
काठमाडौं । रुसले राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने भनिएको शिखर वार्तालाई कम महत्व दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्य गर्न दुई नेताहरूबीच भेटघाट आवश्यक रहेको आह्वान दोहोर्याएका छन् । यो द्विपक्षीय भेटको प्रयास अमेरिकी राष्ट्रपतिले गत साता अलास्कामा पुटिनसँगको भेट र सोमबार ह्वाइट हाउसमा सात युरोपेली नेता र जेलेन्स्कीलाई स्वागत गरेपछि भएको हो ।
ट्रम्पले यो द्वन्द्व समाधान गर्न कठिन भएको स्वीकार गर्दै रुसी राष्ट्रपति शान्ति चाहँदैनन् कि भन्ने सम्भावना रहेको बताए । “हामीले आगामी केही हप्तामा राष्ट्रपति पुटिनबारे थाहा पाउनेछौँ,” ट्रम्पले मंगलबार भने, “उनले सम्झौता गर्न नचाहने पनि सम्भावना छ । यदि त्यस्तो भए पुटिनले कठिन परिस्थिति सामना गर्नुपर्नेछ ।”
रुसी राष्ट्रपति पुटिनले सोमबार ट्रम्पलाई युक्रेनसँग प्रत्यक्ष वार्ताका लागि खुला रहेको बताएका थिए । तर, भोलिपल्ट विदेशमन्त्री सर्गेई लावरोभले त्यो अस्पष्ट प्रतिबद्धतालाई अझै कमजोर बनाए । उनले कुनै पनि भेटघाट विस्तारै विशेषज्ञ तहबाट सुरु गरी सबै आवश्यक चरणहरू पूरा गरेर तयार गर्नुपर्ने बताएका थिए ।
रुसका संयुक्त राष्ट्रसंघका उपप्रतिनिधि दिमित्री पोल्यान्स्कीले बीबीसीलाई भने, “कसैले पनि प्रत्यक्ष वार्ताको अवसरलाई अस्वीकार गरेको छैन । तर, यो भेट केवल भेटको लागि मात्र हुनुहुँदैन ।”
ट्रम्पले अगस्टको बिदा रद्द गरे, रूस–युक्रेनबीच शान्ति स्थापनाको प्रयास तीव्र हुने
अमेरिकी राष्ट्रपति ट्रम्पले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न चलिरहेको वार्तालाई तीव्रता दिने उद्देश्यले उत्तरी न्यू जर्सीमा आफ्नो परम्परागत ग्रीष्मकालीन बिदा रद्द गरेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार (स्थानीय समयअनुसार) राष्ट्रपतिको यो निर्णयको पुष्टि गरिन् । प्रेस सचिव लेभिटले भनिन्, “सामान्यतया राष्ट्रपति यो समयमा बिदा मनाउँछन् । तर, राष्ट्रपति ट्रम्पले बिदा नलिई निरन्तर काम गर्ने निर्णय गरेका छन् ।”
यसअघि उनले केही हप्ता न्यू जर्सीको बेडमिन्स्टर क्लबबाट काम गर्ने योजना बनाएका थिए । तर, अब त्यो योजना पनि रद्द गरेका छन् ।
बेडमिन्स्टर, उत्तरी न्यू जर्सीमा रहेको ट्रम्पको क्लब हो, जहाँ उनी प्रायः सप्ताहन्तमा जान्छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि अगस्टमा बिदा मनाउन त्यहाँ केही समय बिताएका थिए ।
युक्रेन नक्सामा रूसले कब्जा गरेको स्थानमा जेलेन्स्कीको विवाद
ह्वाइट हाउसको सोमबार ओभल अफिसमा भएको वार्तामा युक्रेनको एउटा नक्सा देखाइएको थियो, जसमा रूसले नियन्त्रण गरेका वा विवादित युक्रेनी भूभागका क्षेत्रहरू स्पष्टसँग देखाइएका थिए । प्रत्येक क्षेत्रमा रूसी नियन्त्रणको अनुमानित प्रतिशत समेत उल्लेख गरिएको थियो ।
उक्त नक्सामा युक्रेनको ठूलो भूभाग रूसको नियन्त्रणमा देखाइएको थियो ।
ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटमा प्रदर्शन गरिएको युद्धक्षेत्रको नक्सालाई लिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विवाद गरेका थिए । जेलेन्स्कीले सुरुमा उक्त नक्सा घर लैजाने भन्दै ठट्टा गरे पनि पछि त्यसमा कुनै सहमति नभएको स्पष्ट पारे ।
ओभल अफिसमा, जेलेन्स्कीले अमेरिकाले तयार गरेको नक्सामा युक्रेनको २० प्रतिशत भूभाग रूसको कब्जामा रहेको तथ्यांक सच्याए । यो तथ्यांकले युक्रेनको सैन्य प्रदर्शनलाई गलत रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै उनले भने, “मानिसहरूले २० प्रतिशत वा १८ प्रतिशत भन्छन्, तर, यो १ प्रतिशत सम्म थियो ।”
उनले ट्रम्प र युरोपेली नेताहरूलाई यस्ता संख्याहरूले दुई सेनाहरूबीचको शक्ति सन्तुलनलाई परिवर्तन गर्ने बताए । उनले भूभागसम्बन्धी प्रश्नहरू आफू र भ्लादिमिर पुटिनबीच मात्र सीमित रहेको बताए, साथै प्रत्यक्ष वार्ताका लागि तयार रहेको संकेत पनि दिए ।
रूसले युक्रेनको ठूलो हिस्सा कब्जा गरेको र सोमबार ट्रम्प र जेलेन्स्कीको वार्तामा यो कुरालाई जोड दिन रोज गार्डेनमा रातो रङले छाया पारिएको ठूलो नक्सा प्रदर्शन गरिएको थियो ।
“मलाई लाग्छ तपाईंहरू सबैले नक्सा देख्नुभएको छ,” ट्रम्पले मंगलबार फक्स न्युजलाई भने, “ठूलो भूभाग कब्जा गरिएको छ र त्यो भूभाग लिइसकिएको छ ।”
यता, ट्रम्पले शान्ति सम्झौताको एक हिस्साका रूपमा भूभाग साटासाटको विचार प्रस्तुत गरेका छन्, जसले किभ र युरोपमा अमेरिकाले युक्रेनलाई भूभाग छोड्न दबाब दिएको भन्ने चिन्ता उत्पन्न गरेको छ ।