काठमाडौं । नेपाली चलचित्रको बक्सअफिसमा यो वर्ष कात्तिकसम्म गजबको ग्रसकलेक्सन देखियो । सात महिनामा एक अर्ब रुपैयाँभन्दा माथि ग्रसकलेक्सन भयो । केही चलचित्रले ‘रेकर्ड ब्रेकिङ’ कलेक्सन गरे ।
‘पूर्ण बहादुरको सारङ्गी’ले मात्र करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गर्यो । यो वर्ष नेपाली चलचित्र उद्योगमा वर्ष दिन नपुग्दै सय करोडभन्दा माथिको बक्सअफिस कलेक्सन भयो ।
कात्तिकयताका चलचित्रको ग्रसकलेक्सन भने निराशाजनक छ । ‘बम बहादुर’ले करिब नौ लाख रुपैयाँ ग्रसकलेक्सन गर्यो । ‘अग्निदहन’ले ६ लाख रुपैयाँ मात्र कलेक्सन गर्यो । यी चलचित्र निर्माताका हातमा क्रमशः तीन लाख र दुई लाखको हाराहारीमा मात्र रकम पर्यो ।
अघिल्लो शुक्रबार रिलिज भएको चलचित्र ‘कार्साङ’को पब्लिसिटीमा मोटो रकम खर्च गरिएको थियो । स्टारकास्ट पनि थियो । तर, यसले सन्तोषजनक व्यापार गर्न सकेन ।
‘कार्साङ’को प्रचारप्रसारमा निर्माण पक्षले करिब २५ लाख रुपैयाँ खर्च गरेको थियो । तर, त्यसको उत्साहजनक प्रभाव हलमा देखिएन ।
हलमा सिनेमा कसरी चल्छन् भन्ने सर्वमान्य सिद्धान्त नभएको निर्माता रामकृष्ण पोखरेल बताउँछन् । उनले गत वर्ष निर्माण गरेको चलचित्र ‘द रेड सुडकेस’ले राम्रो समीक्षा पाए पनि व्यापारिक रूपमा सफल भएन । राम्रो समीक्षा पाउने, हेर्ने दर्शकले पनि मन पराउने तर व्यापारिक रूपमा सफल नभएपछि उनी मनोरञ्जनात्मक चलचित्र मात्र चलिरहेको निष्कर्षमा पुगेका छन् ।
दर्शकको अपेक्षा के छ भन्नेले नै चलचित्र चल्ने/नचल्ने निर्धारण गर्ने उनको भनाइ छ । “सायद दर्शकमा केका लागि चलचित्र हेर्ने भन्ने हुन्छ । चलचित्र चल्ने र नचल्ने यही कुराले निर्धारण गर्छ भन्ने लाग्छ,” रामकृष्ण भन्छन्, “हामी चलचित्र मनोरञ्जन र रमाइलोका लागि मात्रै हेर्न जान्छौँ । त्यसैले जुन रमाइलो छ र मनोरञ्जन दिन्छ, त्यो चलिरहेको छ ।”
रमाइलो गराउने पक्ष नभएको चलचित्र नचलेको उनी बताउँछन् । ‘पूर्ण बहादुरको सारङ्गी’ पनि रमाइलो सिनेमा भएको उनको तर्क छ । रमाइलो भनेको कमेडी मात्र नभएको उनी सुनाउँछन् ।
“चलचित्रमा इन्टरटेनिङ फ्याक्टर पनि विभिन्न प्रकारको हुन्छ । डान्स, कमेडी मात्रै रमाइलो होइन,” रामकृष्ण भन्छन्, “यो (पूर्ण बहादुरको सारङ्गी) रमाइलोका लागि नै बनाइएको चलचित्र हो ।”
चलचित्र चल्नका निम्ति राम्रो हुनु पहिलो सर्त भएको उनी बताउँछन् । “राम्रो भएपछि त्यसको पब्लिसिटी पनि त्यस्तै हुनुपर्छ । पूर्ण बहादुरको सारङ्गी पनि पहिलो र दोस्रो दिन राम्रो चलेको थिएन भन्ने छ,” उनी भन्छन्, “उनीहरूले पब्लिसिटीमा नयाँ आइडिया लगाए, जुन आइडियाले काम गर्यो ।”
बजारमा जे विषयले प्रभाव पार्छ, त्यसैलाई पब्लिसिटी गरेपछि ‘पूर्ण बहादुरको सारङ्गी’ चलेको उनको बुझाइ छ । “सिनेमा राम्रो बन्नुपर्छ । त्यसमा इन्टरटेनिङ फ्याक्टर पनि हुनुपर्छ,” उनी भन्छन्, “यी दुई पक्ष भएपछि, त्यहीअनुसारको मार्केटिङ भएपछि व्यावसायिक रूपमा चलचित्र सफल हुने रहेछ ।”
कस्तो चलचित्र चल्छ र चल्दैन भनेर भन्न नसकिने वितरक रोहित कट्टेल बताउँछन् । राम्रो भनिएका र स्टारकास्ट भएका सिनेमा पनि नचल्ने र कतिपय ठिकठाकै पनि चलिरहेकाले कस्ता चलचित्र चल्छन् भन्न नसकिने उनको भनाइ छ ।
“समीक्षक र दर्शकले भयंकर राम्रा भनेका चलचित्र पनि व्यापारिक रूपमा सफल भइरहेका छैनन् । कति झुर भनिएका चलचित्र चलिरहेका छन्,” रोहित भन्छन्, “सामान्यतया कमर्सियल चलचित्र नै चल्ने हो । तर, कमर्सियल चलचित्र पनि सबै चलेका छैनन् ।”
कुन चलचित्र चल्छ र चल्दैन भनेर अनुमान लगाउनै कठिन हुने उनको अनुभव छ । “कति चलचित्र गीत र ट्रेलर राम्रो भएकै आधारमा पनि चलेका छन् । ट्रेलर र गीत हिट भएर सिनेमा झुर भए पनि चलेका छन्,” वितरक रोहित अगाडि थप्छन्, “तर, कति चलचित्र पूरै राम्रो हुँदा पनि चलेका छैनन् ।”
स्टारकास्ट भएका र हाइप राम्रो बनाएका चलचित्र पनि व्यापारिक रूपमा असफल भइरहेको उनको भनाइ छ । उनी भन्छन्, “कुन सिनेमा चल्छ, कुन चल्दैन भन्नै सकिँदैन त्यसैले चलचित्रको बिजनेस जुवाको बिजनेस हो ।”
चलचित्र चल्न कथा, मेकिङ राम्रो हुनुपर्छ । तर, सबै राम्रा चलचित्र नचलेको उनको भनाइ छ । “चलचित्र चल्न सबै पक्ष बलियो हुनुपर्छ । चलचित्र राम्रो हुनुपर्छ । स्टारकास्ट पनि हुनुपर्छ,” रोहित अगाडि थप्छन्, “यति भएका चलचित्र चल्नलाई पब्लिसिटी पनि बलियो हुनुपर्छ । तर, यति हुँदैमा पनि चलचित्र व्यापारिक रूपमा सफल हुन्छ भन्ने छैन ।”
निर्देशक तथा कलाकार दीपाश्री निरौला सिनेमा चल्न सबैभन्दा पहिला मन छुने कथा हुनुपर्ने बताउँछिन् । सिनेमाले दर्शकलाई बाँधेर राख्न सक्नुपर्नेमा उनी जोड दिन्छिन् ।
“चलचित्र चल्न त्यसमा दर्शकले आफ्नोपन भेट्नुपर्छ । माटोको कथा हुनुपर्छ । अहिले हातहातमा ग्याजेट छ, वर्ल्ड सिनेमा हेर्छन् भनिन्छ,” दीपाश्री भन्छिन्, “तर, हलमा दर्शकले हेर्ने हाम्रै कथा हो ।”
मनोरञ्जनसँगै चलचित्रमा म्यासेज पनि हुनुपर्ने उनको धारणा छ । “फेन्टासी सिनेमा मन पराइन्छ भने पनि हलबाट निस्किएर घर जाँदा दिमागमा लिएर जाने केही हुँदैन । चलचित्रमा आफ्नै समाज, परिवेशको कथा हुनुपर्छ । त्यस्तो कथामा मनोरञ्जनसँगै केही सन्देश पनि हुनुपर्छ,” कसरी सिनेमा चल्छ भन्नेमा उनी भन्छिन्, “दर्शकको उमेर र समयानुसार पनि सिनेमा चल्छ भनिन्छ । तर, चलचित्र जुन समयको भए पनि र जुन उमेर समूहलाई लक्षित भए पनि हलबाट घर फर्किंदा दिमागमा लिएर जाने सन्देश चाहिन्छ ।”
