site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘फेक पासपोर्ट’मा नेपाल आउने विदेशी बढे, बढी इरानी !

काठमाडौं । पछिल्लो करिब एक वर्षमा ‘फेक (जाली) पासपोर्ट तथा भिसा’ प्रयोग गरी नेपाल आउने विदेशीको संख्या ह्वात्तै बढेको छ । पछिल्ला केही वर्ष जाली पासपोर्ट तथा भिसाको प्रयोग गरी नेपाल आउने विदेशीको संख्या घटेको थियो । तर यो वर्ष भने ह्वात्तै बढेको हो । 

गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२४ जनवरी १ देखि डिसेम्बर १२ सम्मको अवधिमा जाली पासपोर्ट तथा भिसाको प्रयोग गरेको आरोपमा नेपालमा २२ जना विदेशी पक्राउ परेका छन् । 

“अघिल्लो वर्षको तुलनामा यो वर्ष जाली पासपोर्ट तथा भिसामा आउने विदेशीको संख्या बढेको छ,” अध्यागमन विभाग स्रोतले बाह्रखरीसँग भन्यो, “यो राम्रो संकेत होइन । यसरी आउने मान्छेहरू जस्ता पनि हुन सक्छन् ।” 

अघिल्लो वर्षको तुलनामा यस वर्ष जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा नेपालमा पक्राउ पर्ने विदेशीको संख्या झण्डै साढे चार गुणाले बढेको छ । सन् २०२३ मा मात्र ५ जना विदेशी जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा नेपालमा पक्राउ परेका थिए ।

विभागले उपलब्ध गरेको विवरणअनुसार बितेको करिब साढे ११ महिनामा जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा ११ जना इरानी, ५ जना श्रीलंकन, ३ जना बंगलादेशी र एक–एक जना मोरक्कन, सुडानी र सिरियालीलाई नेपालमा पक्राउ गरिएको थियो ।

सन् २०२१ देखि जाली पासपोर्ट तथा भिसामा नेपाल आउने विदेशीको संख्या घटेको थियो । तर यो वर्ष यस्तो संख्या ह्वात्तै बढेको छ । सन् २०२१ मा १ जना, २०२० मा ११ जना र २०२३ मा ५ जना विदेशी जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा पक्राउ परेका थिए ।

“विश्वमा युद्ध र अस्थिरता बढ्दा जाली पासपोर्ट तथा भिसाको प्रयोग बढेको पक्राउ परेकाहरूले दिएको बयानबाट बुझ्न सकिन्छ,” अध्यागमन विभाग स्रोतले भन्यो, “विकसित देश जान यस्ता व्यत्तिहरूले नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरेको देखिन्छ ।” 

स्रोतका अनुसार, जाली पासपोर्ट तथा भिसा प्रयोग गर्नेहरूले कमजोर अध्यागमन प्रणाली भएका देशलाई ट्रान्जिट बनाउने गर्छन् । यसको एउटै उद्देश्य हो, सजिलै त्यो देशबाट उम्मेर अर्को देशमा पुग्न सकियोस् ।

नेपालले सजिलै अनअराइभल भिसा दिने भएका कारण पनि ट्रान्जिट सहज हुने भएकोले जाली पासपोर्ट तथा भिसा प्रयोग गर्नेहरू नेपाल आउने गरेको भनाई स्रोतको छ । राहदानी सक्कली हो वा जाली पक्ता लगाउन उच्चस्तरको उपकरण नहुँदा पनि जाली राहदानी वाहकले नेपाललाई ट्रान्जिट बनाउँदै आएको दाबी स्रोतको छ ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार बितेको आठ वर्षमा करिब डेढ सय जना विदशी जाली पासपोर्ट तथा भिसामा नेपाल आएको पाइएको छ । यो संख्या पक्राउ पर्नेहरूको मात्र हो । 

पासपोर्ट र भिसासालाई बढीभन्दा बढी सुरक्षित बनाउन विभिन्न सुरक्षा फिचर्सहरू समावेश गर्नेक्रम बढेको भए पनि यसको दुरुपयोग भने रोकिएको छैन । बितेको आठ वर्षमा जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा १३६ जना विदेशीलाई नेपालमा पक्राउ गरिएको छ । 

सन् २०१७ देखि २०२४ डिसेम्बर १२ सम्मको अवधिमा उनीहरू पक्राउ परेका हुन् । यसरी पक्राउ परेकाहरूलााई आवश्यक कारवाही गरि निष्काषित गरिएको छ । 

विभागको तथ्याङ्क अनुसार जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा सन् २०१७ मा २२ जना, २०१८ मा २३ जना, २०१९ मा २९ जना, २०२० मा २३ जना, २०२१ मा १ जना, २०२२ मा ११ जना, २०२३ मा ५ जना र सन् २०२४ डिसेम्बर १२ सम्म २२ जना विदेशी पक्राउ परेको विभागको तथ्याङ्कले देखाउँछ ।

यसरी जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरापमा पक्राउ पर्नेमा २२ देशका नागरिक छन् । पक्राउ पर्नेमा अफ्रिकादेखि युरोपेली देशका नागरिकसम्म छन् ।

बंगलादेश, जर्मनी, इरान, कङ्गो, पाकिस्तान, श्रीलंका, उज्वेकिस्तान, तान्जानिया, ब्रुकिनो फाँसो, चीन, सेनेगल, कजकास्तान, नाइजेरिया, आइभेरी कोस्ट, अफगानिस्तान, बेलायत, रुस, अष्ट्रिया, पोल्याण्ड, मोरक्को, सुडान र सिरियाका नागरिक जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।

जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा पक्राउ पर्ने विदेशीमा सबैभन्दा ठूलो संख्या इरानी, बंगलादेशी र श्रीलंकनको छ । बितेको आठ वर्षमा ५८ जना इरानी, २२ जना बंगादेशी र १२ जना श्रीलंकनलाई पक्राउ गरी नेपालले निष्काषित गरेको छ ।

यस्तै, सोही अवधिमा जर्मनीका १, कङ्गोका १, पाकिस्तानका ७, उज्वेकिस्तानका ५, तान्तानियाका १, ब्रुकिने फाँसोका १, चीनका ३, सेनेगलका २, कजकास्तानका १, नाइजेरियाका ३, आइभेरी कोस्टका ५, अफगानिस्तानका १, बेलायतका १, रुसका १, अष्ट्रियाका १, पोल्याण्डका १, मोरक्कोका १, सुडानका १ र सिरियाका १ जनालाई जाली पासपोर्ट तथा भिसाको आरोपमा पक्राउ गरिएको थियो ।

स्रोतका अनुसार, जाली पासपोर्ट तथा भिसा प्रयोग गरी नेपाल आएका अधिकांश इरानीहरूले युरोपलाई आफ्नो अन्तिम गन्तव्य बनाउने गरेकोे पाइएको छ । पक्राउ परेका अधिकांश इरानीले बेलायतको राहदानी दुरुपयोग गरेको देखिन्छ ।

सन् २०१४ सम्म जाली राहदानीमा नेपाल आउनेमध्ये धेरै इरानीले इजरायलको राहदानी दुरुपयोग गरेको भेटिन्थ्यो । तर, उनीहरूले बेलायती राहदानी दुरुपयोग गरेको पाइएको छ । विभागको तथ्याङ्क अनुसार, सन् २०१७ मा ८ जना, २०१८ मा १२ जना, २०१९ मा १९ जना, २०२० मा ४ जना, २०२२ मा २ जना, २०२३ मा २ जना र २०२४ डिसेम्बर १२ सम्म ११ जना इराजनी नागरिक जाली पासपोर्ट तथा भिसाको आरोपमा पक्राउ परेका छन् ।

जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा विगत ८ वर्षमा नेपालमा पक्राउ परेका कुल विदेशीमा ४२.६४ प्रतिशत इरानी छन् । यस्तै यस्तो आरोपमा पक्राउ पर्नेमध्ये १६.१७ प्रतिशत बंगलादेश, ८.८२ प्रतिशत श्रीलंका, ५.१४ प्रतिशत पाकिस्तान र ३.६७ प्रतिशत उज्वेकिस्तानका नागरिक छन् । जाली पासपोर्ट तथा भिसा प्रयोग गरेको आरोपमा पक्राउ गरिएका विदेशीलाई आवश्यक कारबाही गरी नेपालमा निश्चित वर्ष प्रवेश गर्न नपाउने गरी निस्कासन गरिन्छ ।

पासपोर्ट दुरुपयोग गर्ने व्यक्तिलाई एक÷दुई हजार रुपैयाँ जरिवाना र एक महिना जेल सजायपश्चात् जहाँबाट आएको हो त्यही फर्काइने गरिएको छ । अध्यागमन ऐन, २०४९ को दफा ५ मा जाली राहादनी प्रयोग गर्नेलाई कारबाहीको स्पष्ट व्यवस्था छ । कसैले जाली राहदानी तथा भिसा प्रयोग गरी नेपाल प्रवेश गरे निजलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा गरिएको छ । तर यस्ता व्यक्तिलाई नेपालमा ठूलो कारबाही हुने गरेको छैन । बरु जतिसक्दो छिटो जहाँबाट आएको हो त्यहीँ फर्काउने गरिएको छ । 

स्रोतका अनुसार, पक्राउ परेकाले बयानमा चार हजारदेखि १० हजार अमेरिकी डलरमा एउटा पासपोर्ट दलालले उपलब्ध गराउने गरेको बताउने गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro