काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सहित न्यायाधीश भुवन गिरी, संविधानसभा सदस्य इच्छाराज तामाङ डिल्लीबजार कारागारभित्र कैद जीवन भोगिरहेका छन् ।
डिल्लीबजार कारागारका सहायक जेलर शेरबहादुर थापाका अनुसार उनीहरुबाहेक कारागार भित्र कुल ५७५ जना कैदीबन्दी छन् । डिल्लीबजारभित्र कैदी बन्दी राख्न दुई ब्लकको व्यवस्था छ ।
प्रशासनले कारागारको त्यही दुई ब्लक मध्येको ख ब्लकमा मनाङे र भुवन गिरीलाई राखेको छ । क ब्लकको तुलनामा ख ब्लक सानो भएकाले थोरै मात्र कैदी राखिने र त्यसमध्ये गिरी र मनाङेसमेत ख ब्लक मै राखिएको थापाले बताए ।
इच्छाराजसहितका ५२८ जना कैदी बन्दी भने क ब्लकमा राखिएका छन् । २०६१ वैशाख ३१ गते काठमाडौंको पानीपोखरीस्थित चुफाङ रेष्टुरेन्टमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका घटनामा दोषी ठहर भए पछि उनी २० वर्षपछि जेल पुगेका हुन् ।
कात्तिक २० गते सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी पक्राउ परेका थिए ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर हुनासाथ सम्पर्कविहीन भएका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सानो भ¥याङस्थित कम्फर्ट हाउजिङबाट कात्तिक २७ गते पक्राउ गरेको थियो ।
त्यसयता भने उनी कैद जीवन भोगिरहेका छन् । कैदी चाप कम हुने र हो–हल्ला पनि नहुने, बाहिरका मानिसलाई भेटघाट पनि सहज हुने भएकाले अधिकांश कैदीबन्दीहरुको रोजाइमा कारागारको ख ब्लक पर्ने गर्छ ।
यसअघि जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । उनीसँगै जोडिएका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
जिल्ला अदालतको आदेशले उनी यही कसुरमा २ वर्ष ८ महिना जेल बसिसकेका छन् । तर, उच्च अदालले र सर्वोच्चले ५ वर्षको जेलसजाय सुनाएसँगै उनी जेल बस्नु परेको हो । उनी अब २ वर्ष ४ महिना कैद बस्नु पर्नेछ ।
यो बीचमा २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार छुटे ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने ।
२०७९ मा पनि उनले चुनाव जिते । पछिल्लो पटक कांग्रेस र एमाले मिलेर सरकार बनेपछि भौतिक पूर्वाधार खोसेर वन मन्त्रालय दिएपछि राजीनामा नै दिएका थिए । न्यायाधीश भुवन गिरी भने वैवाहिक बलात्कार आरोपमा थुनामा पुगेका हुन् ।
उनकै श्रीमती आरती गिरीले उनीमाथि बलात्कार र यातना दिएको आरोपमा उजुरी दिएकी थिइन् । सोही कसुरमा चैत २१ गते सर्वोच्च अदालतले नै उनलाई थुनामा पठाउने आदेश गरेसँगै उनी थुनामा पुगेका हुन् ।
गएको वैशाख ३ गते आफैँ जिल्ला अदालत काठमाडौंमा हाजिर भएर उनी थुनामा गएका हुन् । कपिलवस्तु जिल्ला अदालतको न्यायाधीश हुँदा उनीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीपछि उनी जिल्ला न्यायाधीशबाट निलम्बित भएका थिए ।
जिल्ला अदालत र उच्च अदालतले भने उनलाई थुनामा पठाउन अस्वीकार गरेको थियो । इच्छाराज तामाङ भने सहकारी ठगी प्रकरणको अरोपमा पक्राउ परेका हुन् । पूर्वसांसदसमेत रहेका इच्छाराज तीन वर्षअघि २०७८ असोजमा पक्राउ परेका थिए ।
सिभिल सहकारीका अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुर मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको थियो । तामाङले बचतकर्ताको ४६ करोड ठगी गरेको खुलेको थियो ।
कस्तो छ गिरी, गुरुङ र तामाङको दैनिकी ?
कारागारको क ब्लकमा रहेका इच्छाराज तामाङ ख ब्लकमा रहेका दिपक मनाङे र भुवन गिरीबीच कारागारभित्र खासै भेट हुँदैन् । तर, बिहान भने उनीहरु तीनजना नै केहीबेर मर्निङ वाक गर्छन् ।
राज्यशक्तिमा पुगिसकेका उनीहरु कारागारभित्र भने कैदीहरुलाई अनुशासनमा राख्न कारागार प्रशासनले तोकेका कैदी बन्दीहरुमध्येकै नाइकेको निर्देशनमा चल्नु परेको छ ।
उसो त मनाङेका लागि यो नौलो भने होइन । तर, न्यायाधीश गिरी र तामाङले समेत सोही नाइकेको निर्देशन पालना गर्नुपर्ने हुन्छ । सहायक जेलर थापाका अनुसार क र ख ब्लक हेर्ने छुट्टाछुट्टै नाइकेहरु छन् ।
नाइकेहरुकै तालिका अनुसार सबै कैदीहरु बस्ने गरेको र उनीहरुसमेत सोही अनुसार चल्दै आउको थापाले बताए ।
“हामीसँग पनि सधैँ भेट हुँदैन । भिन्न आन्तरिक प्रशासन भन्ने हुन्छ । उनीहरुले व्यवस्थापन गरेका हुन्छन्,” थापाले भने । इच्छाराज र दिपक मनाङेको दैनिकी सामान्य नै भएपनि निलम्बित न्यायाधीसको दैनिकी भने व्यस्त छ ।
कारागार स्रोतका अनुसार उनी पुर्पक्षका लागि थुनामा पुगेका कैदीलाई ‘काउन्सिलिङ’ गर्ने काममा व्यस्त हुने गरेका छन् ।
कारागार स्रोतले भन्यो,‘‘न्यायाधीश नै भएका कारण कानुनबारे उनलाई सबै आइडिया छ । कतिपय पुर्पक्षका लागि मात्रै थुनामा पुगेका हुन्छन् । पुनरावेदन गर्नेबारे जानकारी नभएका पनि हुन्छन् । त्यस्ता व्यक्तिलाई उनी सहयोग गर्ने गर्छन् ।”