ्नै सक्षमताको कैदी बने ।

नेइमारलाई ब्राजिलियन लेजेन्डसँग तुलना गर्नुको अर्थ उनीबाट समर्थकको ठूलो आशा थियो । सन् २०१० मा सान्तोसले कोपा डो ब्राजिलको उपाधि जिते पनि नेइमार भने पेनाल्टी सदुपयोग गर्न असफल रहे । सोही कारण एक हप्तापछि लिगको खेलमा प्रशिक्षक डोरिभल जुनियरले पेनाल्टीका निम्ति नेइमारबाहेक अरू खेलाडीलाई अघि सर्न निर्देशन दिए ।

प्रशिक्षकको यस्तो आदेशपछि निराश बनेका नेइमारलाई शान्त बनाउन लाइन्समेन अघि सर्नुपर्‍यो । यस घटनापछि प्रशिक्षक डोरिभलले नेइमारलाई दुई हप्ता निलम्बन गर्न सिफारिस गरे । तर, क्लबले नेइमारलाई निलम्बन गरेन, उल्टै प्रशिक्षक डोरिभललाई नै बर्खास्त गरिदियो ।

२१ वर्षको उमेरमा नेइमारले सान्तोस छाडे । ब्राजिलियन क्लबबाट बार्सिलोना पुग्दा पनि नेइमारको आलोचना कम हुन सकेन । उनको गल्ती नभए पनि बार्सिलोनाले सम्झौता गर्दा स्पेनिस क्लबलाई कर छलीको आरोप लाग्यो । यही कर छली काण्डले गर्दा बार्सिलोनाका तत्कालीन अध्यक्ष सान्ड्रो रोसेलले राजीनामै बुझाउनुपरेको थियो । त्यसपछि अध्यक्षमा आएका जासेप मारिया बार्टोमेउको कार्यकालमा क्लबमा आर्थिक अनियमितता झनै बढ्यो । बार्टोमेउको कार्यकालबाट सुरु भएको आर्थिक मन्दीले बार्सिलोनालाई अझैसम्म गाँजिरहेको छ ।

Neymar-(2)-1738667661.jpg
स्पेनिस क्लबबाट मैदान उत्रिएको पहिलो सिजन नेइमारले ठूलै संघर्ष गरे । युरोपियन फुटबलको ‘फिजिकालिटी’मा अभ्यस्त हुन पनि नेइमारलाई समय लाग्यो । पहिलो सिजन बार्सिलोनाबाट नेइमारले नौ गोल गरे पनि क्लब भने उपाधिविहीन रह्यो । 

लगातारको औसत प्रदर्शनले नेइमारमाथि स्वभावलै दबाब थपिँदै गएको थियो । झन् बार्सिलोनाबाट प्रदर्शन सन्तोषजनक बन्न नसक्दा अर्को वर्ष भएको विश्वकपमा नेइमारमाथि सशक्त प्रदर्शनको चर्को दबाब बन्यो ।

विश्वकपको क्वार्टरफाइनलमा कोलम्बियाविरुद्ध ढाडमा गहिरो चोट बोकेपछि भने नेइमारमाथि केही सान्त्वनाका स्वर थपिए । नेइमार घाइते भए, ब्राजिल जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोर्दै सेमिफाइनलबाट बाहिरियो ।

बार्सिलोनाबाट दोस्रो सिजन भने नेइमारका निम्ति सबैभन्दा उत्कृष्ट बन्यो । अर्जेन्टिनी कप्तान मेसी र उरुग्वेका लुइस स्वारेजसँग अग्रपंक्तिमा गजबको तालमेल बन्दा बार्सिलोनाले तेहेरो उपाधि जित्यो । उनले च्याम्पियन्स लिगको फाइनलमा गोल पनि गरे । तर, बर्लिनमा सम्पन्न च्याम्पियन्स लिगको फाइनलको एक हप्तापछि नै नेइमारले कोपा अमेरिकाअन्तर्गत कोलम्बियाविरुद्ध मूखर्तापूर्ण व्यवहार देखाए । सोही कारण नेइमारले रातो कार्ड बेहोरे, सँगै चार खेलको प्रतिबन्ध पनि । 

सन् २०१६ मा ब्राजिलमै भएको ओलम्पिकमा ब्राजिललाई फुटबलतर्फ स्वर्ण पदक दिलाए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताले नेइमारमाथि कहिल्यै दया देखाएन । तीनपटक कोपा अमेरिकामा ब्राजिलको प्रतिनिधित्व गरे पनि नेइमारले उपाधि चुम्न भने पाएनन् । सन् २०१९ मा ब्राजिलले उपाधि जित्दा नेइमार चोटका कारण टिममा थिएनन् ।

ब्राजिलबाट विश्वकपका चार संस्करणमा प्रतिस्पर्धा गर्दा नेइमार सधैँ चर्चाको केन्द्रमा रहन्थे । तर, विश्वकपमा पनि उनलाई क्वार्टरफाइनलभन्दा माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्ने अवसर नै जुरेन ।

Neyaar-1738667853.jpg
नेइमारको करियरमा सबैभन्दा महत्त्वपूर्ण वर्ष बन्यो– सन् २०१७ । उनी बार्सिलोना छाड्ने निर्णयमा पुगे र पीएसजीमा आबद्ध भए । त्यसबेला नेइमार भित्र्याउन कतारी मालिकको स्वामित्व रहेको पीएसजीले कीर्तिमानी २२२ मिलियन युरो खर्चेको थियो । यो अहिलेसम्म पनि सरुवा बजारमा कुनै खेलाडीका निम्ति खर्चिएको सबैभन्दा ठूलो रकम हो । यसले खेलाडीको मूल्य ह्वात्तै बढाइदिँदा युरोपका अधिकांश क्बलले आर्थिक मन्दीको सामना गर्नुपर्‍यो ।

एक हिसाबले नेइमार पीएसजीमा अनुबन्ध हुँदा सरुवा बजारको स्वाभाविक आर्थिक लेनदेनको बाटो नै भताभुंग बन्यो । कतिपय क्लब नयाँ खेलाडी अनुबन्ध गर्ने नसक्ने स्थितिमा पुगे ।

नेइमारको आगमनपछि पीएसजीले फ्रेन्च लिगमा दबदबा बनाए पनि च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेन, न त आफूले चाहेको बालन डी‘अर नै उनले जित्न सके । नेइमार र पीएसजी दुवैको यो निर्णय व्यर्थ बन्यो । नेइमार आफ्नो क्षमताभन्दा तल्लो स्तरमा प्रदर्शन गरिरहेका थिए । यस अवधिमा चोटले पनि नेइमारलाई समातिरह्यो । च्याम्पियन्स लिगमा कुनै ठूलो प्रतिद्वन्द्वीविरुद्ध खेल्नुअघि नेइमार सधैँ चोटिल रहन्थे । 

Neymar-(1)-1738667660.jpg
इन्जुरीले नै नेइमारको साउदी अरेबियन क्लबसँगको अवधिलाई बर्बाद बनायो । साउदी क्लबका सान्तोसमा फर्किंदा नेइमारले आफ्नो पारिश्रमिक ९९ प्रतिशत कटौती गरेको रिर्पोट सार्वजनिक भएका छन् ।

आशा गरौँ, नेइमारले अब आफ्नो प्राथमिकताहरूको पुनः मूल्यांकन गर्नेछन् । आफूले पैसा, प्राथमिकता वा प्रशंसाका लागि खेलेको होइन । तर, आफ्नो लगावका निम्ति खेलेको बुझ्नेछन् ।

कहिलेकाहीँ अन्तिम विन्दु नै सुरुआतको नयाँ बाटो बन्न पुग्छ । अहिले नेइमार त्यही अवस्थामा छन् । यो एकदमै फरक नेइमार हो– ढल्किँदो उमेरको, कम आशावादी, फुटबलले नराम्ररी घुमाएको, जो आफ्नै पुरानो घरमा फर्किएको छ ।

द गार्जियनमा प्रकाशित स्टोरीका भावानुवाद ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro