site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीले प्रचण्डतर्फ संकेत गर्दै भने– सक्ने भए मेरो 'छोडपत्र' गराइदिन्थे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध कडा प्रतिवादमा उत्रिएका छन् । सरकार चाँडै ढल्छ र निर्माण प्राकृतिक छैन भन्दै टिप्पणी गरिरहेका नेता प्रचण्डलाई प्रधानमन्त्रीले आक्रोशपूर्ण कटाक्ष गरेका हुन् ।

उनले भ्रमको खेती बन्द गर्न आग्रह गर्दै ०६४ सालमा जस्तो अब जनता नझुक्किने बताए । भक्तपुरको सूर्यविनायक नगरकार्यपालिकाको भवन उद्घाटनमा सोमबार प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई मजाक नबनाउन पनि चेतावनी दिए । “खोक्न पाएको छैन, आईसीयूमा भएको फोटो हालेका छन् । तपाईंले देख्नुभएको छ म कहाँ छु । यस्तो खेती गर्नेलाई केही गर्न सकिँदैन,” ओलीले भने ।

प्रधानमन्त्री ओलीले जातजाति र संस्कृति देशका सौन्दर्य भएको भन्दै त्यसका आधारमा विभाजन रेखा कोर्ने काम पनि बन्द गर्न प्रचण्डलाई सुझाव दिए । “हामी विभिन्न जातजातिमा बाँडिएका छौँ, तर राजनीति भनेको देशको एकताका लागि हुन्छ । जात पहिचान भनेर टुक्राउने राजनीति हुन्छ ?,” प्रश्न गर्दै ओलीले भने, “राजनीति त देशको हुन्छ, शिक्षामा सुधारको हुन्छ, विकासको हुन्छ ।”

उनले प्रचण्डले जातीय विभाजनको काम गरिरहेको भन्दै सक्ने भए उनले आफ्ना दम्पत्तिकै छोडपत्रसम्म गराउने टिप्पणी गरे । “यिनले सक्ने भए त मेरो त छोडपत्र गरिदिथे,” ओलीले भने, “मेरो अन्तरजातीय विवाह हो (श्रीमतीले नसुन्नेगरी भनेकोे) ।” ओलीले यसो भन्दा कार्यक्रमस्थल हाँसोले गुन्जिएको थियो ।

उनले ०६४ कै जस्तो भ्रम छर्ने र जनता भ्रमित हुने अवस्था नरहेको भन्दै विभाजनको राजनीति बन्द गर्न पनि उनले प्रचण्डलाई आग्रह गरे ।

“हिजोकै अवस्थाको झल्को आउँछ होला, देशलाई आतंकको बुटमुनी थिचेर राखेको ! आज त्यो समय छैन,” ओलीले भने, “जातीय, क्षेत्रीय र पहिचानका आधारमा देश विभाजित गर्छु भन्ने सपना नदेख्दा हुन्छ । तपाईं लोकतान्त्रिक व्यवस्थामा आइसक्नुभएको छ । अब पुरानो भाषा छाड्नुस् । भ्रम छर्न छोड्नुस्, सबलाई फुटाउन सकिन्छ भन्ने सपना देख्न छोड्नुस् । मोर्चा बनाउन छोड्नुन् ।”

उनले सबै जोड्दा पनि प्रतिपक्ष बलियो नभएको भन्दै देशको हितका लागि मोर्चा नबनाई सुझाव दिन आग्रह गरे । मोर्चा र विभाजनका राजनीतिले भ्रम स्थापित हुने अवस्था नरहेको उनले दोहोर्‍याए ।

“अचम्मको कुरा ०६४ को जस्तै भोट दिनुस् के के गर्छु गर्छु रे ! भ्रम नछर्नुस्,” ओलीले भने, “त्यसबेला लडाकु शिविर थिए । उनका मान्छे भोट हाल्ने ठाउँमै पुगेर हेर्थे, दुरबिनले देख्छ भनेर भ्रम छर्थे जनतालाई धम्क्याउथे आज त्यो जमाना छैन ।”

उनले अहिले झगडा गरेर नभइ मिलेर देश बनाउने समय भएको बताए । माओवादीले आरोपित गर्ने तर आरोप गलत सावित भएपछि पनि माफी नमाग्ने कृतघ्नता देखिएको टिप्पणी गरे ।

“आज बाँझेर होइन, झगडा गरेर होइन, अर्कोमाथि हिलो छ्यापेर होइन, मिलेर देश बनाउन प्रतिस्पर्धा गर्नुछ,” ओलीले भने, “पोहोर–परार एकजनाले पशुपतिमा सुन चढाउँछु भनेर पितल चढाए छानबिन गरी पाउँ भने । छानबिन भयो, पितल होइन सुनै र जति भनेको थियो त्यति नै चढाएको रहेछ भन्ने ठहर भयो । तिनलाई लाज हुँदैन, माफी माग्नु पर्दैन,” ओलीले भने ।

उनले लाच पचेकाहरूले स्वीस बैंकको खातामा पैसा र कम्बोडियामा लगानी भनेर झुटको प्रचार गर्न नछोडेको पनि आरोप लगाए । उनले दुर्गा प्रसाईंलाई कम्बोडियामा लगानी रहेको भनेर पनि प्रचण्डले नै बोल्न लगाएको संकेत गरे ।

“स्वीस बैंकका लगानी गरेका भौचर भन्दै निकाल्छन्, हुँदा हुँदा कम्बोडियामा थोरैतिनो होर ३२ अर्ब लगानी छ भनिदिन्छन्,” ओलीले भने, “चिर्कटो बनाएर अर्कालाई बोल्न लगाउने, अनि प्रहरीले पक्रिएर सोध्दा होइन, अर्कैले बोल भनेको भन्छ ।”

उनले यस्ता भ्रमले राजनीति नहुने भन्दै स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गरे । उनले संसद्बाट कानुन बन्दासम्म परिणाम देखाउने गरी अध्यादेश जारी गरेको भन्दै अध्यादेशका विषयमा पनि भ्रम नछर्न आग्रह गरे ।

“हामीले धेरै वटा ऐन संशोधन गर्नेगरी अध्यादेश ल्याएका छौँ । संसद्को पहिलो बैठकमा त्यसलाई पेस गर्छौँ र ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर कानुन बनाउँछौँ,” ओलीले भने, “संसद्लाई सरकारले काम दिएन भन्ने होइन, सरकारले संसद्लाई नियमित काम गर्न अब प्रोत्साहित गर्नेछ ।”

उनले भ्रम र गलत प्रचारको राजनीति स्थिर नहुने भन्दै देशको हितमा र नागरिक जोड्ने तथा समृद्धि हासिल गर्ने राजनीतिमा जोडिन आग्रह गरे ।

“यस्ता कुरा गरेर हुँदैन । स्वस्थ प्रतिस्पर्धा गरौँ । देश बनाउने विचारमा प्रतिस्पर्धा गरौँ,” ओलीले भने, “उद्योग खोल्ने, बाह्य लगानी आकर्षित, गर्ने काम गरौँ ।” उनले अमेरिकी राष्ट्रपतिको वैदेशिक अनुदान रोक्ने एक निर्णयले प्रभावित हुने अवस्था देखिएको भन्दै भविष्यमा यस्तो अवस्था नआउन देशको अवस्था सुधार्नु पर्ने बताए । त्यसका लागि विपक्षी रचनात्मक हुनुपर्ने उनको दाबी थियो ।

“अमेरिकी राष्ट्रपतिले वैदेशिक अनुदान रोक्ने घोषणापछि अन्योल सृजना भएको छ । कुन चाहिँ रोकिएको हो, कुन चाहिँ रोकिएको होइन । ९० दिन त समय लिन्छौँ भनेको छ । त्यतिन्जेल त अन्योल भयो,” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण अरुको भर पारेर होइन, आफ्नै खुट्टामा उभिनेबारे सोच्नुछ । हाम्रा गाईले सबैभन्दा धेरै दूध दिउन्, हाम्रो खसी सबैभन्दा ठूला होउन्, हाम्रा साग कलकलाउँदा होउन, हाम्रा धान सबैभन्दा धेरै फल्ने होउन्, हाम्रा मकै सबैभन्दा बढी कसरी फलाउने यसमा प्रतिस्पर्धा गरौँ ।”

ओलीले युवाहरूलाई आईटी सेक्टरमा लाग्न र भ्रमकै खेती गर्नेहरूको प्रभावमा पर्ने नभएर सत्य पहिल्याउने क्षमता विकास गर्न सुझाव दिए । “म युवाहरूलाई आईटी सेक्टरमा लाग्न आग्रह गर्छु,” ओलीले भने, “नागरिक एपमा कतिको जोडिनुभएको छ । म भन्न चाहन्छु सबैजना यसमा जोडिऔँ । घरमै बसेर सेवा लिने अभ्यासमा जुटौँ ।”

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro