site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालीलाई कम्बोडिया, म्यानमार पुर्‍याई बन्दी बनाएर काम लगाउने प्रवृत्ति बढ्यो

काठमाडौं । मानव तस्करले नेपाली नागरिकलाई दक्षिणपूर्वी एसियाली राष्ट्रमा पुर्‍याई बन्दी बनाएर काम लगाउने प्रवृत्ति बढेको छ । नेपालीलाई थाइल्यान्डको बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार पुर्‍याई बन्दी बनाएर काममा लगाउने गरेको पाइएको हो ।

मानव तस्करले ठूलो संख्यामा नेपालीलाई ती देशमा पुर्‍याएको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) जारी गरी बुझेर मात्र दक्षिणपूर्वी एसियाली मुलुकमा जान आग्रह गरेको छ ।

“हालका दिनहरूमा मानव बेचबिखन एवं अन्य अपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्याहरू रहेको जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूतावास यांगुन र बैंककमा आवेदन गर्ने नेपालीहरूको संख्यामा उल्लेखनीय रूपमा बढोत्तरी भइरहेको घटनाप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ ।

परराष्ट्र मन्त्रालयले थप शब्दमा भनेको छ, “वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने वा यसखाले क्रियाकलाप गर्ने/गराउने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।”

परराष्ट्रका अनुसार, थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक तलब र सुविधा दिइने भन्दै नेपालीलाई मानव तस्करले फसाउने गरेका छन् ।

मानव तस्करले यसअघि नेपालीलाई बैंकक र यांगुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यमा लगाएको पाइएको थियो ।

परराष्ट्रले यसअघि ०७९ पुसमा ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई आवश्यक सतर्कता अपनाउन भनेको थियो । त्यसपछि उक्त क्षेत्रमा जाने नेपालीको संख्यामा कमी आएको थियो । तर, पछिल्ला दिनमा मानव तस्करको प्रलोभनमा परी त्यहाँ जाने नेपालीको संख्या फेरि बढेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयले म्यानमार, थाइल्यान्ड, कम्बोडिया, लाओसलगायत मुलुकमा जान चाहने नेपालीलाई विशेष सतर्कता र सावधानी अपनाउन भनेको छ ।

“अनलाइन जुवा, कलसेन्टर–फ्रड, क्रिप्टोकरेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरूलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएको एवं थाइल्यान्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकोले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य स्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न हुन,” परराष्ट्र मन्त्रालयले भनेको छ ।

वैदेशिक रोजगारीमा जाने प्रयोजनका निम्ति भिजिट भिसामा यात्रा नगर्न परराष्ट्रले आग्रह गरेको छ । रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताका बारेमा पर्याप्त जानकारी लिन पनि परराष्ट्रले भनेको छ ।

व्यक्तिगत रूपमा ती फर्म/कम्पनी/ रोजगारदाताको वेबसाइट चेकजाँच गर्न पनि परराष्ट्रले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro