site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जनै हराएको बाहुन’को स्टोरी थिममा नेपाली ग्रामीण युवाको गरिबी

काठमाडौं । ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’ 
‘गाउँ नछोडी त सपना पूरा नहुँदोरहिछ साथी’
‘अब तँ कहिले फर्किन्छस् ?’
‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’
‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी ?’ 
‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुन्जेल बुढी नहुनु भन ल ?’ 
हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बुढी नहुनु है ! (भाका हालेर गाउँदै)

आम ग्रामीण नेपाली युवाले भोग्दै आएको समस्या हो यो । सानासाना रहर र सपना पूरा गर्न वृद्ध भइसकेका बुवाआमालाई अनकन्टार गाउँमा एक्लै छोडेर हिँड्नु पर्ने वास्तविकता बोल्ने यो संवाद हो, चलचित्र ‘जनै हराएको बाहुन’को । 

गाउँका दुई साथीमध्ये एकले आफ्नो सपना पूरा गर्न सहर हिँड्ने बेलामा साथीसँग गरेको बिदाइको संवाद हो । 

घर छोड्ने बेलामा आमाको आँखाका आँसु समेत हेर्न नसकेको कारुणिक संवादले आम नेपाली युवा कसरी मनलाई गाँठो पारेर सहर पस्न बाध्य छन् भन्ने प्रष्ट पार्छ । 

चलचित्रका दुई मुख्य पात्रको कारुणिक स्वरमा रहेको यो संवादले देशको अहिलेको यथार्थ कथा बोल्ने पूर्वानुमान लगाउँन सकिन्छ । चलचित्रले इमोसनसहित कथा भन्ने संकेत गरेको छ । 

चलचित्र ‘जनै हराएको बाहुन’को यो थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले नयाँ अफरको घोषणा गरेको छ । थिममा यो चलचित्रका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर रहेको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो चलचित्रको गीत गाउन अवसर दिइने निर्देशक हिमाल न्यौपानेले जानकारी दिएका छन् । उत्कृष्ट स्वर हुनेले यो अवसर पाउनेछ । 

यो चलचित्रको मुख्य भूमिकामा विजय बराल अनुबन्धित भइसकेका छन् । ‘जनै हराएको बाहुन’को असोसियट निर्देशकमा रुपमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । उनको अभिनय पनि रहनेछ । 

‘जनै हराएको बाहुन’लाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । 

चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्ने अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याउने परिवर्तनलाई देखाउने निर्देशक न्यौपानेले बताए ।

चलचित्रको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् । 

नवीन गुरुङको छायांकन रहने चलचित्रको क्रिएटिभ निर्देशकमा सम्राट महर्जन (ज्याक) छन् । भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला छन् । चलचित्रमा संगीत अर्जुन पोखरेलको रहनेछ । 

निर्देशक न्यौपानेले चैतबाट छायांकन सुरु गर्ने जानकारी दिएका छन् । ‘जनै हराएको बाहुन’ २०८२ सालमा रिलिज हुनेछ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्