site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रि अर्डर’को चरण सकिएपछि अब पुस्तक पसलमा प्रवेश गर्दै ‘नेपथ्य’

काठमाडौं । ‘नेपथ्य’ पुस्तक डिजिटल सञ्जालबाट फैलँदै यो सातादेखि विस्तृत पाठक घेरामा प्रवेश गर्ने भएको छ । तीन दशकभन्दा लामो अवधिदेखि नेपथ्य ब्यान्ड सुनिँदै आएको थियो । अब यसलाई पढ्न पनि सकिने भएको हो । ब्यान्डका मियो अमृत गुरुङसँगको लामो संगतमा लेखक गिरीश गिरीले यो पुस्तक तयार पारेका हुन् ।

बजार व्यवस्थापनमा नयाँ प्रयोग थालनी गरिएको यो किताबलाई यसअघि ‘अनलाइन प्रि अर्डर’मार्फत घरघरमै उपलब्ध गराउने चरण सम्पन्न भइसकेको छ ।

Argakhachi Cement Island Ad

“यो पुस्तकको प्रि अर्डरलाई व्यवस्थापन गर्ने जिम्मेवारी हामीले पाएका थियौँ,” थुप्रै डटकमका राजु गोतामेले भने, “आजसम्मै अनलाइन प्रि अर्डरबाट हामीले बेचेको सबैभन्दा धेरै किताबको रेकर्ड यस पुस्तकले राख्न सफल भइसकेको छ ।”

थुप्रै डटकमका अनुसार, उसको वेबसाइट प्रयोग गरेर डिजिटल भुक्तानीमार्फत दुई सातामै एक हजारभन्दा बढी प्रति पुस्तक बिक्री भएको थियो ।

यसरी इन्टरनेटको घेराबाटै पुस्तक हात पार्ने पाठकको प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखिन सुरु भइसकेको छ ।

पुस्तकमा नेपथ्यको जन्म, विभिन्न कालखण्डमा यसको उन्नति र अवनतिदेखि गीतको खोजीमा गरिएका संघर्षको बेलीविस्तार पढ्न सकिन्छ । संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नको जानकारी पनि यसमा समेटिएको छ ।

यसरी अनलाइन बिक्रीको अध्यायसँगै अब आमपाठकको घेरा समात्न देशभित्र र बाहिरका पुस्तक बिक्री केन्द्रहरूमा यो किताबको प्रवेश हुन हुँदै छ । सांगीतिक टोली नेपथ्य र व्यवस्थापन समूह नेपालयको संगम भएको २५ वर्ष अवसर पारेर यो पुस्तकलाई पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्