site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
झिल्केले चटकबाजी गर्छ, चकलेट देखाउनेहरूलाई छोडेर आयौँ : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलियो सरकार भएर पनि सुबिस्ताको अवस्थामा नरहेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगर कार्यपालिकाको भवन उद्घाटनका क्रममा सोमबार उनले देशलाई तन्नम अवस्थामा पुर्‍याइएको भन्दै त्यसबाट बाहिर निकाल्न रातदिन मिहिनेत गर्नुपर्ने परिस्थिति रहेको स्पष्ट पारे ।

देशलाई अप्ठ्यारोमा राखेर आफू मोजमस्ती गर्नेहरूका कारण समस्या आएपछि त्यसबाट मुलुकलाई बाहिर निकालेर अग्रगमनको यात्रा गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सरकार बनाइएको उनले जिकिर गरे । “दुई ठूला पार्टीले संकल्प गरेका छन्– अब देशलाई यसप्रकारको खेलबाट गुज्रन दिन सकिँदैन । अब देशलाई स्थायित्व, स्थिरता दिएर बलियो, विकसित देश बनाउने अभियानमा लाग्नैपर्छ,” उनले भने, “यति बेला हामी कुनै सुबिस्ताको क्षणमा छैनौँ, आराम गर्ने अवस्थामा छैनौँ ।”

उनले यसै पनि आफ्नो आराम गर्ने बानी नभएको बताए । एक दिन हाँच्छ्युँ गरेको खबर बाहिरिँदा आईर्सीयूको फोटो हाल्ने अभ्यास भइरहेको उनले उल्लेख गरे ।

“हुन त मेरो व्यक्तिगत तवरमा पनि आराम गर्ने बानी छैन,” प्रधानमन्त्री ओलीले भने, “खोक्न पाएको छैन, आईसीयूमा भएको फोटो हालेका छन् । तपाईंले देख्नुभएको छ, म कहाँ छु । यस्तो खेती गर्नेलाई केही गर्न सकिँदैन ।”

उनले एन्टिबायोटिकले केही गलाएको स्वीकार गर्दै अब विस्तारै आफू बलियो भएर अघि बढ्ने बताए ।

उनले विगतका र वर्तमान सरकारमा आधारभूत भिन्नता रहेको भन्दै यसलाई निरन्तरताका रूपमा नहेर्न आग्रह गरे । “तपाईंहरू ढुक्क भए किन हुन्छ भने, अस्ति तीन वर्ष पनि सरकार थियो, अबको सरकार पनि तीन वर्ष जान्छ, के फरक पर्छ, उस्तै त हो, होइन,” उनले भने, “अस्तिको सरकारले देशलाई आर्थिक रूपमा रसातलमा पुर्‍यायो । तिर्नुपर्ने ठाउँ सप्पै बाँकी, आउनुपर्ने ठाउँ कतै छैन ।”

उनले हाल दुई प्रतिस्पर्धी पार्टी किन मिलेर सरकारमा जानुपर्‍यो भन्ने प्रश्नको जवाफ त्यसैमा निहित रहेको बताए । “यसकारण कि देश साँच्चिकै अप्ठ्यारोमा पर्‍यो । देशै रहन्छ कि रहँदैन, प्रणाली रहन्छ कि रहँदैन यस्तो खालको स्थितिमा देश पुगिसक्यो,” उनले भने, “अनेकथरी तत्त्वहरूको खेलले देश त तमासाजस्तो भयो, एकातिरबाट फुत्त निस्कने झिल्केले चटकबाजी देखाउँछ, केके भन्छ, मिडियाबाजी गर्छ, उफ्रिन्छ, हो न हो पार्छ, अर्कातर्फ निस्कने झिल्केले त्यसै गर्छ । देश बनाउनु कुनै ख्यालठट्टाको कुरा हो र, मजाकको विषय हो र ?”

उनले देशलाई अप्ठ्यारोबाट मुक्त गर्न दुई मुख्य प्रतिस्पर्धी पार्टी नै एक ठाउँमा आउनुपरेको जिकिर गरे । “हामी देशलाई अप्ठ्यारोबाट मुक्त गर्ने, लोकतन्त्रलाई अप्ठ्यारोबाट मुक्त गर्दै लोकतन्त्रलाई सुदृढ गर्ने उद्देश्यमा एकमत भएका छौँ,” उनले भने ।

उनले सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने कुण्ठाबाट भ्रमित नहुन सबैलाई आग्रह गरे । प्रधानमन्त्रीको फोटो झुन्ड्याउन नभएर मुलुकको अवस्था सुधार्न वर्तमान सरकार बनाइएको भन्दै उनले पदका निम्ति देशलाई बन्धक बनाउने सपना नदेख्न पनि विपक्षीलाई चुनौती दिए ।

“म सबैलाई सुन्ने गरी भन्न चाहन्छु– आजै सरकार ढल्छ, भरे नै ढल्छ, भोलि बिहानै सरकार ढल्या हुन्छ भन्ने, यो छाती पिटाइ, यो कपाल लुछाइ (आफ्नै है), जुन चलिरहेको छ, यो बिलौनाको कुनै अर्थ छैन,” प्रधानमन्त्री ओलीले भने ।

उनले चकलेट देखाएर खानेहरूका प्रस्ताव छोडेर नयाँ प्रक्रिया थालिएको बताए । प्रधानमन्त्रीको ललिपप देखाउन बन्द गर्न उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।

“चकलेट देखाउनेहरूलाई छोडेर आएका हौँ । शेरबहादुर (देउवा)जीले पनि प्रधानमन्त्रीको प्रस्ताव छोडेर आउनुभएको हो । मैले पनि छोडेर नै आएको हो । त्यस्तालाई साथ लिएर प्रधानमन्त्री लिएर हुन्छ ?,” उनले भने, “कांग्रेसले प्रस्ताव गरेर म प्रधानमन्त्री भएको हुँ, भोलि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ । कांग्रेसले अहिले पुरापुर सहयोग गरेको छ, भोलि एमालेले कांग्रेसलाई पुरापुर सहयोग गर्छ ।”

उनले कमजोरलाई क्विन्टलको भारी बोकाउँदा पार नलाग्ने टिप्पणी गरे । ३२ सिट (माओवादी केन्द्र) भएकाले नसक्ने भएर नै आफूहरूले मिलेर देशको जिम्मेवारी लिएको उनले बताए ।

“मलाई एक क्विन्टलको भारी बोकाइदिनुभयो भने मेरो अन्त्य त्यहीँ हुन्छ, कसैलाई त्यो सजिलो हुन सक्ला,” उनले भने, “त्यसकारण बोक्न सक्ने बलियालाई भारी बोकाउनुपर्छ । यो देशलाई सही बाटोमा अघि बढाउनका लागि बलिया कांग्रेस–एमाले एकठाउँ भएका हुन् ।” 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro