site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाणिज्य बैंकहरूको लगानी अनुसार छैन नाफा ! नौ बैंकको नाफा कुल सम्पत्तिको एक प्रतिशतभन्दा कम

काठमाडौं । २० वाणिज्य बैंकले ७३ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँँ कुल सम्पत्तिबाट ७१ अर्ब ५१ करोड १० लाख रुपैयाँ नाफा गरेका छन् ।  गत आर्थिक वर्ष ०८१/८२ को  अपरिस्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकले कुल सम्पत्तिको एक प्रतिशत मात्र नाफा आर्जन गरेका हुन् । 

हालको अपरिष्कृत नाफा अघिल्लो आर्थिक वर्ष ०८०/८१ को भन्दा ४३.३९ प्रतिशतले बढेको भए पनि नेपाल राष्ट्र बैंकबाट स्वीकृति हुँदा घट्ने निश्चित छ । 

नाफा घट्दा कुल सम्पत्तिबाट प्राप्त प्रतिफल (आरओए) पनि घट्छ । अघिल्लो वर्षको तुलनामा आरओए गत वर्ष बढेको हो । अहिले बैंकहरूलाई रिकोभरीको समय दिएकाले नाफा बढेको देखिएको हो ।  

बैंकहरुले कर्जा तथा सेयरधनीको पुँजी (कुल सम्पत्ति)बाट गत वर्ष ७१ अर्ब ५१ करोड १० लाख रुपैयाँ प्रतिफल प्राप्त गरेका हुन्छ । कुल सम्पत्तिमा सेयरधनीको पुँजी र कम्पनीको दायित्व समेटिएको हुन्छ । 

अघिल्लो वर्ष वाणिज्य बैंकहरूले ४९ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । यो प्रतिफल कुल सम्पत्तिको ०.८१८ प्रतिशत हो । यसको अर्थ अघिल्लो वर्ष २० वाणिज्य बैंकको कुल सम्पत्तिबाट ०.८१८ प्रतिशत प्रतिफल प्राप्त भएको थियो । 

कुल सम्पत्तिबाट प्राप्त प्रतिफल जुन कम्पनीको बढी हुन्छ, त्यो कम्पनीले सही तरिकाले आफ्नो सम्पत्ति व्यवस्थापन गरेर नाफा आर्जन गरेको छ भने बुझाउँछ । 

बैंकहरूको पुँजी बढ्दै जाँदा त्यो अनुसारको प्रतिशतल प्राप्त हुन सकेको छैन् । प्रतिस्पर्धा बढ्दै जाँदा पनि बैंकहरूको कुल सम्पत्ति अनुसार नफा आर्जन हुन नसकेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन् । “बैंकहरूको औसत रिटर्न अन एसिट्स (आरओए) २ प्रतिशतभन्दा माथि हुनु राम्रो हो । प्रतिस्पर्धा बढ्दा बैंकहरूको आरओए घट्दै गएको छ,” दाहालले बाह्रखरीसित भने । 

एक प्रतिशतभन्दा माथि आरओए भएका बैंक 

११ वटा बैंकको आरओए एक प्रतिशतभन्दा माथि छ । जसमा सबैभन्दा बढी आरओए स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । यो बैंकको कुल सम्पत्ति एक खर्ब ५२ अर्ब ९९ करोड ५१ लाख रुपैयाँ छ । यो सम्पत्तिबाट कम्पनीले तीन अर्ब दुई करोड ९३ लाख रुपैयाँ नाफा बनाउन सफल भयो । बैंकले कुल सम्पत्तिबाट १.९८ प्रतिशत आरओए बनायो । 

त्यसैगरी एभरेष्ट बैंकको पनि आरओए १.४९ प्रतिशत छ । यो बैंकको कुल सम्पत्ति तीन खर्ब ३० अर्ब सात करोड रुपैयाँबाट चार अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन भएको हो । यसैगरी नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास र प्राइम कमर्सियल बैंकले पनि आफ्नो सम्पत्तिबाट राम्रो प्रतिफल निकालिरहेका छन् । यी बैंकको आफ्नो कुल सम्पत्तिबाट राम्रो नाफा आर्जन भएको देखिन्छ । यसले यी बैंकको कार्यक्षमता राम्रो रहेको देखाउँछ । 

एक प्रतिशतभन्दा बढी आरओए ११ वाणिज्य बैंकको भए पनि सिद्धार्थ, सानिमा, नेपाल र एनएमबि बैंकको ठूलो सम्पत्ति छ । यी बैंकले आफ्नो सम्पत्ति अनुसार नाफा आर्जन राम्रो गरेको पाइँदैन । 

त्यसैगरी माछापुच्छ्रे, लक्ष्मी सन्राइज र ग्लोबल आइएमई बैंकले पनि आफ्नो सम्पत्ति अनुसार नाफा आर्जन गर्न सकेका छैनन् । यी बैंकको कार्य क्षमता मध्यमस्तरको मान्न सकिन्छ । 

त्यसैगरी सिटिजन्स, कुमारी र हिमालयन बैंकको सम्पत्ति ठूलो भए पनि नाफा न्यून गरेका छन् । यी बैंकको कार्यक्षमता कमजोर नै मानिन्छ । 

यी २० वाणिज्य बैंकमध्ये सबैभन्दा कमजोर कार्यक्षमता एनआईसी एशिया बैंकको देखिएको छ । यो बैंकको ठूलो सम्पत्ति भए पनि नाफा अति न्यून गरेको छ । बैंकको चार खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ सम्पत्ति छ । तर, नाफा १६ करोड १५ लाख रुपैयाँ गरेको छ । 

आरओए कसरी निकालिन्छ ? 

आरओए भनेको कुनै कम्पनीले आफ्नो कुल सम्पत्तिबाट आर्जन गरेको खुद नाफा हो । खुद नाफालाई कुल सम्पत्तिले भाग गरेर आरओए निकालिन्छ । कुनै कम्पनीले आफूसँग भएको सम्पत्तिबाट कति नाफा आर्जन गरेको छ भनेर हेर्न आरओए रेसियो प्रयोग गरिन्छ । यो रेसियो जति धेरै भयो कम्पनीका लागि राम्रो हो । कम्पनीको विकासलाई यो रेसियोले स्पष्ट देखाउँछ । 

दोस्रो बजारमा बैंकहरुको सेयर मूल्य 

बैंकहरूले लगानी गरेको सम्पत्तिअनुसार नाफा आर्जन कम हुँदै गएको छ । यसै कारणले गर्दा दोस्रो बजारमा सेयर मूल्य पनि न्यून हुँदै गएको छ । पछिल्लो एक वर्षको न्यून र उच्च सेयर मूल्यले बैंकहरूको प्रफर्मेन्सलाई स्पष्ट देखाएको छ । 

राम्रो नाफा आर्जनग गरेका बैंकहरूको दोस्रो बजारमा सेयर मूल्य उच्च नै छ । तर, कमजोर स्थिति भएका बैंकहरूको दोस्रो बजारमा सेयर मूल्य पनि कम छ । सेयरधनीलाई उच्च लाभांश दिने क्षमता भएका बैंकहरु एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नबिल बैंकको दोस्रो बजारमा मूल्य पनि बढी छ । 

सबैभन्दा बढी सेयर मूल्य एभरेष्ट बैंकको छ । 

लाभांश क्षमता 

प्रकाशित वित्तीय विवरणअनुसार हिमालयन, कुमारी, एनआईसी एशिया र नेपाल बैंक संचित नोक्सानीमा छन् । यी बैंकले सेयरधनीलाई यो वर्ष लााभांश दिन सक्दैनन् । संचित नोक्सानीमा नभएका सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभुको पनि लाभांश क्षमता न्यून छ । 

सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको छ । यो बैंकको लाभांश क्षामता ३८.२७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकको लाभांश क्षामता २८.०६ प्रतिशत थियो । बैंकले अघिल्लो वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १५.५३ प्रतिशत लाभांश दिएको थियो । 

त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड, नबिल, सानिमा र कृषि विकास बैंकको लाभांश क्षामता बढी देखिन्छ । स्ट्याण्डर्ड चार्टर्डले गएको वर्ष २५.५ प्रतिशत लाभांश दिएको थियो भने नबिल बैंकले १० प्रतिशत लभांश दिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्