चलचित्रको व्यापार एक हिसाबले जुवाजस्तै भएको दीपाश्री बताउँछिन् । ठूलो लगानी र मिहिनेत तर व्यापारिक रूपमा सफल हुने ग्यारेन्टी नहुने उनी प्रस्ट पार्छिन् ।
“एक हिसाबले भन्ने हो भने चलचित्रको बिजनेस जुवाजस्तै हो । फाइदा हुन्छ वा हुँदैन भने निश्चित कति पनि हुँदैन । लक पनि हो,” दीपाश्री अगाडि थप्छिन्, “हावाहुरी चले पनि सिनेमा चल्दैन । पानी परे पनि चल्दैन । चर्को गर्मी भए पनि चल्दैन । त्यसैले जुवाजस्तै हो र लक पनि हो ।”
प्रेमी–प्रेमिकालाई भनेर बनाएको गीत ‘छक्का पञ्जा–५’ को ‘ब्रेकअप सङ’ बालबालिकाले मन पराएको उनी सुनाउँछिन् । उनी भन्छिन्, “यो लक पनि हो । यसले हाम्रो चलचित्रको हाइप बढाउन सहयोग गरेको थियो ।”
नेपालमा तीन पुस्तालाई तान्न सक्ने चलचित्रले मात्र ठूलो आँकडामा ग्रसकलेक्सन गर्ने उनको निष्कर्ष छ । एउटै चलचित्रले सबै समूहका दर्शकलाई तान्न सक्नुपर्ने उनी बताउँछिन् ।
“नेपालमा तीनवटै पुस्तालाई समेट्ने चलचित्र नबनाएसम्म व्यापारिक रूपमा ठूलो सफलता पाउन सकिँदैन । सबै समूहका दर्शकलाई छुने खालको चलचित्र मात्रै चल्छन्,” उनी अगाडि थप्छिन्, “पारिवारिक सिनेमा चाहिन्छ । एउटै विषयले सबै उमेर समूहका दर्शकलाई समेट्नुपर्छ ।”
रिपिट भ्यालु भएको चलचित्र मात्र लामो समयसम्म चल्ने उनको अनुभव छ । तर, एउटै विषय उठाएर तीन पुस्ताका दर्शकलाई होल्ड गर्न सक्नु र रिपिट भ्यालु भएका चलचित्र बनाउनु नै ठूलो चुनौती रहेको उनको भनाइ छ ।
पारिवारिक र बौद्धिक वर्ग दुवैलाई चलचित्रले समेट्नुपर्ने दीपाश्रीको अनुभव छ । उनी आफ्नै चलचित्र ‘छक्का पञ्जा–५’ को उदाहरण दिन्छिन्, “यो चलचित्र धेरैले बौद्धिक भयो भन्नुभयो । तपाईंहरूको चलचित्रले सबैलाई समेट्नुपर्छ भन्ने प्रतिक्रिया धेरै आयो ।”
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल सबैभन्दा पहिला सिनेमा सबैले बुझ्ने खालको सरल हुनुपर्ने बताउँछन् । “चलचित्र चल्न पहिलो सर्त त सबैले बुझ्ने खालको सरल हुनुपर्छ । धेरै ट्विस्ट एन्ड टर्न्ड भएर बुझ्नै कठिन हुने चलचित्र पनि चल्न कठिन हुन्छ,” उनी अगाडि थप्छन्, “चलचित्र आफ्नै माटोको कथा हुनुपर्छ । आफैँले देखेको, भोगेको कथा हुनुपर्छ ।”
चलचित्र हेर्दै गर्दा दर्शकले आफ्नै कथा हेरेको अनुभूत गर्नुपर्ने उनको भनाइ छ । “चलचित्रमा दर्शक होल्ड हुने इमोसन र एट्याचमेन्टले हो । त्यसैले लभस्टोरी होस् वा एक्सन – त्यसमा इमोसन हुनुपर्छ,” कस्तो सिनेमा चल्छ, कसरी चल्छ भन्ने प्रश्नमा उनी प्रस्ट पार्छन्, “प्रोटागोनिस्ट होस् वा प्रोटागोनिस्ट होस्, रिभेन्ज लिँदा पनि दर्शक त्यसमा इमोसनल हुनुपर्छ ।”
आफ्नै सेरोफेरोका विषय र कथाले मात्र दर्शकको मन छुने उनी प्रस्ट पार्छन् ।