काठमाडौं । त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल २० रनले पराजित भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
नेपालकी ओपनर सीता रानामगरले सर्वाधिक २८ रन बनाइन् । यस्तै, कविता जोशीले २७ रन बनाउँदा पूजा महतोले १४ बलमा दुई चौका र दुई छक्कासहित २४ रन थपिन् । रूविना क्षेत्रीले ११ रन जोडिन् ।
नेदरल्यान्ड्सकी कारोलिन डे लिंगे र इभा लिन्चले समान दुई विकेट लिए । इरिस ज्विलिङ र फ्यांकी ओभरडाइकले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।
नेदरल्यान्ड्सकी राविन रिकेले सर्वाधिक ५९ रन बनाए । अविजित रहेकी रेकीले ४८ बलमा आठ चौका प्रहार गरिन् ।
हिथर सिगर्सले १९ बलमा एक चौका र एक छक्कासहित २३ रन बनाइन् । ओपनर स्टेरे कालिसले २९ रन थपिन् । इरिस ज्विलिङले १३ बलमा पाँच चौकासहित ३१ रन जोडिन् ।
नेपालकी कविता कुवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिए ।
ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीचको यो पहिलो खेल हो ।
नेपालले अब शनिबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डको सहभागिता छ । प्रतियोगिताका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका निम्ति दर्शकहरूलाई निःशुल्क प्रवेश गराउने जनाएको छ ।