site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारत रेल दुर्घटना : श्रीमती र छोरालाई अछामबाट बोलाएका थिए नन्दरामले

काठमाडौं । तीन छोरा ठूला भइसकेका थिए । घरमा गरिबी थियो । जेठो छोराको पढाइ राम्रो थियो । उनी अहिले पनि सुर्खेतमा पढ्दै छन् । माइला छोरा कामको सिलसिलामा भारतमै छन् । कान्छा छोरा गाउँमै कक्षा ५ मा पढ्दै थिए । श्रीमती पनि गाउँमै थिइन् ।

तर, गाउँमा सबैले देवी देउता लागे भन्थे । आफ्नै घरमा बस्दा देउता रिसाएको ठान्थे । उनीहरू आफैँ पनि बिसन्चोमा मान्थे । त्यसैले आमा र छोरा आफ्नै घरमा सुत्दैन थिए । साँझतिर खाना खान्थे, सुत्न अरूकहाँ जान्थे । फेरि बिहान खाना खान घरमा आउँथे । खाना खाएर छोरा विद्यालय जान्थे । आमा यताउता गरेर दिन काट्थिन् । यस्तो गर्न थालेको पाँच–सात महिना भइसकेको थियो ।

यही अवस्था देखेर भारतको महाराष्ट्रस्थित मुम्बईमा रहेका नन्दराम विकले श्रीमती मैसरा र कान्छा छोरा हिक्मतलाई आफूसँगै राख्न बोलाए । उनीहरूको नेपाल घर अछामको ‍पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा पर्छ ।

आमा र छोरा गएको सोमबार भारत जान घरबाट हिँडेका थिए । उनीहरूलाई लिन नेपालगन्जसम्म भारतबाट आफैँ आएका थिए, नन्दराम । छोरा र श्रीमतीलाई लिएर उनी भारततर्फ लागे । भारतको लखनउबाट मंगलबार बिहान ९ बजे उनीहरू मुम्बई जाने पुष्पक एक्सप्रेस चढे ।

तर, महाराष्ट्रको जलगाउँ पुगेका बेला बुधबार अपराह्न सवा ५ बजेतिर कसैले उनीहरू चढेको रेलको एक डिब्बामा आगलागी भएको हल्ला फैलायो । त्यसपछि आत्तिएका केही यात्रुले ‘अलार्म चेन’ ताने । उनीहरू चढेको रेल रोक्कियो । हतारहतार केही यात्रुले रेलबाट हाम फाले । त्यही बेला अर्को दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले तीमध्ये केही यात्रुलाई किच्यो ।

किचिएर ज्यान गुमाउने १३ जनामध्ये तिनै नन्दराम, श्रीमती मैसरा र १२ वर्षीय छोरा हिक्मत पनि थिए । अर्थात्, एक परिवारका तीन सदस्यले एकै ठाउँमा ज्यान गुमाए ।

नन्दरामको घरभन्दा माथिल्लोपट्टि घर भएका प्रेम विक नगरपालिकामा कार्यालय सहयोगीका रूपमा काम गर्छन् । नन्दरामले उनकै बैंक खातामा घरखर्च पठाइदिन्थे । नन्दराम, उनकी श्रीमती र छोरा हिक्मत नरहेको खबरले अहिले गाउँ नै शोकमा रहेको प्रेम बताउँछन् ।

"मेरो मामा नाता पर्नुहुन्छ । उहाँहरूको निधनले निकै दु:खी बनाएको छ । अन्तिमपटक मेरो डेढ–दुई महिना उहाँसँग कुरा भएको थियो । श्रीमती र छोरालाई चाहिने घर खर्च मेरैमा पठाइदिनुहुन्थयो," प्रेमले बाह्रखरीसँगको टेलिफोन कुराकानीमा भने ।

छोरा भेट्न गएकी आमा

नन्दरामको परिवारसँगै अछामको कमलबजार नगरपालिका–४ स्थित चाल्साकी अन्दाजी ६५–७० वर्षीया जौकला कामी पनि थिइन् । उनीहरू घरबाटै सँगै हिँडेका थिए । उनलाई भारतको मुम्बई‍मा रहेका छोरा–बुहारीले बोलाएका थिए । उनीहरूले आमालाई लिन नेपालगन्जसम्म छोरालाई पठाएका थिए ।

उनी पनि प्रेमको आमा नाता पर्छिन् । उनका अनुसार, मुम्बईमा रहेका छोराले आमाको उपचारमा लागि बोलाएका थिए ।

"उहाँ (जौकला कामी) त झन् मेरो नजिकको नाता पर्नुहुन्छ । उहाँको उमेर त्यही ६५–७० वर्ष भयो होला । वृद्धभत्ता खानुहुन्थ्यो । उहाँ बेलाबेला बिरामी भइरहनुहुन्थ्यो । छोरासँग भेट नभएको पनि धेरै भएको थियो । त्यसैले उताबाट छोरा बुहारीले पनि बोलाए । अब बाटोमै त्यस्तो भयो," प्रेमले भने ।

प्रेमका अनुसार, अछामबाट उनीहरू ९ जनाको समूह बनाएर गएका थिए । तर, दुर्घटना हुँदा अरू पाँच जनाले रेलबाट हाम फालेनन्, ज्यान जोगियो ।

को को परे नेपाली ?

ज्यान गुमाउने नन्दराम, मैसरा, हिक्मत र जौकलाका अलावा कलु भण्डारी पनि अछामकै हुन् । उनको अछाम घर मंगलसेन नगरपालिका–६ मा पर्छ । पछिल्लो समय कैलाली बस्दै आएकी छन् ।

यस्तै, बाँके नरैनापुरका ४० वर्षीय लछिराम पासीले पनि सोही दुर्घटनामा ज्यान गुमाएका छन् । उनी रोजगारीको सिलसिलामा मुम्बई गइरहेको बीबीसी ले जनाएको छ ।

अर्का मृतक राधेश्याम भाइ पनि नेपालकै हुन् । उनको नेपाल ठेगाना कोसी प्रदेश रहेको हुन सक्ने बुझिए पनि पुष्टि भएको छैन । 

के भन्छन् सरकारी निकाय ?
भारतका लागि नेपाली राजदूत शंकर शर्माले सामाजिक सञ्जाल एक्समा बिहीबार दिउँसो सवा २ बजेसम्म मृतकमध्ये चार नेपाली रहेको र दुई जना घाइते भएको बताएका छन् । 

अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले आफूहरूले विवरण संकलन गरिरहेको जानकारी दिए । बिहीबार साँझसम्म दुर्घटनामा अछामकै पाँच जनाको ज्यान गएको प्रारम्भिक विवरण संकलन गरेको उनको भनाइ छ ।

"अहिलेमम्म अछामका पाँच जना दुर्घटनामा परेको भन्ने प्रारम्भिक जानकारी पाएका छौँ, आधिकारिक जानकारी आइसकेको छैन । विवरण संकलन गर्दै छौँ," लम्सालले बाह्रखरीसँग भने ।

अहिले के हुँदै छ ?
प्रवासी नेपाली संघ भारत महाराष्ट्र पश्चिम मुम्बई नगर समितिका अध्यक्ष मनिषकुमार भूमिका अनुसार, भारतको केन्द्रीय सरकारले मृतकको परिवारलाई एक लाख पचास हजार रुपैयाँ दिने भएको छ । तत्काल ५० हजार रुपैयाँ नगद र बाँकी एक लाख रुपैयाँ बैंक खातामा हालिनेछ ।

शवलाई घरसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराइनेछ । नन्दरामसहित परिवारको शव भारतको पुनेमा अन्तिम संस्कार गरिनेछ । जौकलाको शव अछाम नै लगिने उनले बाह्रखरीलाई बताए ।

भारतीय सञ्चारमाध्यका अनुसार, बिहीबार साँझसम्म १३ जनाको मृत्यु पुष्टि एको छ । रेल दुर्घटनाबारे भारतको द रेलवे प्रोटेक्स फोर्स र रेलवे प्रहरीले छानबिन थालेका छन् । रेलवे प्रहरीका जनसम्पर्क प्रमुख स्वप्निले दुर्घटनाको गहिरो छानबिन थालिएको बताएका छन् । "यात्रुहरूले अलार्म चेन किन ताने भन्ने विषयमा अहिले हाम्रो छानबिन केन्द्रित छ," उनले भनेका छन् ।

रेलवे मन्त्रालयले घटनाको छानबिन गर्न कमिस्नर अफ रेलवे सेफ्टीलाई निर्देशन दिएको छ । रेलवे मन्त्रालयका अधिकारीहरूका अनुसार, अफवाहकै कारण दुर्घटनाको स्थिति सिर्जना भएको हो । "अफवाह फैलाउने स्रोतको खोजी गरिरहेका छौँ । अनि, यात्रुहरूले किन हाम फाले भन्ने विषयमा छानबिन गरिरहेका छौँ," मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro