site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाखौँ बोकेर के गर्न हिँड्दै छन् युवा ? सातामै एक करोड ८६ लाखसहित ११ जना थुनामा

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको मंगलबार राति ९२ लाख रुपैयाँसहित तीनजनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा रसुवाका जीतबहादुर तामाङ, सिन्धुपाल्चोकका रविन धमला र संखुवासभाका सन्तोष खाती छन् ।

कार्यालयको टोलीले तामाङ र धमलालाई काठमाडौंको तारकेश्वर नगरपालिकाको लोलाङ र संखुवासभाका खातीलाई जोरपाटीबाट पक्राउ गरेको हो । स्कुटरको डिक्कीमा उक्त रकम लिएर हिँडिरेहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

तामाङ र धमलाका साथबाट ७७ लाख रुपैयाँ बरामद गरिएको छ । खातीका साथबाट १५ लाख रुपैयाँ बरामद गरिएको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

सुरुमा तामाङ र धमला पक्राउ परेका थिए । उनलाई सोधपुछ गर्दा १५ लाख रुपैयाँसहित खाती पक्राउ परेका हुन् ।

कार्यालयको टोलीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त रकमको स्रोत खुलेको छैन । उनीहरूमाथि थप अनुसन्धान गर्न कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी गरेको छ ।

एक हप्ताअघि मात्र काठमाडौं प्रहरीको विशेष टोलीले २६ लाख ५० हजार रुपैयाँसहित चारजनालाई पक्राउ गरेको थियो । यही पुस ३ गते दिउँसो काठमाडौंको बत्तीसपुतलीबाट उनीहरू पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक गुल्मीको तम्घास नगरपालिका–४ का ५२ वर्षीय भेषराज पाण्डे, भारतको राजस्थानका ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौंको कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका–१६ का ५२ वर्षीय सुरेश अधिकारी छन् ।

त्यसको एक दिनअघि मात्र परिसर काठमाडौंकै टोलीले ६८ लाख रुपैयाँसहित सिनामंगलबाट अरू चारजनालाई पक्राउ गरेको थियो । सिनामंगलको शम्भुमार्गस्थित सडकमा गुडिरहेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार काठमाडौं महानगरपालिका–३२, दोभानपुलका ४६ वर्षीय राजकुमार माली, झापाको अर्जुनधारा नगरपालिका–७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापाकै बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय युवराज सुवेदी उक्त रकमसहित पक्राउ परेका थिए । पक्राउ पर्नेमा एकजना किशोर थिए ।

लाखौँ रकम बोकेर किन हिँड्दै छन् युवा ?
प्रहरीले एक साताको अन्तरालमा पक्राउ परेकाहरूबाट एक करोड ८६ लाख रुपैयाँ बरामद गरेको छ । यसरी पक्राउ परेका ११ मध्ये अधिकांश ३५ वर्षमुनिका युवा छन् ।

उनीहरूले रकमको स्रोत खुलाउन सकेका छैनन् । थुनामा राखेर प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ । पुस २ र ३ गते पक्राउ परेका आठजनामाथि प्रहरी वृत्त गौशालाले हुन्डी कारोबार मुद्दामा अनुसन्धान थालेको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले पक्राउ परेकाहरूले बरामद रकमको स्रोत खुलाउन नसकेका कारण हुन्डी मुद्दामा अनुसन्धान थालिएको बताए । ‘‘पक्राउ परेका युवाहरूले रकमको स्रोत खुलाउन सकेका छ्र्रैनन्,’’ एसपी अधिकारीले बाह्रखरीसित भने, ‘‘उनीहरूमाथि हुन्डी कारोबार मुद्दामा अनुसन्धान थालेका छौँ ।’’

९२ लाखसहित पक्राउ परेका तीन युवामाथि समेत रकमको स्रोत नखुले हुन्डी कारोबार मुद्दामा अनुसन्धान गरिने प्रहरीको भनाइ छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले युवाबाट बरामद रकमको स्रोत नै तस्करी रहेको जिकिर गरे ।

ती प्रहरी अधिकारीले भने, ‘‘उनीहरूले अवैध सुन बिक्री गरेपछि संकलन गरेको जस्तो देखिन्छ । हामीले सोध्दा पनि विभिन्न व्यक्तिमार्फत बुझेको बयान दिएका छन् ।’’

त्यसो त ९२ लाखसहित पक्राउ परेका तीनजनाविरुद्ध सुन तस्करीको सूचनापछि प्रहरीले ‘अपरेसन’ थालेको थियो । तर, प्रहरीले सुनको साटो अवैध रकम बरामद गरेको हो ।

‘‘हामीलाई रसुवाका जीतबहादुरले केरुङ नाकाबाट सुन तस्करी गरिरहेको छ भन्ने सूचना आएको थियो,” अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने, ‘‘त्यही सूचनाको आधारमा तामाङले चढेको स्कुटरलाई लोलाङमा रोकेर जाँच गर्दा ७७ लाख रुपैयाँ भेटिएको हो ।’’

सुन तस्करीको सूचना र उनीहरूबाट अस्वाभाविक रकम बरामद हुनु संयोग मात्र नहुन सक्ने प्रहरीको विश्लेषण छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro