site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीका पूर्वमुख्यमन्त्री थापामाथि मुक्का प्रहार

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापामाथि आक्रमण भएको छ । झापाको दोमुखाबाट बिर्तामोड फर्कने क्रममा उनीमाथि कुटपिट भएको हो ।

शनिबार साँझ सुरुंगाको जुकेखाडी पुलनजिकै आक्रमण भएको थापासँगै गाडीमा सवार कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए । उनले बाह्रखरीसित भने, “गाडी ओभरटेक गर्ने क्रममा एक्कासि विवाद गरी एक युवाले हातपात गरेका हुन् ।”

Argakhachi Cement Island Ad

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा शनिबार बेलुका करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट हुँदा थापाको आँखामा चोट लागेको हुमागाईंले बताए ।

बा१झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा१ञ १८७० मा सवार व्यक्तिले आक्रमण गरेका थिए । साँघुरो बाटोमा गाडी ‘ओभरटेक’ गर्न खोजेपछि थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए । थापा बिर्तासिटी अस्पतालमा भर्ना भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण सुरुंगाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो । कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन् । यति बेला इलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षा निकायका प्रमुख र दुवै पक्षबीच छलफल भइरहेको छ ।

हुमागाईंले भने, “बाटो बन्दै गरेको ठाउँमा साँघुरो छ । सेतो प्लेटको गाडीमा भीआईपी हुनुहुन्छ भन्यौँ, तर मुख छाड्दै मुक्का हाने । मलाई पनि धकेले ।”

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्