काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले बताएको छ । चलचित्रको विषय, टिजरमा देखिएको संकृति तथा सम्बन्ध र आम समुदायमा हुने व्यवाहारलाई दर्शकले मन पराइरहेको निर्देशक यम शेर्पाले बताएका छन् ।
“हामीले जुन समुदायको संस्कृति देखाएका छौँ । त्यसलाई दर्शकले मन पराइहरनु भएको छ । चलचित्रमा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ,” निर्देशक शेर्पाले भने, “आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रूपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेको छ ।”
सामाजिक सञ्जाल र सुवेच्छुकहरूबाट आएको प्रतिक्रियाले पोष्टप्रोडक्सनमा रहेको चलचित्रमा मिहिनेत गर्ने हौसला मिलेको निर्माण टिमले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कलाकारको क्यारेक्टर लुक्स र अभिनयको पनि तारिफ गरेको शेर्पाले बताए ।
यम शेर्पाको डेव्यु निर्देशन रहेको ‘कार्साङ’मा कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
चलचित्रमा अभिनेता दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् ।
चलचित्रको सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।