काठमाडौं । सरकारले कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयपछि राईले बुधबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिवको पदभार ग्रहण गरेका हुन् । योसँगै राई नेपालको २६औँ परराष्ट्र सचिव भएका छन् ।
“नेपाल चुनौती र अवरको बीचमा उभिएको छ । ती चुनौतीहरूको सामना गर्दै अवसरलाई नेपालको हितमा ल्याउने काम परराष्ट्र मन्त्रालयले गर्नेछ,” परराष्ट्र सचिवको जिम्मेवार सम्हालेपछि राईले बाह्रखरीसँग भने ।
परराष्ट्र मन्त्रालयलाई सक्षम बनाउँदै लगे सबै चुनौतीको सामना गर्न सकिने उनले बताए । नेपालको स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्न परराष्ट्र मन्त्रालयको भूमिका अहम् हुने उनले जनाए ।
“शान्ति प्रक्रिया टुंगोमा पुर्याउने बाटोमा छौँ, यसले विश्वमा नेपालको विश्वासनीयता बढाउँछ । विश्वमा शान्ति सेना पठाउनेमा हामी नम्बर १ मा छौँ । यो सबैले अन्तर्राष्ट्रिय जगतको सद्भाव रहेको देखाउँछ,” परराष्ट्र सचिव राईले भने ।
नेपालले आर्थिक रूपमा समृद्धि हासिल गर्न नसके पनि समय सापेक्ष आर्थिक कूटनीतिलाई अघि बढाइ अब यो लक्ष्य पनि प्राप्त गर्ने उनले बताए ।
यसअघि सेवा लम्साल परराष्ट्र सचिव रहेकी थिइन् । लम्साललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियमको लागि नेपाली राजदूत नियुक्त गरेका छन् ।
राजदूतमा सिफारिस गरेपछि सरकारले लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्दै राईलाई २०८१ मंसिर ९ गते कायममुकायम परारष्ट्र सचिव बनाएको थियो ।
परराष्ट्र सचिव राई सन् १९९६ मा निजामती सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनी सन् २००५ मा उपसचिवका रूपमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनले कूटनीति र सार्वजनिक सेवाको क्षेत्रमा विभिन्न पदमा रही कार्य गर्दै आएका छन् ।
राईले परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संगठनहरू र अन्तर्राष्ट्रिय कानुन महाशाखाको सहसचिव र डिभिजन प्रमुखको रूपमा काम गरेका थिए । उनले जुलाई २०२३ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए । कायममुकायम सचिव हुनुअघि उनले परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।
मार्च २०१९ देखि जुन २०२३ सम्म उनी अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूत र स्थायी प्रतिनिधिका रूपमा रहेका थिए । न्युयोर्कमा राजदूत र स्थायी प्रतिनिधिको रूपमा रहँदा राईले संयुक्त राष्ट्र महासभाको ७७औँ महाशभाको (२०२२–२०२३) को उपाध्यक्ष, ७५औँ सत्र (२०२०–२०२१) मा आर्थिक तथा वित्तीय समिति (दोस्रो समिति) को अध्यक्ष लगायत धेरै महत्त्वपूर्ण भूमिकाहरू निभाएका थिए ।
उनीसँग सन् २०२३ को अप्रिलदेखि जुनसम्म अल्पविकसित देशहरूका लागि ग्लोबल समन्वय ब्युरोको अध्यक्षको रूपमा रही काम गरेको अनुभव पनि छ ।
राईले डिसेम्बर २०१४ देखि डिसेम्बर २०१८ सम्म दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतको रूपमा पनि काम गरेका थिए ।
परराष्ट्र मन्त्रालयमा रहँदा उनले दक्षिण एसिया डिभिजन (२०१३–२०१४), युरोप तथा अमेरिका डिभिजन (२०१३) र योजना तथा अनुगमन महाशाखा (२०१८–२०१९) रही काम गरेका थिए ।
सन् २००८ देखि २०१२ सम्म उनले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा मिनिस्टर काउन्सिलरका रूपमा रही काम गरेका थिए ।
उप–सचिवको रूपमा उनले नोभेम्बर २००५ देखि नोभेम्बर २००८ सम्म संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संगठन महाशाखा, बहुपक्षीय आर्थिक कूटनीति महाशाखा र परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीको सचिवालयमा पनि काम गरेका थिए ।
सार्वजनिक सेवाको प्रारम्भिक वर्षमा राईले सन् २००३ देखि २००५ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना महाशाखामा उपसचिवका रुपमा काम गरेका थिए । सन् २००२ देखि २००३ सम्म सामान्य प्रशासन मन्त्रालयमा पनि उनले काम गरेका थिए ।
सन् १९९६ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शाखा अधिकृतको रुपमा निजामती सेवामा आफ्नो करियर सुरु गरेका थिए ।
परराष्ट्र सचिव राईले तीनवटा विषयमा स्नातकोत्तर गरेका छन् । उनले जर्मनीको पोट्सडाम विश्वविद्यालयबाट सार्वजनिक व्यवस्थापनमा (२००२–२००३), त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा (१९९७–१९९८० र त्रिभुवन विश्वविद्यालयबाट बिज्नेस एड्मिनिस्ट्रसन् (१९९२–१९९३) मास्नातकोत्तर गरेका छन् । राईको जन्म सन् १९७० मा नेपालको संखुवासभा जिल्लाको चिचिला गाउँपालिकामा भएको थियो ।