काठमाडौं । इजरायलले गाजामा बन्धक बनाइएका सबै (५० जना)को तत्काल रिहाइको माग गरेको छ ।
यो मागले हमासले सोमबार सहमति जनाएको ६० दिने नयाँ युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गर्छ वा गर्दैन भन्नेमा शंका उत्पन्न गरेको बीबीसीले जनाएको छ ।
कतार र इजिप्टले प्रस्तुत गरेको यो प्रस्तावमा आधा बन्धकहरूलाई मुक्त गर्ने प्रावधान छ । कतारका अनुसार, यो प्रस्ताव इजरायलले यसअघि स्वीकार गरेको अमेरिकी प्रस्तावसँग लगभग मिल्दोजुल्दो छ ।
इजरायलले प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन । तर, इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायल आंशिक सम्झौतामा रुचि नराख्ने बीबीसीलाई बताए ।
“अहिले परिस्थिति बदलिएको छ । प्रधानमन्त्रीले गाजाको भविष्यका लागि योजना राखेका छन्,” मेन्सरले भने ।
प्यालेस्टिनी स्रोतहरूका अनुसार, यो प्रस्तावमा १० जना जीवित र १८ जना मृत बन्धकहरूलाई हस्तान्तरण गर्ने र दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताका लागि वार्ता गर्ने उल्लेख छ ।
२२ महिनाको युद्धपछि ५० बन्धकहरूमध्ये २० जना मात्र जीवित रहेको हुनसक्ने इजरायलको विश्वास छ ।
गाजा सहरमा सैन्य कारबाहीको तयारी
यस हप्ताको अन्त्यमा, इजरायली मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने सैन्य योजनालाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यस क्षेत्रमा इजरायली हमलाहरूले हजारौँ मानिसहरूलाई विस्थापित गरिसकेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गत महिना हमाससँगको अप्रत्यक्ष वार्ता टुटेपछि गाजाको सम्पूर्ण क्षेत्र कब्जा गर्ने इजरायलको उद्देश्य घोषणा गरेका थिए । यसमा २.१ मिलियन प्यालेस्टिनी बासिन्दाहरूले शरण लिएका क्षेत्रहरू पनि समावेश छन् ।
हमासद्वारा युद्धविराम प्रस्तावको अनुमोदन
सोमबार राति, हमासको एक विज्ञप्तिमा सशस्त्र समूह र अन्य प्यालेस्टिनी गुटहरूले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले अघिल्लो दिन कायरोमा प्रस्तुत गरेको युद्धविराम प्रस्तावलाई अनुमोदन गरेको घोषणा गरे ।
हमासका अधिकारी ताहेर अल–नुनुले अल–अरबी टिभीसँग कुरा गर्दै उनीहरूले प्रस्तावमा कुनै संशोधन गर्न नखोजेका र यसलाई उनले पूर्ण सम्झौतातर्फ लैजाने आंशिक सम्झौताको रूपमा व्याख्या गरे । उनले यो कार्यान्वयनको पहिलो दिनबाटै स्थायी युद्धविराममा सहमत हुने उद्देश्यले वार्ता सुरु हुने कुरामा जोड दिए ।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले मंगलबार दोहामा पत्रकारहरूलाई यो प्रस्ताव जुनमा अमेरिकी दूत स्टिभ विटकफले प्रस्तुत गरेको प्रस्तावसँग ९८ प्रतिशत मिल्दोजुल्दो रहेको बताए ।
यसअघि विटकफले ६० दिने युद्धविराम प्रस्ताव गरेका थिए, जसमा हमासले पहिलो र सातौँ दिनमा १० जना जीवित बन्धकहरू र १८ जना मृत बन्धकहरूको शव हस्तान्तरण गर्ने उल्लेख थियो । यसको बदलामा, इजरायली जेलहरूमा आजीवन कारावास भोगिरहेका १२५ प्यालेस्टिनी कैदीहरू, गाजाका एक हजार १११ बन्दी र १८० गाजावासीहरूको शव फिर्ता हुने प्रस्तावमा उल्लेख थियो । बीबीसी