site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सवारीप्रेमीको कुम्भमेला : नेपालमा बढेको ईभीको ढलिमली

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको कुम्भमेला सुरु भएको छ । 

नाडा अटोमोबाइल डिलर्स एसोसियसनले आयोजना गरेको १७औँ नाडा अटो सोमा विद्युतीय गाडी (ईभी) को रजगज देखिएको छ । केही वर्षअघि मात्र नेपालमा पेट्रोल र डिजल गाडीको राजगज हुँदा विद्युतीय गाडीको उपस्थिति नै थिएन । 

तर, कोभिड महामारीपछि नेपाली अटो बजारको परिदृष्यमा ठूलो बदलाव आउँदा ईभीको रजगज नै चलेको छ । 

सडकमा गुड्दै गरेका चारपांग्रे सवारीमा ईभी हाराहारीमा पुग्न लागिसकेको छ । पछिल्ला वर्षको मात्रै अवस्था हेर्ने हो भने ईभीकै बर्चश्व बढ्दै गएको छ । प्यासेन्जर कार सेग्मेन्टमा पनि ईभीको हिस्सा बढेर ७५ प्रतिशत पुगेको छ । 

नाडा अटो शो मा ईसुजु र मारूतीसहित केहीबाहेक सबै ईभीमय देखिन्छ  । ईभीमा पनि चिनियाँ गाडीको बाहुल्यता छ । यस पटकको नाडा अटो शोमा मुलुकको इतिहासमै पहिलोपटक उड्ने ट्याक्सी (फ्लाइङ ट्याक्सी) र रोबोटो सार्वजनिक भएको छ । नाडा अटो शो अन्तर्गत चीनको चर्चित अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको दिपल ईभीटीएल (इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ) फ्लाइङ ट्याक्सी सार्वजनिक भएको छ । 

नाडाले अटो सो लक्षित गरेर नै यो ‘फ्लाइङ ट्याक्सी’ तातोपानी नाकाबाट भरियालाई बोकाएर ल्याएको थियो ।  अटो शोमा चिनियाँ गाडी बीवाईडी, नामी, सेरेस र दिपल गाडी प्रर्दशनीमा छन् । 

यस्तै टाटा, जिली, अभतार, स्मार्ट, आयोजन, एलईभी जीरो वान, टाटा, सुजुकी, आयोन, एक्सपेंग, रिड्डारा, स्काईवेल, बीवाईडी, फोटोन, बिएडब्ल्यू ब्रम्बी, जेवाई एयर, ब्लाभल, एलएस अटो, जिनपेंग रहेका छन् । 

यस्तै दुई पांग्रेअन्तर्गत हिरो, रोयल इन्फिल्ड, जोन्सोन, यामाहा लाइट कमर्शियल भेहिकल, न्यू गो–नाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सिजी केवाईसी/ किङलङ, मोन्ट्रा, स्काईवर्थ, काइन्निउ, कावेई/ नावेको, सनलङ गाडीको सहभागिता छ । 

नेपालमा ईभीको बजार प्रतिस्पर्धात्मक बन्दै गइरहेको छ । लामो समयदेखि पेट्रोल तथा डिजेल सवारीसाधन चलिरहेको सडकमा अहिले चिनियाँ विद्युतीय गाडीहरु अधिक मात्रामा थालेका छन् । नेपाली बजारमा ईभीले पकड जमाएको देखिन्छ । नेपालमा अब जिवास्मा इन्धनबाट चल्ने गाडी तीव्र रफ्तारमा घट्दै गएको नाडा अटो शो बाट स्पष्ट हुन्छ । 

नेपालमा ईभी गाडीको रजगजको विषय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचारको विषय पनि बन्दै गएको छ । अमेरिकाको न्यूयोर्क टाइम्सले नेपालको ईभी बजारको समेत समाचार बनाएको छ ।  समाचारमा जनाइएअनुसार अहिले बिक्रीमा रहेका ७६ प्रतिशत हिस्सा चिनियाँ ईभी गाडीको रहेको जनाएको छ । 

नेपाल ईभी गाडी प्रयोग बढाउनेमा विश्वको तेस्रो स्थानमा रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको समाचारमा जनाइएको थियो ।  नेपालमा ईभीको बजार हिस्सा अब नर्वे, सिंगापुर र इथियोपियाजस्ता केही देशहरूको पछाडि मात्र रहेको छ । विश्व बजारमा चिनियाँ विद्युतीय सवारीहरू तीव्र रूपमा फैलिँदै जाँदा नेपालमा पनि यसको प्रभाव परेको छ ।

बजार देखेपछि नेपालका प्रायः सबै ठुला व्यावसायिक घरानाहरु नै ईभी गाडी आयात बढाइरहेका छन् ।  त्यसमा पनि चिनियाँ इभी भित्र्याइरहेका छन् । गाडी बिक्री पछि दिने सेवा र चार्जिङ स्टेशन पूर्वाधार महत्वपूर्ण रहेको छ । 
बिक्रीपछि दिने सेवा बढाउनुका साथै चार्जिङ स्टेशन निर्माणमा आयातकर्ता कम्पनीका साथै नेपाल विद्युत् प्राधिकरण पनि लागिपरेको छ । सरकारले आगामी सन् २०३५ सम्म ईभीको बजार हिस्सा बढाएर ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । 

सरकारले समय समयमा करको दरमाथि कैंची लगाउँदा ईभी गाडी आयातकर्ता र खरिदकर्ता दुबैलाई समस्या पर्दै आएको छ ।  नेपाल राष्ट्र बैंकले झन्डै नौ महिनाअघि ईभीमा ऋण लगानी सीमा घटाएर ६० प्रतिशतमा झारेको छ । 

यसअघि ८० प्रतिशत थियो । अब गाडी किन्ने व्यक्तिले ४० प्रतिशत पैसा जम्मा गर्नुपर्ने भएको छ । ६० प्रतिशत मात्र बैंकले ऋण दिने भएका छन् ।  सरकारले करका दरमा गर्ने हेरफेर र राष्ट्र बैंकले ऋणको सीमा घटाउदा मुलुकको ईभी बजारलाई केही कमजोर बनाएको व्यवसायीको भनाइ छ ।

सरकारले ईभीमा ५० किलोवाटसम्म १५ प्रतिशत, ५० देखि १ सय किलोवाटसम्म २० प्रतिशत, १ सय १ देखि २ सय किलोवाटसम्म ३० प्रतिशत, २ सय १ देखि ३ सय किलोवाटसम्म ६० प्रतिशत र ३ सय १ किलोवाटभन्दा माथि ८० प्रतिशत भन्सार शुल्क लिँदै आएको छ । 

अन्तःशुल्कतर्फ ५० किलोवाटसम्म ५ प्रतिशत, ५० देखि १ सय किलोवाटसम्म १५ प्रतिशत, १ सय १ देखि २ सय किलोवाटसम्म २० प्रतिशत, २ सय १ देखि ३ सय किलोवाटसम्म ३५ प्रतिशत र ३ सय १ किलोवाटभन्दा माथि ५० प्रतिशत लिने गरेको छ । 

यी सबै सवारीमा समान सडक मर्मत तथा सम्भार दस्तुर ५ प्रतिशत र मूल्य अभिवृद्धिकर (भ्याट) १३ प्रतिशत लाग्दै आएको छ । समयअनुसार आगामी दिन विश्वभर नै ईभीको बर्चश्व रहने एमएडब्ल्यु ग्रुपका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । 

नेपालमा पनि आगामी दिनमा ईभी गाडीको बजार रहेको उनको भनाइ छ ।  उनले ईभी आयातमा सरकारले अझै सहजीकरण गर्नुपर्ने बताए ।  अग्रवालले दीपल, नामी र सेरेस गरी तीन चिनियाँ ब्रान्ड आयात गरी नेपाली बजारमा बिक्री गरिरहेका छन् । पछिल्लो समयमा दीपल इभी बजारमा अधिक रुचाइएको ब्रान्ड हो । 

ईभीमा ऋण दिने लक्ष्यका बैंकहरुले नाडा अटो शोमा सहभागिता जनाएका छन् ।  बैंकहरुले नाडा अटो शोलाई लक्षित गरी विभिन्न अटो लोन सार्वजनिक गरेका छन् । नाडा अटो शोमा सहभागी बैंकहरूले झन्डै आधारदरमै र न्यूनतम ६.२३ देखि ८.१५ प्रतिशत अटो लोन दिने योजना सार्वजनिक गरेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्