site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनकामनादेखि गोरखकालीसम्मको दौडको उपाधि रावतलाई

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर १९५ मिटर दूरी उनले दुई घण्टा ३६ मिनेट सात सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन् ।

उपाधि विजेता रावतले एक लाख ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेन्डमा पूरा गरेर दोस्रो भए । उनले एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेनाकै गजेन्द्र राई तेस्रो भए । उनले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेन्डमा पूरा गर्दै ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।

खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित दुई धार्मिकस्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १०५ खेलाडीको सहभागिता थियो ।

सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर परिसरबाट दौड सुरु भएको थियो । माथिल्लो गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आएर दौड टुंगिएको थियो । प्रतियोगितामा सहभागी धावकमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको अध्यक्ष बस्नेतले बताए ।

गोरखा घर भएका नेपालका म्याराथन खेलाडी टीका बोगटीको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा निर्धारित दूरी पार गर्न सफल सबैभन्दा कम उमेरका १४ वर्षीय वेन्जन बस्नेत र गोर्खाली धावक अविनाश देवकोटालाई जनही १२ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro