site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्णायक आन्दोलनमा जाने चिकित्सकको तयारी, मन्त्री भन्छन्– अस्थायी निर्णय हो

काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको प्रवेश परीक्षा यही माघ २६ र २७ गतेलाई निर्धारण गरिएको छ । गतवर्षको सिट संख्याका आधारमा हेर्ने हो भने करिब एक हजार ७०० विद्यार्थी चिकित्सक पीजी अध्ययनका लागि कुरिरहेका छन् ।

चिकित्साा शिक्षा आयोगले प्रवेश परीक्षाको तयारी गरिरहेको छ । सिट संख्या निर्धारणका निम्ति १८ वटा निजी मेडिकल कलेजले स्वःमूल्यांकन (सेल्फ अप्राइजल) फारम भरेका छन् । तर, निजी मेडिकल कलेज र आवसीय चिकित्सकको निर्वाह भत्ता विवाद भने अझै टुंगिएको छैन ।

पीजीअन्तर्गतका एमडी, एमएस र एमडीएस कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद हाल चिकित्सक मात्रै नभइ समग्र स्वास्थ्य सेवा क्षेत्रकै पेचिलो विषय बनेको छ ।

Dabur Nepal
NIC Asia

स्नातकोत्तर अध्ययन गर्दै अवासीय (रेजिडेन्ट) चिकित्सकको रूपमा सेवा दिने विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले तोकेको निर्वाह भत्ता नपाउने भएपछि हाल चिकित्सक आन्दोलित छन् । बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सकहरूको चेतावनी छ ।

आयोगका सह–अध्यक्ष समेतको भूमिकामा रहेका शिक्षामन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सोमबारको निर्णयले चिकित्सकको आन्दोलनमा थप आगोमा घ्यु थप्ने काम गरेको छ ।

निर्णयमा निजी कलेजमा पीजी अध्ययनरत अवासीय चिकित्सकलाई पहिलो वर्ष कम्तीमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने उल्लेख छ । यही सिफारिस सम्बद्ध निकायलाई लेखी पठाउने मन्त्रीद्धयको निर्णय छ ।

aawasiya-chikitsab-(4)-1738069829.jpg
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० असोज ३० गते पीजी अध्ययन गर्दै अस्पतालमा आवासीयको रूपमा काम गरिरहेका चिकित्सकलाई आठौँ तहका सरकारी चिकित्सक बराबर निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो ।

यो रकम मासिक ४८ हजार ७३७ रुपैयाँ हुन आउँछ । हाल सरकारी प्रतिष्ठानमा अध्ययनरत अवासीय चिकित्सकले निर्वाह भत्ता स्वरुप यही पारिश्रमिक पाउँदै आएका छन् ।

तर, निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक भने २० हजारभन्दा कम निर्वाह भत्ताको भरमा कार्यरत रहेको बताउँछन् । निजी मेडिकल कलेजले आयोगले तोकेअनुसारको भत्ता दिन नसक्ने भन्दै पटक पटक बार्गेनिङ गरिरहेका छन् ।

आयोगको निर्णय सार्वजनिक भएदेखि नै तोकिएको भत्ता दिनुपरे बरु पीजी नै नपढाउने घुर्की निजीले लगाइरहे । भत्ता विवादले सिट निर्धारण प्रक्रिया नै अघि नबढ्ने देखिएपछि आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिर ९ गते आयोगको बैठकबाट यसको टुंगो लगाउने जिम्मा मन्त्रीद्वयलाई दिएका थिए ।

आयोगको मंसिर ९ कै बैठकले निर्वाह भत्ताबारेको कोलम खाली छोडेर निजी मेडिकल कलेजहरूलाई सेल्फ अप्राइजलफर्म भर्ने बाटो पनि खुला गरेको थियो ।

तर, सरोकारवाला तथा कार्यदलको राय सुझावका आधारमा भन्दै मन्त्रीद्वयले सरकारी अतिन्यून भत्ता सिफारिस गर्ने निर्णय गरेपछि यतिखेर चिकित्सकहरू रुष्ट बनेका छन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र निर्णय नसच्चिए अत्यावश्यकबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दियो ।

शिक्षा र स्वास्थ्यमन्त्रीले सोमबार गरेको निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिकाअनुसार निर्देशिका प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहे विद्यार्थीलाई अध्ययनपश्चात दुई वर्ष सोही शिक्षण संस्थामा कबु्लियत गरी सेवा गर्नुपर्ने पनि उल्लेख छ ।

aawasiya-chikitsab-(2)-1738069828.jpg
यी दुवै निर्णय आफूहरूलाई अस्वीकार्य भएको समितिले जनाएको छ । स्वास्थ्य र शिक्षा दुवै मन्त्रीका तर्फबाट पारिश्रमिकबारे गरिएको उक्त सिफारिसले सम्पूर्ण नेपाली डाक्टरहरूको अपमान भएको समितिको ठहर छ ।

पीजी कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्न र पीजीका आवासीय चिकित्सकको निर्वाह पारिश्रमिक न्यूनतम सरकारी सरह कायम गर्न  उनीहरूको माग छ ।

पीजी कार्यक्रम बोन्डरहित (दुई वर्ष आवद्ध हुनैपर्ने व्यवस्था हुनु नहुने) बनाउन पनि उनीहरूको माग छ ।

सरकारसँग पटक पटक भएको सहमति कार्यान्वन नभएकाले अबको आन्दोलन निर्णायक हुने समितिको भनाइ छ । “हामीले आज आयोगमा शान्तिपूर्ण प्रदर्शन गरेर विज्ञप्ति बुझायौँ, तर २४ घण्टाभित्र निर्णय नसच्चिए देशभरबाट विरोधका कार्यक्रम अघि बढाउँछौँ,” समितिका प्रवक्ता डा. सञ्जय बरालले बाह्रखरीसित भने ।

तर, मन्त्रालय वा आयोगका तर्फबाट प्रस्ताव आए वार्ता र सम्वादका निम्ति ढोका खुला राखेको पनि उनले बताए । समितिको आन्दोलनलाई मंगलबारदेखि नै देशभरका विभिन्न अस्पतालका चिकित्सकहरूले साथ दिन थालिसकेका छन् । मंगलबार जिल्ला अस्पताल पाल्पा, भीम अस्पताल भैरहवा लगायतका अस्पतालका चिकित्सकले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

स्वास्थ्यमन्त्री भन्छन्– अस्थायी निर्णय हो
निर्णय फिर्ताका निम्ति दबाब दिन मंगलबार चिकित्सा शिक्षा आयोग पुगेको समितिले समन्वयका निम्ति आग्रह गरेको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल भने भत्ताबारे हाल गरिएको निर्णय अस्थायी भएको बताउँछन् ।

“यो पछिसम्मका लागि गरिएको निर्णय होइन, पारिश्रमिक निर्धारणका निम्ति आयोग नबन्दासम्मका लागि मात्रै गरिएको हो, हामीले सबै सरोकारवालाको सुझाव लिएका छौँ,” मन्त्री पौडेलले बाह्रखरीसित भने ।

माघ २६ गतेसम्मका लागि सिट निर्धारणको बाटो खुलाउन यस्तो निर्णय गरिएको उनको दाबी छ । यही निर्णयलाई लिएर आन्दोलनमा नउत्रिन पनि उनले चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro