धरान (सुनसरी) । साथीमाथि खुकुरी प्रहार गरेको आरोपमा सुनसरीमा पाँचजना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो ।
उक्त आरोपमा पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ छन् । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो ।
राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । राईमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेको पाँचैजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । रासस