site stats
बाह्रखरी :: Baahrakhari
कला
विस्तारै–विस्तारै... गीतका सर्जक राजनराजसँग भिडियोवार्ता

काठमाडौं । कोरियन कन्स्ट्रक्सन कम्पनीमा काम थियो । केही वर्ष काम गरेपछि राजनराज विस्तारै जागिरबाट फ्रस्टेड हुन थाले । अन्ततः जागिरबाट हात धोए । राजीखुसीले जागिर छाडे । समय फुर्सदिलो भयो । गर्ने के ? 

दिमागमा रमरम संगीतको नसा थियो । सानो छँदा रेडियो नेपालले गीत सुन्ने बानी बसाइदिएको थियो । नारायणगोपालका गीतमा दिलचस्पी थियो । रेडियो नेपालको ‘अनुरोध संगीत’ सुन्न क्लास छाडेर आउने उनमा संगीतको मोह कम भएको थिएन । बरु थप उचालिएको थियो ।  

केही गरौँ भन्ने हुटहुटी थियो । त के गरौँ अन्योल थियो । संगीतमा लागेर काम गर्दा के होला ? निर्णय लिने निधो गरे । संगीतमा रहर थियो । तर, योग्य छु/छैन थाहा थिएन ।

कसरी संगीतमा योग्य रहे/नरहेको निर्क्यौल गर्ने ? राजनराज डोरेमी संगीत इन्स्टिच्युट पुगे । न्ह्यू बज्राचार्यलाई भेटेर सोधे– म सांगीतिक क्षेत्रमा लाग्न चाहन्छु, म यसका लागि ठिक छु कि छैन चेक गरिदिनुस् । 

न्ह्यू : कसरी चेक गर्नु ? 

राजनराज : मसँग कम्पोज छ, त्यही गाउँछु ।

न्ह्यूले गिटार समाएर बजाउन थाले । राजनराजले गाए– 

निष्ठुरी नबन, मलाई बिर्सी नभन । 

न्ह्यू : ठिकै छ त, अलिकति मिहिनेत गर्‍यौ भने तिमीले गाउन पनि सक्छौ ।

राजनराज डोरेमीमा संगीत सिक्न भर्ना भए । करिब दुई वर्ष उनले संगीतका सुरहरूसँग खेल्न सिके । आवाजलाई लचिलो र कसिलो बनाउने अभ्यास गरे । उनका गुरु थिए– गुरुदेव कामत, ईश्वर अमात्य, भानुभक्त ढकाल । 

कालीप्रसाद बास्कोटा त्यो वेला डोरेमीमै संगीत सिकिरहेका थिए । त्यो वेला हिट्स एफएम अवार्ड भयो । डोरेमीका विद्यार्थीले उक्त अवार्ड कार्यक्रमका गीत गाउने भए । न्ह्यूले उक्त अवार्ड कार्यक्रममा गाउनेमा राजनराजलाई पनि पठाए । 

“त्यो अवार्ड कार्यक्रममा नवीन के भट्टराईले पप गायकतर्फ अवार्ड पाउनुभयो । संयोगले उहाँ बसेको छेउको सिटमा म बसेको थिएँ । उहाँ अवार्ड थापेर आएपछि मैले हात मिलाउँदै ‘बधाई छ’ भनेँ,” राजनराज नोस्टाल्जिक हुन्छन्, “हात मिलाइहँदा मेरो दिमागमा एक दिन यो मान्छेलाई मेरो संगीत जसरी पनि गाउन लगाउँछु भनेर संकल्प गरिरहेको थिएँ ।” 

पप गीत पनि गर्न सक्छु भन्ने आँट त्यहीवेला राजनराजमा थियो । पछि ‘अलिकति पीडा हुँदा नि...’ नवीन के भट्टराईको गीत हिट भयो । यो गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ ।

०५९ सालमा राजनराजले पहिलोपटक गीत रेकर्ड गरे । गीत थियो– मायालु आउने जाने बाटोमा... ।  गीत हिट भयो । पप गीतको एल्बम नै निकाले । अनिल सिंहकाे स्वरमा रहेकाे गीत ‘म माया गर्छु मेरी उनीलाई...’ गीत नोटिस भयो । 

सरकार र माओवादीबीच द्वन्द्व चलिरहेको थियो । वार्ताको खुब चर्चा हुन्थ्यो । तर, अन्तिम समयमा आएर भंग हुन्थ्यो । त्यसपछि उनले बनाए, लोक तेहेरी । त्यो नयाँ प्रयोग थियो । गीत थियो– वार्ता गराइदेऊ । समय सान्दर्भिक भएर पनि होला । हिट भयो । यसले राजनराजलाई धेरैमा चिनायो । 

राजनराज आफैँ गीत लेख्थे । संगीत भर्थे । गाउँथे । त्यही वेला उनले ‘सुर्के थैली खै’ तयार पारे । गीत रिलिज पनि भयो । तर, धेरैमा नोटिस भइरहेको थिएन । 

एक दिन चलचित्रको टिमबाट कुरा आयो । टिम थियो, दीपकराज गिरी र दीपाश्री निरौलाको । उनीहरूलाई लोकलयको गीत चाहिएको थियो । उनीहरूले त्यही ‘सुर्के थैली खै’ मन पराए । चलचित्र थियो, ‘वडा नम्बर ६’ । यो गीत चलचित्रमा राख्ने निधो भयो । लामो भएकाले केही लाइन कटाएर गीत राखियो । 

गीत लोकप्रिय भयो । गीत यति धेरै हेरियो, युट्युबमा करोड क्लबमा प्रवेश गर्ने पहिलो नेपाली गीत बन्यो । 

rj-1737257686.jpg
यसअघि पनि राजनराजले चलचित्रका लागि दुईवटा गीत तयार पारेका थिए । लोकलयकै गीत गाएका थिए । तर, तीनले त्यति धेरै सफलता पाएका थिएनन् । ‘सुर्के थैली खै’ नै नेपाली रजतपटमा उनलाई गतिलोसँग चिनाउने गीत बन्यो । संगीतकार र रचनाकार मात्रै होइन, गायकका रूपमै दरिए । 

दीपक र दीपाले उनको गीत आफ्नो चलचित्रमा राख्नु नै उनका लागि ट्रनिङ प्वाइन्ट बन्यो । त्यसैले दीपक–दीपा उनको सांगीतिक करिअरमा लक बनेर आए । उनका दर्जनौँ गीत हिट छन् । अहिलेको चलनचल्तीको भाषामा उनका गीतसंगीत भाइरल छन् । उनै राजनराज शिवाकोटीसँग गरिएको भिडियो कुराकानी : 

 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्